माघे सक्रान्तिः पर्व एक अनुयायी अनेक

213












बिषय प्रबेशः
   लेखकः प्रेमध्वज गाहा

नेपाली समाज हरेक दृष्टिले बिबिधता युक्त समाज हो । भुगोल, भाषा, धर्म, सँस्कृति आदि दृष्टिले बिबिधता भएकैले यहाँ मनाइने चाड पर्बमा पनि बिबिधता छ । कतिपय चाड नितान्त कुनै एक समुदाय बिशेषसँग सम्बन्धित छन् भने कतिपय चाड बिबिध समुदायले आ–आफ्ना तरिकाले मनाइने गरिन्छ । पछिल्लो जनगणना २०६८ अनुसार १२५ जाति र १२३ भाषा बोलिने देश नेपालमा पर्वमा पनि विविधता रहनु स्वभाविक नै मान्नुपर्छ । यसै सन्दर्भमा साँस्कृतिक पर्व माघे संक्रान्तिलाई पनि नेपालका बिभिन्न समुदायले आ–आफ्ना तरिकाले फरक फरक नाम दिएर मनाउने प्रचलन रहेको छ । यस आलेखमा माघे सक्रान्तिलाई नेपालका विभिन्न समुदायले मनाउने बिधिका बारेमा छोटकरीमा ब्याख्या गर्ने प्रयास गरिएको छ ।

 

 

हिन्दु समुदायमा मकर सक्रान्ति

माघ महिनाको पहिलो दिन पर्ने यो चाड, हिन्दु धार्मिक समुदायले मकर सक्रान्तिका रुपमा मनाउने गर्दछन् । बिशेष गरी यस दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यस दिन हिन्दु समुदायका मानिसहरु पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गर्दछन् । त्यसैगरी उनीहरु मन्दिरमा पूजाआजा गर्नुका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाने गर्दछन् । नेवार समुदायमा विशेष किसिमको एउटा खाद्यवस्तुको नामबाट यस पर्वको नामकरण गरिएको छ । नेवार समुदाय भने यस पर्वलाई ‘घ्यूचाकु सँल्हु’ भन्दछन् । यस दिन उनीहरू चाकुमा तिल मिसाएर लड्डु बनाई खाने र दान दिने काम गर्दछन् । बिहानै उठेर स्नान गरी घरको सम्पूर्ण भाग सरसफाई गर्ने, देवी देवताको पूजा गर्ने, चोखोनितो गरी विभिन्न परिकारहरू तयार पार्दछन् र घरपरिवारका सम्पूर्ण मानिस जम्मा भएर मिठामिठा परिकारको स्वादमा रमाउँदै, घाम ताप्दै एक आपसमा दुःखसुखका गफमा रमाउँदै, यस पर्वलाई मनाउने गर्दछन् । यसै दिन भक्तपुर जिल्लाको टौमढी टोलमा तिलमाधव नारायणको मन्दिरमा मेला लाग्ने र दीपंकर बुद्धको पूजा हुने गर्दछ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेहरुको ठूलो भिड लाग्ने गर्दछ ।

