निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको डीएनए मिलेन








काठमाडौं : कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारको आशंकामा पक्राउ परेका दुई किशोरको डीएनए रिपोर्ट जिल्ला पठाइएको छ। मंसिर १८ गते काठमाडौंको महाराजगन्जमा पक्राउ परेका भीमदत्तनगर नगरपालिका–१८ का प्रदीप रावल र विशाल चौधरीको डीएनए रिपोर्ट नेगेटिभ आएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।

‘बलात्कारपछि हत्या गरेर गाउँकै उखुबारीमा भेटिएको निर्मलाको शवबाट निकालिएको भजाइनल स्वाबसँग दुवैको डीएनए मिलेको पाइएन’, उच्च स्रोतले भन्यो, ‘विधि विज्ञान प्रयोगशालाले दुवैको डीएनए रिपोर्ट प्रहरी प्रधान कार्यालयलाई बुझाइसकेको छ। अब यो जिल्ला सरकारी वकिलको रोहबरमा कञ्चनपुर प्रहरीले केही दिनमै खोल्नेछ।’

प्रदीपले आईजी सर्वेन्द्र खनालसमक्ष साबिती बयान दिएका थिए। बयानका आधारमा प्रहरीले उनका साथी विशाललाई घरबाटै पक्राउ गरेर साउन २१ मा काठमाडौं ल्याएको थियो।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा प्रदीपले सुरुमा हत्या गरेको साबिती बयान दिएका थिए। उनकै बयानका आधारमा पक्राउ परेका विशालले पनि घटनामा संलग्नता स्वीकारेका थिए। पछि दुवैले पटक पटक बयान फेर्दा प्रहरी अप्ठ्यारोमा परेको थियो। बयान लिने क्रममा उनीहरूको डीएनए परीक्षण गर्न विधि विज्ञान प्रयोगशाला पठाइएको थियो।

परीक्षणमा दुवैको डीएनए निर्मलाको स्वाबसँग नमिलेपछि प्रहरी अनुसन्धान अलमलिएको छ। कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, बलात्कारको मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरिएका दीलिपसिंह विष्टसहित २२ जनाको डीएनए परीक्षण गरिएको छ। तर ती कसैको डीएनए निर्मलाको स्वाबसँग नमिलेपछि अनुसन्धान झन् झन् जटिल बन्दै गएको छ।

आईजी खनालले निर्मला प्रकरणमा अनुसन्धानको दायरा साँघुरिएको यसअघि नै दाबी गरिसकेका छन्। अझ रक्षामन्त्री ईश्वर पोखरेलले त निर्मला हत्याका अभियुक्त पक्राउ परिसकेको भन्दै चाँडै सार्वजनिक गर्ने अभिव्यक्ति नै दिए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी कृृष्णराज ओझाले भने काठमाडौंबाट पठाइएको डीएनए रिपोर्ट जिल्लामा आइनसकेको बताए। उनले रिपोर्ट आइसकेपछि सरकारी वकिलको रोहबरमा खोलिने जानकारी दिए।

निर्मलाको स्वाब नै गलत ?

प्रहरीले अहिलेसम्म डीएनए परीक्षण गरिएका २२ जनाको रिपोर्ट नेगेटिभ आएपछि निर्मलाको भजाइनल स्वाब संकलन विधि नै गलत भएको आशंका बढ्न थालेको छ। निर्मलाको हत्या भएको भीमदत्तनगर नगरपालिका–२ र १८ को सीमास्थित उखुबारीको घटनास्थल जाँच प्रकृति मुचुल्का संकलनबाटै प्रहरीले गडबडी गरेकाले अनुसन्धान जटिल बनेको प्रहरी अधिकारी नै बताउँछन्।

अनुसन्धानमा घटनास्थलको सबुतलाई पहिलो प्रमाण मानिन्छ। यस्तोमा अनुसन्धानविज्ञ प्रहरी घटनास्थल नपुग्दा प्रमाण मेटिने गरेको पूर्वडीआईजी हेमन्त मल्ल बताउँछन्। उनले निर्मला प्रकरणमा पनि अनुसन्धानविज्ञ अभाव हुँदा सुरुमै प्रमाण मेटिएको आशंका गरे।

‘क्राइम सिन अपराध अनुसन्धानको पहिलो प्रमाण र कडी पनि हो। घटनास्थलको सबुत जुटाउने विधि र अवस्थाको विश्लेषण कसरी भयो भन्ने कुराले अनुसन्धानको टुंगो लाग्ने बिन्दु थाहा हुन्छ’, उनले भने, ‘बलात्कारजस्तो जटिल निर्मलाको केसमा पनि भजाइनल स्वाब संकलनदेखि बलात्कारमा संलग्नहरूको वीर्यसहित अन्य प्रमाण संकलनमै त्रुटी भएको हुन सक्छ, त्यसैले अनुसन्धान कठिन बनेको हो। यदि अनुसन्धानविज्ञ अधिकृत त्यहाँ खटिएको भए कैयौं प्रमाण घटनास्थलबाट उठाउन सकिन्थ्यो।’

