विद्यालय हाता भित्रै रक्सी !

104







रामकुमार श्रेष्ठ
नवलपुर २ पुस ।

विद्यालय हाता भित्र के के गर्न पाइन्छ, के के गर्न पाइन्न भन्ने फेहरिस्त तयार पार्दा लामै फेहरिस्त बन्ला तर, सामान्य जो कोहीले पनि बुझ्ने भनेको विद्यालय हाता भित्र रक्सी चुरोट जस्ता मदिरा तथा सुर्तीजन्य वस्तु किनवेच र प्रयोग गर्न पाइन्न भन्ने हो । तथापि नवलपुरका केही विद्यालयको हाता भित्र र विद्यालय हाता नजिकै रक्सी चुरोट बेच्ने गरेको गुनासो आएको शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले जनाएको छ ।
त्यस्ता विद्यालयहरुलाई तत्काल आफ्नो हाताभित्र भएका यस्ता क्रियाकलाप रोक्न शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले सार्वजनिक विज्ञप्तिमार्फत निर्देशन पनि गरेको छ ।
डण्डामा रहेको जनता माविले भाडामा दिएको सटरमा रहेको केही होटलहरुमा रक्सी तथा सुर्तीजन्य वस्तु विक्री गर्ने गरेको पाइएको छ। त्यस्तै जनता मावि त्रिभुवनटारमा रहेको गेट निरकै होटेलमा पनि मदिरा र सुर्तीजन्य वस्तु विक्री गर्ने गरेको पाइएको छ।
त्यसैगरी शिवमाविको हातासंगै जोडिएको पसलमा पनि चुरोट र सुर्तीजन्य वस्तु विक्री गर्ने गरेको पाइएको छ। त्यसैगरी कुमारवर्ती क्याम्पसको हाता भित्र रहेको होटेलमा पनि चुरोट जस्ता सुर्तीजन्य वस्तु विक्री गर्ने गर्दछन् ।
शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका इकाइ प्रमुख कृष्णचन्द्र पोख्रेलले सुर्ती जन्य पदार्थ नियन्त्रण ऐन २०६८ अनुसार यस्ता स्थानमा मादकपदार्थ तथा सुर्तीजन्य पदार्थ विक्री वितरण गरेको पाइए चेतावनी स्वरुप तत्काल एक सय रुपैयाँ जरिवाना गर्ने र चेतावनी दिंदा पनि नमाने दुई बर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान रहेको छ।
पोख्रेलले गुनासो आएपछि पत्राचार गरिएको र केही दिन पछि अनुगमन गर्दा यदि अटेर गरी विक्री वितरण गरेको वा प्रयोग गरेको पाइए कारवाहीमा जाने बताए ।
नवलपुरको पहाडी क्षेत्रका कतिपय विद्यालयहरुमा शिक्षकहरु विद्यालय समयमा रक्सी पिएर विद्यालयमा पढाउन जाने गर्दछन् ।
केही दिन अगाडि रक्सी खाएर विद्यालय जाने पूर्वी नवलपरासीको बुलि·टार गाउँपालिकाको बालमन्दिर प्राथमिक विद्यालयका प्रधानाध्यापक निरोज बस्ताकोटीलाई शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले प्रधानाध्यापकबाटै बर्खास्त गरेको छ।
शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले उनलाई पटक पटक चेतावनी दिँदा पनि अटेर गर्ने र चित्तबुझ्दो जवाफ नदिएपछि बर्खास्त गरेको थियो।

You might also like
Loading...