राप्ती उपक्षेत्रीय अस्पताललाई स्वायत्त बनाउनुपर्ने चिकित्सकको माग


दाङ, १ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकहरुले सरकारद्वारा सञ्चालित सेवाहरुको निरन्तरताको माग गरेका छन् ।
प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीलाई भेटगरी चिकित्सकहरुले जनताहरुसँग प्रत्यक्ष जोडिएका आमा सुरक्षा, पोषण लगायतका कार्यक्रमहरुलाई निरन्तरता दिन माग गरे ।
चिकित्सक डा. जीतनारायण यादव, डा. ओम अर्याल, डा. माधव गोहित, डा. प्रताप पोख्रेल, डा. कृष्णहरि सुवेदी, डा. सुरेन्द्र कुँवरले प्रतिष्ठानको नेतृत्व व्यक्तिगत स्वार्थमा लागेर जनतामाथि कुठाराघात गरेकेो भन्दै साविक राप्ती उपक्षेत्रीय अस्पताल र प्रतिष्ठानलाई फरक–फरक पाटोबाट अगाडि बढाउनुपर्नेमा जोड थियो ।
राप्ती अञ्चलका जनताहरुको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको राप्ती उपक्षेत्रीय अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा सञ्चालन गरेर सीमित व्यक्तिहरु मोटाउने खेल सुरु भएको भन्दै चिकित्सकहरुले यो कार्य तत्काल रोक्न सांसद चौधरीलाई आग्रह गरे ।
चिकित्सकहरुसँगको भेटमा प्रतिनिधि सभा सदस्य चौधरीले जनताको माग भएमा राप्ती उपक्षेत्रीय अस्पतालाई छुट्टै सञ्चालन गर्न सकिने बताए ।
राप्तीका जनताहरुले सुविधा पाउलान् भनेर प्रतिष्ठान सञ्चालनमा ल्याएको बताउँदै चौधरीले उक्त उद्देश्य पुरा नहुने भएमा निर्णय पुणर्विचार हुनसक्ने बताए ।







सम्बन्धित
Loading...