सुधारका पक्षपाती साउदी राजकुमार अब्दुलाजिजको मृत्यु

25







रियाद । साउदी अरबका राजकुमार तलाल बिन अब्दुल्लाजिजको मृत्यु भएको छ । साउदीमा पछिल्लो समयमा भइरहेका सुधारको समर्थक रहेका अब्दुल्लाजिजको ८७ वर्षको उमेरमा निधन भएको साउदी रोयल कोर्टलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

साउदी राजपरिवारका वरिष्ठ सदस्य तथा अर्बपति लगानीकर्ता अलवालिद बिन तलालका बाबु अब्दुलाजिज केही वर्षदेखि विरामी थिए । उनी साउदी अरबमा सन् १९५० देखि १९६० को दशकमा सरकारको महत्वपूर्ण भूमिकामा थिए । उनले त्यसबेला सञ्चार र अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

सन् १९६० को दशकमा संवैधानिक सुधारको माग गर्ने समूहको नेतृत्व गरेपछि साउदी अधिकारीहरुले उनको राहदानी रद्द गरिदिएका थिए भने उनले निर्वासित जीवन बिताएका थिए । त्यसबेला उनले इजिप्टका राष्ट्रपति गमल अब्देल नासारसँग सम्बन्ध बनाएका थिए । नासार साउदी राजसंस्थाको कट्टर आलोचक थिए ।

उनी सन् १९६४ मा फैजल बिन अब्दुल्लाजिज अल–साउद साउदीको राजा बनेपछि मात्रै साउदी फर्किएका थिए । सन् २०११ मा उनले अलिगेन्स काउन्सिलको जिम्मेवारीबाट राजीनामा दिएका थिए । जुन साउदी राजपरिवारको स्वामित्वमा रहेको विश्वकै सबैभन्दा ठूलो तेल निर्यातको जिम्मेवारी भएको संस्था हो ।

उनी साउदी महिलालाई रंगशालामा जाने अनुमतिदेखि सवारी चालक अनुमतिपत्र, सैनिकमा भर्ना तथा अन्य क्षेत्रमा काम गर्नदिनुपर्ने पक्षमा वकालत गर्दै आएका थिए ।

You might also like
Loading...