नवलपरासीका उखु किसानले दिए यस्तो चेतावनी

125







श्याम थापा
नवलपरासी, ८ माघ ।


कुनै बेला उखुको रकम भुक्तान पाउन र उखुको मूल्य निर्धारण गर्न आन्दोलन गर्नु परेका नवलपरासीका किसानहरु यस पटक भने चिनी मिल सञ्चालनको माग गर्दै सडकमा उत्रिने भएका छन् ।
उनीहरुले उखु खेतमै फुलेर जान थालेको प्रति चिन्ता व्यक्त गर्दै चिनी मिल सञ्चालकहरुले तत्काल चिनी मिल सञ्चालनमा नल्याए सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन ।
सोमबार नवलपरासीको सुस्ता गाऊपालिका वडा नं २ कुडियाको बागमती सुगर मिल गेट अगाडि उखु मिल संचालनको लागि गरेको दबाबमूलक कार्यक्रममा बोल्दै तत्काल चिनी मिल सञ्चालनमा नआए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
दशैंको आसपासबाट उखु क्रसिङको सिजन सुरु हुने गर्दछ तथापि नवलपरासीमा अझै चिनी मिलहरु सञ्चालनमा आउन सकेको छैन जसले गर्दा उखु किसानहरु मारमा परेका छन् ।
नवलपरासीमा इन्दिरा सुगर मिल, बागमति खाडसारी मिल र सुनवल चिनी कारखाना गरी ३ वटा चिनी मिलहरु सञ्चालनमा रहेका छन् । अहिले ति तिनवटै चिनी मिल सञ्चालनमा छैनन् ।
उखु उत्पादक कृषक समिति नवलपरासीले किसानहरुको उखु बारीमै खेर जान लागेको भन्दै बेलैमा चिनी कारखानाहरु सञ्चालनमा ल्याउन दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।
उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवका अनुसार नेपालमा रहेका १२ वटा चिनी मिल तथा उद्योगहरुका सञ्चालकहरु र उखु उत्पादक संघबीच गत २५ पुसमा महोत्तरीको बर्दिबासमा भएको सहमति अनुसार माघ २ गते चिनी सञ्चालन गर्ने र उखु खरिद गरेको ३० देखि ४५ दिन भित्र रकम भुक्तान गर्ने सहमति भएको थियो ।
यादवले भने – बर्दिबासमा भएको सहमति अनुसार चिनी मिल सञ्चालन भएको एक साता भईसक्नु पर्नेमा अझै सञ्चालन हुन सकेको छैन, मिल मालिकहरु किसानलाई हतोत्साहित गर्न यसो गरेका छन, सहमति अनुसार काम नगरेर अटेर गरेका छन् ।
उनले तत्काल चिनी मिलहरु सञ्चालनमा नआए सडक आन्दोलनमा गएर यातायात अवरुद्ध पार्ने चेतावनी समेत दिए ।
बेलैमा क्रसिङ्ग शुरु भएको भए अहिले उखुबारीबाट उखु सकिने बेला भईसक्थ्यो यादवले भने उखु क्रसिङ्गको समय सकिन लाग्दा सम्म पनि मिल सञ्चालनमा नआउँदा किसानहरुको उखु खेतमै सुकेर जाने अवस्थामा पुगेको छ ।
चिनी मिल सञ्चालकहरु भने सरकारले उखुको मूल्य तोक्ने तर चिनीको मूल्य निर्धारण नगरिदिंदा आफूहरु घाटामा जाने गरी मिल सञ्चालन गर्न नसक्ने भन्दै बसेका छन् ।
नवलपरासीको बागमति खाडसारी मिलका सञ्चालक राम थापाले सरकारले उखुको मूल्य निर्धारण गरिदिने राम्रो काम भए पनि चिनीको मूल्य निधारण नगरिदिए आफूहरु घाटामा जाने अवस्था हुनसक्ने भएकोले जोखिम उठाउन नसकिने बताए ।
उनले भने – भारतबाट अवैध रुपमा चिनी भित्रिन रोकिएको छैन, भारतमा चिनीको मूल्य सस्तो हुने र नेपालमा चिनीको मूल्य निर्धारण नहुँदा प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ त्यसैले भारतबाट आयातित चिनी पनि रोक्नु पर्छ र सरकारले चिनीको मूल्य पनि निर्धारण गर्नु पछि हामी उद्योग सञ्चालन गर्न तयार छौं ।
नेपाल सरकारले निर्धारण गरेको उखुको मूल्य अनुदान सहित प्रति क्विन्टल ५ सय ३६ रुपैया ५२ पैसा निर्धारण गरेको छ तथापि चिनी मिल सञ्चालकहरुले भने चिनको मूल्य बढाउन अथवा उखुको मूल्य घटाउनु पर्नेमा जोड दिएका छन् ।
सोमबारको दबावमुलक कार्यक्रममा पूर्व सांसद देवकरण प्रसाद कलवार, राजकुमार शर्मा, हस्मुदिन शेख, बिस्मिल्ला अन्सारी, बन्धु बरई, हरेन्द्र यादव, नारायण पाण्डे, लक्ष्मण सिहं, प्रभु यादव लगायतका किसानहरुले तत्काल चिनी मिल सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिएका थिए ।
किसानहरुले एकतर्फ गत बर्षकै रकम भुक्तान पाउन बाँकी रहेको छ भने अर्कोतर्फ यस बर्ष बेलैमा चिनी मिल सञ्चालनमा नहुँदा आर्थिक अवस्था कमजोर भएका र उखु खेतीकै भरमा जीविकोपार्जन गर्दै आएका किसानहरुले सस्तोमै भेली उत्पादन गर्ने क्रसर उद्योगहरुलाई उखु बेच्न बाध्य भएका छन् ।
क्रसर उद्योगहरुले प्रतिक्लिन्टल ३ सय रुपैयाको हाराहारीमा किसानहरुसँग उखु खरिद गर्दै आएका छन् ।



You might also like
Loading...