ल्होसारलाई आन्दोलनको रुपमा मनाउँछौंः गुरुङ





८ पुस, बुटवल । वर्तमान सरकारले आदिवासी जनजातिका ५ वटा पर्वमा राष्ट्रिय विदा कटौती गरेको विरोधमा गुरुङ समुदायले तमु ल्होसारलाई आन्दोलनका रुपमा मनाउने बताएका छन् ।

०६२-२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्यपांच वटा पर्वमा राष्ट्रिय विदा दिएकामा अहिले विदा कटौती भएकाले यसवर्षको ल्होसारलाई आन्दोलनका रुपमा मनाउन थालिएको तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद रुपन्देहीले जनाएको छ ।




परिषदले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी वर्तमान सरकारले आदिवासी जनजातिका चाडपर्व र संस्कार संस्कृतिमाथि विभेद गरेकाले ल्होसारलाई आन्दोलनसहित मनाउन थालिएको परिषदका केन्द्रीय सल्लाहकार भीम गुरुङले बताए । ‘वर्तमान सरकारले जनजातिका चाडपर्वमा दिइंदै आएको राष्ट्रिय विदा कटौति गरेर सम्बन्धित जाति विशेषलाई मात्र विदा दिई अपमान गरेकाले आन्दोलनमा जान वाध्य भएका हौं,’ गुरुङले भने, ‘पुस १५ सम्म पनि माग सम्बोधन नभए आन्दोलनका नयां कार्यक्रम लयाउंछौं ।’

परिषदका रुपन्देही अध्यक्ष विमला गुरुङले गत मंसिर २५ गते स्थानीय सरकारमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएपनि बेवास्ता गरिएकाले चरणवद्ध आन्दोलन अन्तर्गत १२ गते जिल्ला प्रशासनमा धर्ना, १४ गते वृहत विरोध र्‍याली गरिने जानकारी दिइन् ।

उनले सरकारले सार्वजनिक विदा कटौति गरेकाले परिषदले ल्होसारका दिन १५ गते सबै कार्यालय र शैक्षिक संस्था बन्द गर्न आव्हान गरेको समेत जानकारी दिइन् ।

विदा कटौतिको विरोधमा नेपाल आदिवासी जनजाति महासंघ समेत केन्द्रमा आन्दोलित छ । देशका ३५.३ प्रतिशत आदिवासी जनजातिले आदिमकाल देखि मनाउदै आएको उधौली-उभौली, तमु ल्होसार, सोनम ल्होसार, ग्याल्पो ल्होसार र माघी-माघे संक्रान्ती गरी पााच पर्वमा यसअघिका सरकारले सार्वजनिक विदा दिंदै आएका थिए ।

सरकारले घोषणा गरेको १५ दिनको सार्वजनिक विदाले सरकार एकल जाति, भाषा, संस्कार, संस्कृति र धर्मको पक्षमा मात्रै रहेको तथा लामो समयदेखि एकछत्र शासनमा रहेको समुदायको बाहेक अन्य कुनै पनि समुदायको सामाजिक, साँस्कृतिक तथा धार्मिक चाडपर्वले सम्मान प्राप्त गर्न नसकेको परिषदका सचिव ओमप्रकाश गुरुङले बताए ।

मुलुक सबै जाति,समुदायको साझा हो भन्ने अनुभुति गराउनका साथै विभेद र असमानताको अन्त्यको लागि तमु ल्होसार (पौष १५) लगायत अन्य आदिबासी जनजाति समुदायको मूख्य चाडपर्वहरुमा कटौती भएको सार्वजनिक विदा यथाशिघ्र पुनःस्थापित गर्न परिषदले माग गरेको छ ।




सम्बन्धित
Loading...