मगर समुदायमा माघे सक्रान्ति

मगर समुदाय नेपालमा बसोबास गर्ने समुदाय मध्ये एक मुख्य समुदाय हो । राष्ट्रिय जनसँख्यामा ७ दशमलब १३ प्रतिशत सहित तेस्रो स्थान ओगट्ने मगर समुदाय एक जाति बिबिध भाषा रहेको समुदाय पनि हो । मगर समुदायले माघे सक्रान्ति पर्वलाई माघ्या सक्राति र कतै कतै ‘सार ल्हेस’ का रुपमा पनि पुकार्ने गर्दछन् । सार अर्थात नयाँ र ल्हेस अर्थात बर्षका रुपमा लिइने भएकोले उनीहरु यस पर्बलाई नयाँ बर्षका रुपमा पनि मनाउने गर्दछन् । यस पर्बलाई मगर समुदायले साँस्कृतिक पर्वका रुपमा मनाउने प्रचलन रहेको मगर अगुवा तथा समाजसेवी नरबहादुर ठाडा बताउनुहुन्छ । उहाँका अनुसार यस पर्व सम्बन्धमा एउटा किम्बदन्ती समेत रहेको छ । जसअनुसार उहिले मगर समुदायकी एक मगर चेली पौष पन्ध्रको छेका विवाह पश्चात विधवा हुन पुग्छिन् । विधवा भए पश्चात उनी आफ्नी माइतीमा गइ दुख मनाउ गर्छिन् । माइती पक्षबाट सान्त्वनाका लागि ल्होस्या अर्थात खोरिया दाइजोका रुपमा दिइ पठाउँछन् । दाइजोका रुपमा ल्होस्या अर्थात खोरिया दिइपठाएको हुनाले कतै कतै यस पर्बलाई ल्होस्या पनि भन्ने गरिन्छ । अतः जब माघ महिना शुरुवात हुन्छ तव बर्षाको समय वा खेतीपाती गर्ने समय शुरु हुने र खेतीपातीमा ब्यस्त भइने र माइती चेलीको भेटघाट कम हुने भएकाले यस पवर्बलाई माइती चेलीका बीच भेटघाट, खानपिन र रमाइलो गर्ने अवसरका रुपमा समेत यस पर्व मनाइन्छ । यस पर्वमा चेलीहरु माइत जाने भएकाले केही न केही पाहुर कोसेली लिएर जाने चलन छ । जसमा माइतीले दिइ पठाएको ल्होसे अर्थात् खोरियामा फलेका तरुल बिशेष गरी पाहुरका रुपमा लिइ जाने चलन रहेको ठाडा बताउनुहुन्छ ।
त्यसैगरी त्यही तरुललाई डढाएर खरानी बनाइ त्यसैको टीका लगाउने र लगाइदिने पनि गरिन्छ । बिशेष गरी यस पर्बमा पाँच प्रकारका खाने कुरा मिसाएर बनाइएको खिचडी समेत खाने गरिन्छ । यस पर्वमा हिउँद सकिएर बर्षायाम शुरु हुने भएकाले रोग ब्याधि नलागोस, अन्नपात सप्रिउन्, किट तथा सर्पको डसाइबाट जोगिन सकियोस् र प्रगति भै रहोस् भन्ने शुभ आशिष आदान प्रदान गर्ने चलन समेत रहेको छ ।
माघे सक्रान्ति नेपालका मगर समुदायको प्रमुख तथा मौलिक पर्ब समेत रहेको छ । यस अवसरमा नेपाल सरकारले सार्वजनिक विदा समेत दिने गर्दछ तर यस बर्ष भने सरकारले माघे संक्रान्तिमा सार्वजनिक विदा काटेर प्रदेश सरकार तथा स्थानीय सरकारले विदा दिन पाउने गराएको छ। यस पर्वलाई मगरहरुले तीन दिन मनाउने गर्दछन् । जातिहरू बीच माघे संक्रान्तिलाई मुख्य पर्वको रूपमा धुमधाम सककग मनाउने चलन छ। यस पर्बमा उनीहरु तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पूजा गर्ने गर्दछन् । पर्वको पहिलो दिन बिहान दाजुभाइले नुहाएर खाली पेटमा कुल–कुलायन र पुर्खालाई पूजा गरेपछि दिदीबहिनीलाई पुज्ने गर्छन् ।
त्यस्तै दोस्रो दिन युवतीहरू ‘माघ खान’ (वनभोज जस्तै) समूह समूहमा बाँडिएर गाँउभन्दा टाढा बर्खे गोठतिर लाग्छन् । दाजुभाइले दान दक्षिणाका रुपमा दिइएका विभिन्न खानेकुरा बोकेर उनीहरु बनभोज खान जान्छन् भने युवाहरु धनुकाँडले तारो हानेर रमाइलो मनाउँछन् । उता बयस्कहरु भने कौराहा झाम्रे र भेग र क्षेत्र अनुसार होम्पइ, पैसारु नाच चाच्ने गर्दछन् । तेस्रो अर्थात अन्तिम दिनमा भने, तारो हान्ने प्रतियोगिता समेत हुने गर्दछ । जसमा बिजेतालाई पुरस्कार र बर्ष बिजेताका रुपमा समेत घोषणा गर्ने प्रचलन रहेको छ ।