निर्मला प्रकरणमा पनि प्रहरीबाट जानीबुझी वा अज्ञानतावश प्रमाण नष्ट भएको हुन सक्ने अपराध अनुसन्धानमा लामो समय बिताएका सीआईबीका पूर्वप्रमुख मल्ल बताउँछन्। ‘अनुसन्धानको पहिलो पाइला नै सिन अफ क्राइम इन्भेस्टिगेसन अफिसर (टिम) बाट सुरु हुन्छ’, उनी भन्छन्, ‘यो टिमले घटनास्थल घेर्ने, सुरक्षित गर्ने, त्यहाँ रहेका रगत, कपडा र अन्य सबुत प्रमाण जुटाउन भूमिका खेल्छ।’

उनको बुझाइमा निर्मला प्रकरणमा पनि सिन अफ क्राइम इनभेस्टिगेसन अफिसरको अभावमा सुरुबाटै समस्या भएको हो। निर्मलाको शव भएको स्थानबाट साउन ११ गते वडा प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर जगदीश भट्टसहितको टोलीले घटनास्थल जाँच प्रकृति मुचुल्का उठाएको थियो। मुचुल्का उठाउने क्रममा निर्मलाको शरीरका लुगा तथा यौनांग पखाल्नेसम्मका ‘प्रमाण मेटिने शंकास्पद काम’ प्रहरीले गरेका थिए।

अझै अप्ठ्यारोमा एसपी विष्ट ?

निर्मला प्रकरणमा प्रमाण मेट्न भूमिका खेलेको भन्दै बर्खास्ती कञ्चनपुरका तत्कालीन एसपी विष्ट र वडा प्रहरी प्रमुख इन्सपेक्टर जगदीश अझै अप्ठ्यारोमा पर्ने देखिएको छ। सोमबार निर्मलाकी आमा दुर्गादेवी र हत्याका मुख्य अभियुक्त बनाइएका दीलिपसिंहका दाजु खडकसिंह विष्टले उजुरी दिएपछि एसपी विष्ट र इन्स्पेक्टर जगदीशसहित ८ प्रहरी अझै अप्ठ्यारोमा पर्ने देखिएको हो। उजुरी कञ्चनपुर प्रहरीले मंगलबार दर्ता गरेको छ।

‘हामीकहाँ आएको उजुरी कानुनअनुसार दर्ता गरेका छौं’, कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले भने, ‘जिल्ला न्यायाधिवक्तासँगको राय परामर्शअनुसार प्रक्रिया अगाडि बढ्नेछ।’ प्रहरीले सार्वजनिक न्यायविरुद्धको कसुर १२९ नम्बर र यातना कसुर १२८ नम्बरअन्तर्गत उजुरी दर्ता गरेको हो।

दुर्गादेवीले हत्या प्रकरणमा एसपी विष्ट र इन्स्पेक्टर जगदीशले प्रमाण मेट्न मुख्य भूमिका खेलेको र अन्यले सघाएको आरोप लगाएकी छन्। दुर्गादेवीले सार्वजनिक न्यायविरुद्धको कसुर र प्रहरीले त्यसबेला मुख्य अभियुक्त बनाएका दीलिपसिंहका दाजुले यातना कसुरअन्तर्गत जाहेरी हालेका हुन्।

यी दुईसँगै तत्कालीन डीएसपी ज्ञानबहादुर सेट्टी, इन्स्पेक्टर एकिन्द्र खड्का, सइ हरिसिंह धामी, असइ रामसिंह धामी, हवल्दार चाँदनी साउद, इन्स्पेक्टर जगदीश भट्ट, सीआईबीका डीएसपी अंगुर जीसीले नक्कली प्रमाण खडा गर्ने, निर्दोषलाई जबर्जस्ती अपराध कबुल गराएकाले उनीहरूमाथि हदैसम्मको कारवाही माग गरिएको छ।

बर्खास्त डीएसपी विष्ट र इन्स्पेक्टर जगदीश पीडितद्वयको उजुरीपछि अनुसन्धानका लागि पक्राउ पर्न सक्ने सम्भावना छ। प्रदीप र विशालको डीएनए रिपोर्ट सार्वजनिक भएपछि उनीहरूलाई पक्रेर अनुसन्धान गर्ने तयारी प्रहरी नेतृत्वले गरेको छ। ‘विष्ट र भट्टसहित ८ प्रहरीविरुद्ध अर्को पनि उजुरी परेकाले थप कारवाहीका लागि दुवैलाई पक्री अनुसन्धान अघि बढाउन सकिन्छ’, एक प्रहरी अधिकारीले भने, ‘निर्मला केस जटिल मोडमा गइरहँदा निलम्बित र बर्खास्तीमा परेका सबैलाई हिरासतमा राखी अनुसन्धान हुन सक्छ।’

२०७५ भदौ १ मा लागू भएको मुलुकी फौजदारी संहिता २०७४ अन्तर्गत प्रमाण लुकाएको, गलत अभियोजन खडा गरेको र अपराधी जोगाउन भूमिका खेलेकोलगायत कसुरमा प्रहरी कर्मचारीविरुद्ध दायर गरिएको यो मुद्दा पहिलो हो।

अन्नपूर्ण पोष्टबाट




सम्बन्धित
Loading...