महोत्सवमय नवलपुर; एउटा नसकिदै, अर्को तयारी


रामकुमार श्रेष्ठ,
कावासोती ।




पूर्वी नवलपरासीको नवलपुर जिल्ला अहिले महोत्सवमय बनेको छ । नवलपरासीको अरुणखोलामा महोत्सव चल्दै छ भने तीन स्थानमा तयारीमा रहेको छ ।
आयोजक संस्थाहरु होडबाजीकै शैलीमा महोत्सव गरिएको छ ।
अरुणखोलामा चलिरहेको महोत्सव सोमबार सकिएको छ । सोमबारसम्मको तथ्यांक अनुसार महोत्सवमा ७० हजार बढी दर्शकले अवलोकन गरिएको आयोजक संस्था मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुलीले बताए । महोत्सवको सोमबार नेपाली काँग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले समापन गरेका हुन् ।
मध्यविन्दु महोत्सव सकिदै गर्दा नवलपुरमा अहिले अन्य ३ वटा महोत्सवको तयारी भईरहेको छ दुई वटा व्यापारिक महोत्सव र एउटा पर्वलाई जोडेर आयोजना गर्न थालिएको सांस्कृतिक महोत्सव ।
महोत्सव होडबाजीकै शैलीमा चलिरहँदा मध्यविन्दु उद्योग वाणिज्य संघका अध्यक्ष केदार पराजुली एकै ठाउँमा बर्षेनी महोत्सव गर्नुको साटो आलोपालो महोत्वस गर्ने पक्षमा देखिन्छन् । स्थानीय तहको कृषि, उद्योग, व्यापार, पर्यटन आदि प्रबद्र्धन गर्न महोत्सव गरिने भनिए पनि अहिले चल्ने गरेको महोत्सव त्यस्तो नहुने गरेको उनको कथन छ। हामी दाल चामल त बाहिरी देशबाट मगाएर खानु परेको छ भने प्रबद्र्धनको कुरा जसरी प्रचार गरिन्छ त्यस्तो होइन ।
उनले मध्यविन्दु महोत्सव भने ऐतिहासिक र सफल भएको बताए । पुस १३ गते शुरु भएको मध्यविन्दु महोत्सव सोमबार सकिएको हो । त्यसको ठिक चार दिन पछि डण्डामा थारु कल्याणकारिणी सभा नवलपुरका आयोजनामा पुस २७ गतेदेखि माघ ७ गतेसम्म प्रथम माघी (खिचरी) सांस्कृतिक महोत्सव हुँदैछ ।
महोत्सवको तयारी अन्तिम चरणमा पुगेको थारु कल्याणकारिणी सभा नवलपुरका सभापति रामप्रसाद महतोले बताए ।
एक सय ५० भन्दा बढी स्टल रहने उक्त महोत्सवमा अधिकांश स्टल बुकिङ्ग भएको आयोजकले जनाएको छ ।
थारुको संस्कृति जगेर्ना गर्न र स्थानीय पर्यटनको प्रवद्र्धनका लागि महोत्सव गर्न लागिएको हो । महोत्सव ११ दिनसम्म चल्ने छ ।
उद्योग वाणिज्य संघले व्यापार प्रबद्र्धनका लागि महोत्सव गर्ने भए पनि आफूले गर्ने महोत्सव भने जातीय पर्व तथा संस्कृतिको जर्गेना र थारु समुदायले गर्न सक्ने पर्यटन प्रबद्र्धनका लागि आयोजना गरिएको सभापति महतोले बताए । यो महोत्सव थारुहरुको नयाँ बर्ष माघीको अवसर पारेर गरिन थालिएको छ । थारु समुदायको बाक्लो उपस्थिति रहेको क्षेत्रमा अहिले माघीमा खिचरी तथा खिचरा महोत्सव गर्ने चलन नै बढेको छ । माघी (खिचरी) महोत्सवमा बेसीमात्रामा थारु समुदायको कला संस्कृति झल्कने स्टलहरुका साथै थारु समुदायका झाम्टा, लाठी नाच जस्ता नाँचहरु प्रस्तुत गरिने छ । थारु कल्याणकारिणी सभा नवलपुरका सभापति महतो आफ्नो महोत्सव सांस्कृतिक महोत्सव भएकोले अन्य महोत्सवसँग दाँजेर नहेरिदिन आग्रह गर्छन् ।
