पर्सामा प्रहरी र तस्करबीच झडप, ३ प्रहरी घाइते





३ पुस, वीरगञ्ज । पर्साको जगन्नाथपुर गाउँपालिका–१, पाँडेपुरमा तस्करले प्रहरीमाथि आक्रमण गरेर हतियार खोसेका छन् । आक्रमणमा ३ प्रहरी घाइते भएका छन् ।


प्रहरी चौकी पिडारीगुठीको गस्तीमा रहेको प्रहरी टोलीमाथि मंगलबार बिहान आक्रमण भएको हो । आक्रमणमा नेपाल प्रहरीका असई विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेमबहादुर राना र अर्जुन चौधरी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

तस्करले आक्रमण गरेर हतियारसमेत लुटे पनि घटनास्थलभन्दा केही परबाट बरामद भएको प्रहरीले जनाएको छ ।

पर्साका एसपी रेवती ढकालले तस्करले मोटरसाइकलमा भारततर्फ लैजाँदै गरेको डिजेलसहित दुई व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा  प्रहरीमाथि नै आक्रमण भएको जानकारी दिए ।

एसपी ढकालका अनुसार, बाइकमा डिजेल ल्याउँदै गरेकालाई गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि उनीहरु भागेका थिए । पछि भागेका तिनैले आफ्नो समूह बोलाएर प्रहरीमाथि नै आक्रमण गरेका थिए ।

गस्तीमा रहेका प्रहरीको संख्या थोरै हुँदा उनीहरुले प्रहरीमाथि नै आक्रमण गरेको उनको भनाइ छ । ढकालका अनुसार, करिब २० जनाको समूह प्रहरीमाथि जाइलागेका थिए ।

आक्रमणपछि उनीहरु भारततर्फ भागेका थिए ।

भारतमा भन्दा नेपालमा इन्धन सस्तो पर्ने भएकाले पछिल्लो समय नेपाल–भारत सीमामा तस्करी गर्ने सिलसिला चल्दै आइरहेको छ । सरकारले यसको नियन्त्रण गर्ने बताउँदै आए पनि त्यसो हुन सकेको छैन ।




सम्बन्धित
Loading...