के के भयो आज प्रतिनिधि सभा वैठकमा ?





सांसदको प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ 

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय नियमावली बमोजिम सांसदहरुले राखेको प्रश्नको प्रधानमन्त्री तथा मन्त्रीहरुले जवाफ दिने व्यवस्था नमिलाए अवरोध जारी राख्ने चेतावनी दिएपछि सभामुख कृष्णबहादुर महराले सरकारलाई प्रश्नको जवाफ दिन निर्देशन दिएको छ ।




बुधबार बसेको प्रतिनिधी सभाको बैठकमा बोल्दै काँग्रेस नेता बालकृष्ण खाँडले नियममावलीको धारा २१९ को १ र २ अनुसार प्रधानमन्त्री र मन्त्रीहरुले सदस्यले उठाएको प्रश्नको जवाफ दिने व्यवस्था गर्नु पर्ने माग गरेका थिए । त्यसो नगरिए आफूहरुले अवरोध जारी राख्ने उनको चेतावनी थियो ।

‘२१९ को प्रबन्धलाई कार्यान्वयन नगर्ने हो भने हामीहरु सदनमा उभिरहनुपर्ने हुन्छ । हामीले आफ्नो अवरोधलाई जारी राख्छौँ,’ खाँडको भनाई थियो ।  उनले प्रतिनिधिसभाको गतको बैठकमा व्यवस्थापिकय पक्षमा त्रुटी देखिएको पनि बताए ।

नियमावलीको धारा २१९ बमोजिम सर्वाजनिक महत्वको वक्तव्य दिएपछि प्रश्न गर्ने जवाफ दिने व्यस्था रहेको बताउँदै महराले जवाफ दिन निर्देशन दिए ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न राजपाकाे माग

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) ले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
बुधबार बसेको संसद बैठकमा समय लिएर बोल्दै राजपा प्रमुख सचेतक लक्ष्मणलाल कर्णले प्रतिवेदन सार्वजनिक नभए सरकारविरुद्ध उत्रने बताएका छन् ।
मधेस तथा थारु आन्दोलनका क्रममा भएका मानव अधिकार उल्लंघनका घटनाबारे छानबिन गर्न २ असोज २०७३ मा पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग बनेको थियो ।

३२६४ उजुरीको छानबिन गरेर आयोगले २९ माघ २०७४ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिवेदन बुझाएको थियो तर, अहिलेस्म्म प्रतिवेदन सार्वनिक भएको छैन ।

राजपा सांसद कर्णले प्रधानमन्त्री फेरिँदैमा मैले प्रतिवेदन पाएको छैन भन्नु हाँस्यास्पद तर्क हुने बताए ।

बम्जनलाई पक्राउ नगरेकोमा सांसदको आपत्ति

राष्ट्रियसभाको बुधबारको बैठकमा सांसद कोमल ओलीले तपस्वी भनिने रामबहादुर बम्जनले महिलामाथि हिंसा गरेको सार्वजनिक हुँदा पनि पक्राउ नगरेकोमा आपत्ति प्रकट गरिन् ।

सांसद ओलीले शून्य समयमा बोल्दै सानो बुद्ध भनेर बसेका तपस्वी बम्जनले महिलामाथि हिंसा गरेको र महिला बेपत्ता पारेका भनी पीडित पक्ष स्वयम् आउँदासमेत पक्राउ नपरेकोमा सरकारको ध्यानाकर्षण गराइन् । उनले सञ्चारमाध्यममा करीब एक हप्ताभन्दा अगाडिदेखि नै सो घटना सार्वजनिक भएको हुँदा पनि त्यसबारेमा अहिलेसम्म अनुसन्धान गरी पक्राउ नहुनुप्रति उनले आपत्ति प्रकट गरिन् ।

बैठकमा सांसद उदया शर्मा पौडेलले सार्वजनिक सवारी साधनमा चढ्ने यात्रुलाई धेरै टाढाटाढा पु-याएर रोक्दा यात्रुलाई मर्का परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । यात्रुको अलि बढी आवतजावत हुने भृकुटीमण्डप, लैनचौरजस्ता ठाउँमा सवारी नरोक्दा यात्रुलाई आफ्नो गन्तव्यमा पुग्न निकै असहज भएको हुँदा कम्तीमा झार्ने र चढाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद चक्रप्रसाद स्नेहीले डडेलुधरामा साना ठूला गरी १६ पसलमा आगजनी भएको र अहिलेसम्म सरकारले राहत तथा क्षतिपूर्ति नदिएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आगलागीका कारण रु डेढ करोडभन्दा बढी धनमालको क्षति भएको र सुरक्षाकर्मीको पनि अभावले बढी धनको क्षति भएको हुँदा सरकारले तत्काल क्षतिपूर्ति दिन आग्रह गरे ।

 




सम्बन्धित
Loading...