डण्डामा माघ ७ गते महोत्सव सकिएको ठिक १० दिनमा कावासोती ३ को राममन्दिर नजिकै रहेको खेल मैदानमा माघ १७ देखि सुरु हुने पाँचौ नवलपुर महोत्सव शुरु हुने तयारीमा छ । यो महोत्सव नवलपुर उद्योग वाणिज्य संघले गर्न लागेको हो । यसका लागि नवलपुर उद्योग वाणिज्य संघ व्यापक तयारीमा पनि लागेको छ । कावासोती ३ का वडा अध्यक्ष अमृत श्रेष्ठ धेरै महोत्सव गर्नुको सट्टा सहमतिमा एउटै महोत्सव गर्न सुझाव दिन्छन् ।
नवलपुर उद्योग वाणिज्य संघले अध्यक्ष डासुराज पोख्रेलको अध्यक्षतामा मेला आयोजक मुल समिति तथा विभिन्न उपसमितिहरु पनि गठन गरेको छ ।
अध्यक्ष पोख्रेल पनि एकै पटक धेरै स्थानमा महोत्सव गर्नु भन्दा आलोपालो महोत्सव गर्नु पर्ने पक्षमा देखिन्छन् । त्यसो त नवलपुर उद्योग वाणिज्य संघको बार्षिक क्यालेण्डरमै यस पटक महोत्सव गर्ने भन्ने तय भएकोले आफूहरु लागि परेको अध्यक्ष पोख्रेल बताउँछन् ।
एउटै सिजनमा धेरै ठाउँमा महोत्सव गर्नु राम्रो नभए पनि यसलाई अन्यथा लिन नहुने उनको तर्क छ ।
नवलपुर उद्योग वाणिज्य संघले गर्ने नवलपुर महोत्सव माघ २९ गतेसम्म चल्ने छ । त्यसको साता दिन वित्दा नवित्दै देवचुली उद्योग वाणिज्य संघले देवचुलीमा दोस्रो देवचुली महोत्सव गर्दैछ ।
देवचुली उद्योग वाणिज्य संघले फाल्गुन ९ देखि २० सम्म दोस्रो देवचुली महोत्सव गर्ने पत्रकार सम्मेलन गरेर नै जानकारी गराएको छ । यो महोत्सव नवलपुरको पछिल्लो समय निक्कै चर्चामा रहेको क्षेत्र शास्वत धामको नजिकै गर्ने भएकोले पनि महोत्सव सोचे जस्तो सफल हुनसक्ने भन्दै आयोजक उत्साही देखिएको छ । कतिपय शास्वत धामको नजिक गर्ने महोत्सव महोत्सवको प्रचार नभई शास्वत धामको थप प्रचार हुने भन्दै आलोचना पनि गरेका छन् । यद्दपि शाश्वत धाममा आउने दर्शक पनि महोत्सवमा एक पटक भए पनि हेरौं भनेर पस्न सक्ने भएकोले आयोजक उत्साही भएको हो ।
देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा महोत्सव कति भन्दा पनि महोत्सवले स्थानीय क्षेत्रमा रहेको बजार, कृषि, पर्यटन लगायतको प्रबद्र्धन गर्ने भएकोले यसलाई स्वभाविक रुपमा लिनु पर्नेमा जोड दिन्छन् ।
उनले २०७३ मा प्रथम देवचुली महोत्सवबाट पाएको सफलताबाट हौसिएर दोस्रो देवचुली महोत्सव गर्न थालेको बताएका छन् ।
यस अघि गत बर्ष महोत्सव गरेको गैडाकोट उद्योग वाणिज्य संघ भने यस पटक चुपचाप रहेको छ ।





सम्बन्धित
Loading...