अपराजित मनाङ उपाधी नजिक, पुलिस १–० ले पराजित





काठमाडौं । सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले आइतबार विभागीय नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेपछि पल्सर सहद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि लगभग पक्का गरेको छ ।
लिगमा तीन खेल बाँकी रहँदै मनाङले दोस्रो स्थानको सिएमजी क्लब संकटासँग ५ तथा तेस्रो स्थानको रुस्लान थ्री स्टारसँग ७ अंकको अग्रता बनाएको छ ।
यस्तोमा मनाङले लिगका बाँकी सबै ३ खेल खेल्दै अपराजित रहेर लिग जित्ने लक्ष्य बनाएको छ । यसो हुन सके मनाङले अपराजित रहँदै लिग जितेको इतिहास बनाउने छ ।
मनाङका प्रशिक्षक सुमन श्रेष्ठले अब लिगको उपाधि लगभग पक्का भैसकेको कारण अपराजित रहँदै लिग जितेर नयाँ इतिहास बनाउने योजनामा रहेको बताए ।
‘पुलिसमाथिको जितसँगै हाम्रो उपाधि लगभग पक्का भैसकेको छ । अब हाम्रो लक्ष्य भनेको अपराजित रहँदै लिगे जित्ने रहेको छ । सबै १३ खेलमा नै जित दर्ता गरेर जित हासिल गर्न चाहन्छौं । हामी कुनैपनि खेलमा अंक गुमाउने छैनौं,’ खेलपछि प्रशिक्षक श्रेष्ठले भने ।
उपाधि यात्रामा एक कदम अघि रहेको मनाङले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आइतबार भएको खेलमा पुलिसलाई पराजित गर्न खेलको दोस्रो हाफ नै कुर्नुपरेको थियो । निकै प्रतिस्पर्धात्मक खेलको ५३औं मिनेटमा एडिलाजा सोमिडेले गरेको गोल नै निर्णायक बन्यो ।
पुलिसले खेलमा पछाडी परेपछि बराबरी गर्ने सुन्दर मौका खेर फाल्यो ।
८२औं मिनेटमा रवि पासवानको पासमा अजित भण्डारीले गरेको प्रहार गोल लाइनबाट आफ्नै खेलाडी भरत साहलाई ठोक्किएपछि पुलिसले बराबरी गर्ने सुन्दर मौका गुमाएको थियो ।




सम्बन्धित
Loading...