नवलपरासीको इन्दिरा चिनी मिलबाट किसानहरु आजित बन्दै
श्याम थापा,
नवलपरासी (सुस्ता) २ माघ ।

इन्दिरा चिनी मिल प्रतापपुर गंगापुरले बाँकी रकम बेलैमा भुक्तान नपाउँदा पश्चिम नवलपरासीका उखु किसानहरु आजित भएका छन् ।
इन्दिरा चिनी मिलले उखु किसानहरुको भुक्तानी नदिएको र उखु किसानले आफ्नो पैसा माग्न मिलमा जादा इन्दिरा सुगर मिल प्रतापपुर गंगापुरका कर्मचारीहरुले उखु किसानहरुलाई पैसा नदिनुको साथै अभद्र व्यवहार गर्ने गरेको प्रतापपुर गाउँपालिकाको बेलाटारीमा भएको उखु किसानहरुको समस्या र समाधान विषयक सर्वपक्षीय छलफल कार्यक्रममा उखु किसानहरुले बताएका थिए ।
उखु उत्पादक कृषक समिति नवलपरासीको आयोजना प्रतापपुर गाउँपालिकाको बेलाटारी क्याम्पसमा भएको उखु किसानहरुको समस्या र समस्या समाधान विषयक सर्वपक्षीय छलफल कार्यक्रममामा उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादव, पूर्व सांसद देवकरण प्रसाद कलवार, स्थानीय जनप्रतिनिधि, बाग्मती खडसारी चिनी मिल कुडियाका मिल मालिक राम थापा मगर, इन्दिरा सुगर मिल प्रतापपुरका महाप्रबन्धक सुरेन्द्र प्रसाद शुक्लाको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा सुनवल चिनी मिल सुनवलको मिल मालिक नत कर्मचारीको उपस्थिति रहेको थिएन । कार्यक्रममा बाग्मती खडसारी चिनी मिल कुडियाका मिल मालिक राम थापा मगरले आफू किसानहरु प्रति चासो राख्ने ब्यक्ती रहेको र उखु किसान रहे बल्ल आफू उखु मिल मालिक बन्ने बताए ।
थापाले बाग्मती खडसारी चिनी मिल कुडिया एक दुई दिन भित्र संचालनमा ल्याउने कार्यक्रममा उपस्थित उखु किसानहरुसंग प्रतिबद्धता गरे ।
त्यसैगरी कार्यक्रम बोल्दै बाग्मती खडसारी सुगर मिल कुडियाका मिल मालिक थापाले चिनीको मुल्य नतोक्ने र उखुको मुल्य मात्र तोकेर मिल संचालनको विकल्प नरहेको उनले बताए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले गत बर्ष इन्दिरा चिनी मिलले उखु किसानहरुको खेतमै रहँदा रहँदै मिल बन्द गरेको र सुनवल मिल्लका संचालकको मृत्यु भएको कारण बगमती खडसारी चिनी मिलले सबै उखु क्रसिङ गरेर मात्र मिल बन्द गरेर किसानको पक्षमा रहेको हुँदा मिल संचालकलाई धन्यवाद समेत दिएका थिए ।
उक्त भेलामा उपस्थित किसानको तर्फबाट बृन्दमोहन यादव, ऋषि पटेल, जितराम पन्जियार, मणि त्रिपाठी र भिम लाल न्यौपाने लगायतका किसानहरुले बिचार राखेका थिए ।