थारु समुदायमा माघी पर्व

माघे सक्रान्ति नेपालको दक्षिणी भेगमा बस्ने थारु समुदायको पनि मुख्य पर्व हो । उनीहरु यसलाई माघी र खिचरी/खिचरा पर्वका रुपमा मनाउने गर्दछन् । उनीहरु पनि यसलाई नयाँ बर्षका रुपमा नै मनाउने गर्दछन् । यस पर्वमा उनीहरु सुँगुरको मासु, ढिकरी (पिठोको एक परिकार) माछा लगायतको परिकार खाने र ‘धमार’ गीत गाएर नाचगान गर्ने प्रचलन पनि रहेको छ । यस पर्वमा मघौटा नाच पनि लोकप्रिय छ । माघे सक्र्रान्तिको दिन उनीहरु विहान सबै जना नजिकैको खोलानालामा नुहाउन जाने चलन छ । यसलाई ‘माघ लहान’ भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नून छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशीर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई ‘खिचरहवा’ भनिन्छ । यस पर्वलाई थारुहरु विभिन्न अवसरका रुपमा समेत मनाउने गर्दछन् ।
उनीहरु यस अवसरमा छोरीचेलीलाई उपहार दिने गर्दछन् । यसलाई थारू भाषामा ‘निसराउ’ भनिन्छ । माघीको दिन नुहाएर आइसकेपछि छोएको चामल, दाल, पैसा र यसमा केही थप गरेर निसराउ स्वरूप चेलीबेटीहरूलाई उपहार दिइन्छ । माघी मनाउन माइती आएका छोरीचेलीहरू घर फर्किनेबेला निसराउ लिएर जान्छन् । जसले गर्दा छोरीचेलीका बीच सम्बन्ध प्रगाढ समेत हुने गर्दछ । यस अवसरमा कसैसँग रिसइबी छ भने माघी नुहाएर, एकआपसमा अंकमाल गरी मेलमिलाप पनि गरिन्छ । माघी अर्थात् माघे सक्रान्तिलाई नयाँ आर्थिक बर्ष शुरु भएको रुपमा समेत मनाइन्छ । त्यस्तै घरसल्लाह गर्ने पर्वका रुपमा पनि यो पर्ब थारु समुदायमा प्रचलित छ । जस्तै गरढु्रै (घरमुली बन्ने) गर्ने, ‘बहरिया’ (घर बाहिरको कामको जिम्मेवारी) आदि कामको जिम्मेवारी परिवर्तन यसै अवसरमा गर्ने गरिन्छ । यसै अवसरमा गाउँको अगुवा चुन्ने काम पनि हुन्छ । जसलाई बरघर वा बडघर चुन्ने पनि भनिन्छ । अगुवा अर्थात बडघरको मुख्य जिम्मेवारी गाउँलाई अनुशासित बनाउने हुन्छ ।

उपसंहार

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्नभिन्न भेग र समुदायमा भिन्नभिन्न ढंगले मनाउने प्रचलन छ । यसको उदाहरण माघे संक्रान्ति पर्व हो । मकर संक्रान्तिको अर्को नाम माघे संक्रान्ति हो । यो पर्व माघ महिनाको सुरूवातको दिन अर्थात् माघ १ गतेको दिन पर्दछ । यस पर्वलाई थारु समुदायले माघी वा खिचरी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । त्यस्तै मगर समुदायले यो पर्वलाई माघ्या सकराटी वा सार ल्हेस का रुपमा मनाउँछन् भन्ने कुरा माथि नै उल्लेख गरियो । यस पर्वलाइ नेपालमा बसोबास गर्ने छेत्री, बाहुन, राई, मगर, थारु, लिम्बु, नेवार, गुरुङ, आदि सबैले माघे संक्रान्तिलाई आआफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ । लोकतान्त्रिक गणतन्त्रको पहिलो दुइ तिहाइको सरकारले बिशेष गरी जनजाति समुदायले भब्य रुपमा मनाउने यस पर्बमा दिइएको राष्ट्रिय विदा कटौती गरेको थियो । व्यापक आलोचना र असन्तुष्टि प्रकट भएपछि केही दिन अघि मात्र बिदा पुनस्र्थापित गर्ने प्रस्ताव भएको छ । जुन स्वागतयोग्य छ । जुन समुदायले जसरी मनाए पनि माघे सक्रान्ति सवैको साझा पर्व हो। बास्तवमा यस्ता पर्बहरुले नेपाली नेपाली बीच सौहार्दता, भातृत्व र सद्भाव कायम गर्नमा अहम भुमिका खेल्ने गर्दछन् । माघे सक्रान्ति, माघी, खिचरी, सार ल्हेस, ल्होस्या जे जे नामले पुकार्ने गरिए तापनि यो हाम्रो साझा पर्ब हो। यस अवसरमा सबैलाई हार्दिक शुभकामना ।
सन्दर्भ स्रोत: विकिपिडिया , थारु तथा मगर अगुवाहरु ।



You might also like
Loading...