इण्डोनेशियामा सुनामीका कारण मृत्यु हुनेको सङ्ख्या २ सय २२ पुग्यो
८ पुस (विविसी) ।

इण्डोनेशियामा आएको सुनामीका कारण ज्यान गुमाउनेको सङ्ख्या २ सय २२ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्।
क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्रमुनि पहिरो निम्त्याउँदा सुनामी आएको अनुमान गरिएको छ।
जाभा र सुमात्रा टापुको बीचमा पर्ने सुन्दा स्ट्रेटले जाभा सागरलाई हिन्द महासागरसँग जोड्छ।
सुनामीका कारण सयौँ घरमा क्षति पुगेको छ भने कारहरू पल्टिएका छन् र रुखहरू ढल्न पुगेका छन्।
सयौँ मानिसहरू घाइते भएका छन् र कैयौँ हराइरहेका छन्। तिनीहरू भग्नावशेषमा फसेको हुनसक्ने ठानिएको छ।
स्थानीयबासिन्दा र पर्यटकहरूलाई समुद्री तटहरूदेखि टाढा बस्न भनिएको छ।
राष्ट्रपति जोको विडोडोले समवेदना व्यक्त गर्दै मानिसहरूलाई धैर्य धारण गर्न आग्रह गरेका छन्।
क्राकाटोआ सुन्दा स्ट्रेटमै रहेको ज्वालामुखी टापुमा पर्दछ। सेप्टेम्बर महिनामा त्यहाँको मध्य टापु सुलावेसीमा शक्तिशाली भूकम्प आएपछि सुनामी पनि आएको थियो।
सो सुनामीले तटीय नगर पालुलाई पूरै प्रभावित पारेको थियो। सो विपद्मा परी दुई हजार जनाले ज्यान गुमाएका थिए।