बहसः नवलपुरमा चार महोत्सव आवश्यकता कि रहर ?


सडकको दुरीको हिसाबले नवलपुर जिल्ला लामो जिल्ला मानिन्छ । अझ साविकको नवलपरासी सडकको हिसाबले सबैभन्दा लामो जिल्ला हो । नवलपुर जिल्ला अर्थात् पूर्वी नवलपरासीमा सडकमा जोडिएका पाँच वटा स्थानीय तह मध्ये चार वटा त नगरपालिका हुन् । ति नगरपालिकाहरुमा नगर स्तरीय उद्योग वाणिज्य छन् भने नवलपुर उद्योग वाणिज्य संघले आफूलाई जिल्ला स्तरको संघको ढंगले काम गरिरहेको छ । यि ४ वटा उद्योग वाणिज्य संघ मध्ये मध्यविन्दु उद्योग वाणिज्य संघको आयोजनामा अहिले अरुणखोलामा महोत्सव चलिरहेको छ भने नवलपुर उद्योग वाणिज्य संघ र देवचुली उद्योग वाणिज्य संघले आ–आफ्नो महोत्सव गर्न थालेको छ । त्यस्तै थारु कल्याणकारिणी सभा नवलपुरले पनि माघीको अवसर पारेर प्रथम माघी (खिचरी) महोत्सव गर्दै छ । अर्थात अहिले नवलपुर जिल्ला महोत्सवमय बन्दै छ। नवलपुर जिल्ला सडकको हिसावले लामो भए पनि व्यापारको हिसावले त्यति ठूलो जिल्ला भने होइन जसले एक सिजनमै चार÷चार वटा महोत्सव थेग्न सकोस् त्यसैले पनि यस विषयमा सरोकारवालाले सोच्नु पर्ने हो अर्थात एक अर्काबीच समन्वय गरेर महोत्सव गर्नु पर्ने हो । तर त्यसो हुन सकेको छैन । अहिले जसरी नवलपुरमा धमाधम महोत्सव हुँदैछ ति महोत्सव आवश्यकता हो कि रहर यसै विषयमा केन्द्रित रहेर आयोजकहरुसंग गरिएको कुराकानी … … …



यसलाई खासै अन्यथा लिनु हुदैन


डासुराज पोख्रेल
अध्यक्षः नवलपुर उद्योग वाणिज्य संघ

बार्षिक कार्ययोजना पहिले नै तय गरिसकेर बार्षिक क्यालेण्डरमै राखेको योजना अन्तरगत हामीले यो महोत्सव गर्न खोजेका हौं । हामीले हाम्रो जिल्ला समन्वय समितिबाट सिफारिस लिएर महोत्सवको तयारी गरेका छौं अन्यको हकमा जिसस (जिल्ला समन्वय समिति) बाट अनुमति अर्थात् सिफारिस लिएको छ वा छैन हामीलाई थाहा भएन । जिल्ला समन्वय समिति र सम्बन्धित क्षेत्रका नगरपालिकाले आलोपालो गरौं भनेर समन्वय गर्नु पर्दथ्यो त्यो हुन सकेन ।
अर्को कुरा सबै महोत्सवको आकर्षक एउटै हो भन्ने पनि होइन सबै महोत्सवमा फरक फरक आकर्षक हुन्छन् । ति फरक फरक आकर्षक त्यहाँका सर्वसाधरणले हेर्न पाउँछन् । अहिले नगरपालिका बढेसँगै हरेक नगरपालिकामा उद्योग वाणिज्य संघ गठन भएको छ सबैले आ–आफ्नो ढंगले महोत्सव गर्न पाउँछन् त्यो आफ्नो अधिकारको कुरा हो । धेरै नगरपालिका बने पछि उद्योग वाणिज्य संघ पनि धेरै बन्यो अनि महोत्सव पनि बढ्यो । एक ढंगले हेर्दा हामीले महोत्सव धेरै गरिरहँदा एक किसिमको अप्ठेरा पनि छ हामीले महोत्सवमा लाग्ने खर्च धान्न सक्ने कि नाई, उपभोक्ताले हरेक महोत्सवको खर्च धान्न सक्ने कि नाई ? भन्ने हो । तथापि महोत्सव धेरै भयो भन्ने कुरालाई खासै अन्यथा नलिँदा हुन्छ भन्ने मेरो कुरा हो ।

