आँखाको हेरचाह कसरी गर्ने ?

59







आँखा तुलनात्मक रूपमा हाम्रो शरीरको सबैभन्दा संवदेनशील अंगमा पर्छ । त्यसैले आँखाको उचित हेरचाहको पनि उत्तिकै जरुरी छ ।आँखाको बनावटको आधारमा प्लस र माइनस पावर आवश्यक हुन्छ । यो कुरा धेरैलाई थाहा हुँदैन । कतिपय व्यक्ति थाहा पाएर पनि हेलचेक्र्याइँ गरी बसेका हुन्छन् । यसकै कारण आँखाको दृष्टि कम हुँदै गएर ज्योति गुम्ने खतरासमेत हुन्छ । त्यसकारण समयसमयमा आँखा जाँच गराएर चिकित्सकको सल्लाहअनुसार चस्मा लगाउनु पर्छ ।

प्रदूषणका कारण हुने एलर्जी र चिलाउने समस्या लिएर अस्पताल आउने बिरामीको संख्या उल्लेख्य छ । त्यसबाट बच्न सनग्लास लगाउने बानी राम्रो हुन्छ । बजारमा पाइने सबै चस्मा लगाउन योग्य भने हुँदैनन् । मोबाइल धेरै समयसम्म चलाउने, कम्प्युटरमा लगातार काम गर्ने व्यक्तिलाई समेत आँखाको समस्या हुन्छ । यसले आँखा सुक्खा बनाउँछ । कम्प्युटरबाट आउने नदेखिने विकिरणबाट बच्न समेत डाक्टरको सल्लाहअनुसार चस्मा लगाउनु पर्छ ।

आँखालाई भिजाइराख्न र सुक्खा हुन नदिन समेत चिकित्सकको सल्लाहअनुसारको औषधि आवश्यक हुन्छ । सवारी चालकले समेत चस्मा लगाउन जरुरी छ । बढ्दो जङ्कफुडको प्रयोगले समेत आँखामा समस्या आउँछ । हरियो सागपात, पहेँला फलफूल र भिटामिन ए पाइने खाना पर्याप्त मात्रामा खानु आवश्यक हुन्छ ।

आँखाको दृष्टि बच्चा बेलादखि नै ख्याल गर्नुपर्छ । यसका लागि अभिभावक चनाखो र सचेत हुनुपर्छ । बच्चाको आँखाभित्रको सेल्सले काम नगरेको कारणले एउटा मात्र आँखा देखिरहेको हुन सक्छ । यस्तो कुरा न अभिभावकलाई थाहा हुन्छ, न त बच्चाले नै भन्न सक्छ । सुरुमै दृष्टि परीक्षण भयो भने थेरापीको माध्यमबाट आँखालाई देख्न सक्ने बनाउन सकिन्छ । यसबाट पनि युवावस्थामा हुने आँखाको समस्याबाट बच्न सकिन्छ ।

आँखामा विभिन्न खाले रोगले समेत आक्रमण गरिरहेको हुन्छ । कहिलेकाहीँ सिजनल रोगले आक्रमण गर्दा पनि हामीलाई थाहा हुँदैन । यसका लागि सरसफाइमा ध्यान दिन जरुरी छ । विद्यार्थीका लागि २५ सेन्टिमिटरभन्दा टाढा राखेर पढ्ने बानी राम्रो हुन्छ ।

आँखामा चोटपटक लागिहाल्यो भने हेलचेक्र्याइँ गर्नु हुँदैन । यस्तो अवस्थामा मेडिकल गएर आफूखुसी औषधि राख्ने बानीले आँखाको ज्योति सदाका लागि गुमेका घटना धेरै छन् । त्यसकारण संवेदनशील अंग आँखाको हेरचाहका लागि विशेष ख्याल गर्ने र विशेषज्ञको सल्लाह आवश्यक हुन्छ ।

(नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरका नेत्र रोग विशेषज्ञ डा. कमल खड्कासँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)

You might also like
Loading...