आर्थिक क्षेत्रमा ठूलो टेवा पुर्याउँछ

रेशमलाल सापकोटा
अध्यक्षः देवचुली उद्योग वाणिज्य संघ

स्थानीय बजार, कृषि, पर्यटनहरु प्रबद्र्धनका लागि महोत्सव गर्ने हो । हामीले दोस्रो पटक गर्दै छौं त्यसैले अघिल्लो पटकको अनुभवलाई हेर्दा यो आवश्यकता हो र यस्ता महोत्सवले आर्थिक क्षेत्रमा ठूलो टेवा पुर्याउँछ । सबैले आफ्नो पहिचानलाई जेगर्ना गर्न महोत्सवको आयोजना गर्ने ट्रेन आयो। तथापि हामीले अघिल्लो पटक गरेको महोत्सवबाट हामीलाई प्रेरणा मिल्यो । पहिलो पटक महोत्सव गर्दा हामीले जग्गा दान गर्ने दाताको सहयोगमा आफ्नै भवन बनाउन सक्यौं र अहिले देवचुली नगरपालिका भित्र रहेका उद्योगी, व्यवसायीहरुलाई प्रविधि मैत्री गराउनका लागि महोत्सव गर्दै छौं।
अर्को कुरा नगरपालिका भए पनि प्रत्येक नगरपालिकामा उद्योग वाणिज्य संघ हुने भईहाले ति वाणिज्य संघहरुले महोत्सव गर्न पाउने उनीहरुको अधिकार भयो । यसलाई त्यसरी बुझ्नु पर्छ भन्ने मलाई लाग्छ ।
हामी २०७१ सालमा स्थापना भई जिल्ला प्रशासनबाट आधरिकता पाए पछि २०७३ सालमा महोत्सव गरेका हौं र अहिले गर्दैछौं । सबै स्थानीय क्षेत्रका आआफ्नै विशेषताहरु हुन्छन् । त्यसलाई प्रबद्र्धन गर्न महोत्सव गर्नु नराम्रो कुरा होइन ।

आलोपालो गरेर गर्नु पर्छ

केदार पराजुली
अध्यक्षः मध्यविन्दु उद्योग वाणिज्य संघ

कतिपय रहरै रहर पनि हो अर्को आवश्यकता पनि हो । हाम्रो भन्नु हुन्छ भने आवश्यकता हो । हामीले पहिलो पटक महोत्सव गरेका हौं यो जायजै हो। तर, बर्ष पिच्छे एकै ठाउँमा महोत्सव गर्नु राम्रो होइन । वास्तवमै भन्ने हो भने अहिले जसले जे जे भने पनि हाम्रो आफ्नै उत्पादन छैन । महोत्सव गर्दा यहाँका कृषि, व्यापार, व्यवसाय, पर्यटन जे जे प्रबद्र्धन गर्ने भनिए तापनि यथार्थ त्यो होइन। हामीले दाल चालम त बाहिरबाट ल्याउनु पर्ने अवस्था छ । त्यसैले कम्तिमा महोत्सव गर्दा आलोपालो गरेर स्थान ठाउँ परिवर्तन गरेर गरिनु पर्छ ।
हाम्रो जारी महोत्सवको कुरा गर्ने हो भने शनिबारसम्म करिब ५५ हजारबढी दर्शकले अवलोकन गरिसकेका छन् । नवलपुरमा उद्योग वाणिज्य संघबाट आयोजना भएका महोत्सवहरु मध्ये उत्कृष्ट महोत्सव मान्नु पर्छ भनेर हाम्रो महोत्सवको बारेमा टिकाटिप्पणी भएका छन् । हामी फेरि तत्कालै अर्को बर्ष महोत्सव गर्ने पक्षमा पनि छैनौं समग्रमा यसलाई रहरको रुपमा भन्दा पनि आलोपालो गरेर गर्दा राम्रो हुन्छ ।

हाम्रो व्यापारिक महोत्सव होइन

रामप्रसाद महतो
सभापतिः थारु कल्णकारिणी सभा, नवलपुर

हाम्रो महोत्सव फरक प्रकारको हो । माघी (खिचरी) महोत्सव सांस्कृतिक महोत्सव हो त्यसैले यसलाई प्रथम माघी (खिचरी) सांस्कृतिक महोत्सव नाम दिएका छौं । थारुहरुको नयाँ बर्ष माघी पर्व अर्थात माघे संक्रान्तिबाट हुन्छ । यो माघी पर्व थारुको मात्र नभएर नेपालमा रहेका विभिन्न जनजातिहरु, ब्राम्हण, क्षेत्री, दलित सबैले मनाउने साझा पर्व हो। त्यसैले हामीले यो साझा पर्वको महत्व बुझाउन र थारु समुदायको जातीय पर्वको रुपमा महोत्सव गर्दै छौं। हाम्रो उद्देश्य व्यापार प्रबद्र्धन गर्नु होइन, जातीय पर्व मनाउनु हो अनि थारु जाति पर्यटक प्रबद्र्धनमा खेल्न सक्ने भूमिको प्रचार प्रसार गर्न हो ।
थारु समुदायले माघी पर्वलाई नयाँ बर्षको रुपमा हर्ष उल्लास रुपमा मनाउने भएकोले यही मौका पारेर महोत्सव गरेका हांैं । यो पर्व थारु समुदायको बसोबास रहेको अधिकांश क्षेत्रमा महोत्सवको रुपमा मनाउने प्रचलन नै बढेको छ। त्यसैले हामीले यस महोत्सवमा व्यापारलाई भन्दा संस्कृतिलाई जोड दिएर गर्दै छौं।




सम्बन्धित
Loading...