आफू अन्तरिम राष्ट्रपति बनेको विपक्षी नेताको स्वघोषणासँगै भेनेजुएलामा संकट गहिरियो


कराकस । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले अमेरिकासँग कूटनीतिक सम्बन्ध विच्छेद गरेको घोषणा गरेका छन् ।




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी नेता जुआन गुएदोले आफूलाई अन्तरिम राष्ट्रपति भएको भन्दै गरेको घोषणालाई मान्यता दिएपछि मदुरोले कूटनीतिक सम्बन्ध बिच्छेद गरेका हुन् ।

मदुरोले कराकसमा आफ्ना हजारौं समर्थकलाइए सम्बोधन गर्दै भने, ‘मैले अमेरिकाको साम्राज्यवादी सरकारसँग राजनीतिक र कूटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छु ।’ उनले अमरिकी कूटनीतिज्ञलाई भेनेजुएला छाड्न ७२ घन्टाको अल्टिमेटम दिएका छन् ।




विपक्षीको नियन्त्रण रहेको संसदका नेता गुएदोले बुधबारराति भएको एक प्रदर्शनका क्रममा आफूलाई नै अन्तरिम राष्ट्रपति घोषणा गरेपछि केही वर्षदेखि आर्थिक संकटबाट गुज्रिरहेको भेनेजुएलामा राजनीतिक संकट चुलिएको छ भने मदुरोका समर्थक र गुएदोका समर्थकबीच भिडन्त समेत भएका छन् ।

बुधबार विपक्षी नेता गुएदोले विरोध प्रदर्शनका क्रममा आफूलाई नै राष्ट्रपति घोषणा गरेपछि अमेरिकाले राष्ट्रपति मदुरोसँग अब कुनै अधिकार नभएको दाबी गर्दै सेनालाई पनि गुएदोको समर्थन गर्न आग्रह गरेको छ । यद्यपि भेनेजुएलाको सेनाले हालसम्म मदुरोलाई साथ दिइरहेको छ ।

भेनेजुएलामा विपक्षीको प्रदर्शनका दौरान फैलिएको अराजक स्थितिका कारण कतिपय स्थानमा लुटपाटका घटना भएका छन् ।

सरकार विरोधी जुलुसमा सहभागी ४३ वर्षे प्राध्यापक जोजे ग्रेगोरियो फ्लोरेसले भने, ‘आज जे भएको छ यसले हामीमा एउटा आशाको सञ्चार भएको छ, यो अति आवश्यक थियो । अब हामीलाई अघि बढ्ने बाटो खुलेको छ ।’

‘गुएइदोले जे भन्नुहुन्छ हामीले समर्थन गर्नुको अब विकल्प छैन । उहाँले आफू सदाका लागि राष्ट्रपति हुन्न भन्नुभएको छ, उहाँले अब चुनावको मिति घोषणा गर्नु पर्दछ,” फ्लोरेसले भने, ‘काराकासको पूरै सहर उहाँको समर्थनमा सडकमा उत्रिएको छ ।’

भेनेजुएला यतिबेला मदुरोको नेतृत्वमा मुद्रा स्फिति, लोडसेडिङ र अत्यावश्यक वस्तुको अभावसँग जुधिरहेको छ । बुधबार हजारौंको संख्यामा भेनेजुएलाका जनताले निकालेको र्‍यालीको नेतृत्व गुएदोले गरेका थिए । उनले भेनेजुएला स्वतन्त्र नभएसम्म प्रदर्शन जारी रहने घोषणा पनि गरे ।

उनले भने, ‘जबसम्म देशमा पुनः चुनाव हुन्न । तबसम्म म कार्यकारी राष्ट्रपतिको रुपमा अन्तरिम राष्ट्रपति पद औपचारिक रुपमा ग्रहण गरेको शपथ लिन्छु ।’ उनले पनि सेनालाई मदुरोको आदेश नमान्न अपिल गरेका थिए ।

मंगलबार र बुधबार भएका प्रदर्शनका क्रममा मात्रै १४ जनाको मृत्यु भएको छ । भेनेजुएलामा भइरहेको पछिल्लो राजनीतिक घटनाक्रममा अमेरिकाको हस्तक्षेप देखिएको छ ।

ट्रम्पले भेनेजुएलामा देखिएको संकटको अवस्थामा विपक्षीलाई समर्थन गर्दै गुएदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका हुन् ।

अमेरिकाले भनेको छ, ‘भेनेजुएलाका जनताले बहादुरीपूर्वक मदुरो सरकारकाविरुद्ध आफ्ना विषय राखेको छ । उनीहरु मदुरो सरकारसँग स्वतन्त्रता चाहन्छन् ।’

उसले मदुरो नेतृत्वको सरकारलाई नाजायज समेत भनेको छ । अमेरिकाले मदुरो सरकारले जनताको सुरक्षामा खेलबाड गरेमा कडा प्रतिबन्ध लगाउने चेतावनी समेत दिएको छ ।

सात दक्षिण अमेरिकी देशहरु ब्राजिल, कोलम्बिया, चिली, पेरु, इक्वेडर, अर्जेन्टिना र पाराग्वेले जुआन गुएदोलाई अन्तरिक राष्ट्रपतिको रुपमा स्वीकार गरेका छन् । यस्तै क्यानडाले पनि गुएदोलाई समर्थन गर्ने संकेत दिएको छ भने युरोपेली संघले स्वतन्त्र निर्वाचनको पक्षमा रहेको बताउँदै आएको छ ।’

‘द अर्गनाइजेसन अफ अमेरिकन स्टेट’ ले पनि गुएदोको राष्ट्रपति पदको दावेदारीलाई समर्थन गरेका छन् । यद्यपि भेनेजुएला सन् २०१७ मा नै यस संगठनबाट अलग भइसकेको छ । यता मेक्सिको, बोलिभिया र क्युबाले मदुरो सरकारको समर्थन गरेका छन् ।

रसियाले भेनेजुएलाको पछिल्लो अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायको हलुका टिप्पणीको आलोचना गरेको छ । उसले भेनेजुएलामा आफूलाई राष्ट्रपति घोषणा गर्ने विपक्षी नेताको कदम रक्तपातको बाटो भएको टिप्पणी समेत गरेको छ ।

रुसले भेनेजुएलामा अमेरिकाले कुनै पनि प्रकारको सैन्य गतिविधि गरेमा त्यसले विनास निम्त्याउने चेतावनी समेत दिएको छ ।

टर्की पनि मदुरोको पक्षमा उभिएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले भनेका छन्, ‘मेरा साथी मदुरो ! उभिनुस्, हामी तपाईसँगै खडा छौं ।’

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले दुवै पक्षलाई पछिल्लो राजनीतिक अवस्थाबारे शान्तिपूर्ण रुपमा छलफल गरेर समस्याको समाधान गर्न आग्रह गरेका छन् ।

राष्ट्रपति निकोलास मदुरोले अमेरिकामाथि भेनेजुएलालाई नियन्त्रित गर्न खोजेको आरोप लगाएका छन् । साथै उनले विपक्षीले पनि सत्ता ‘कु’ गर्न खोजेको आरोप समेत लगाएका छन् ।

रक्षामन्त्री भ्लादिमिर पडरिनोले गुएदोको आलोचना गर्दै ट्विटमा लेखेका छन्, ‘यो देशको सेनाले स्वघोषित कुनै राष्ट्रपतिलाई समर्थन गर्दैन ।’

मदुरो र उनका समर्थकले भेनेजुएलामाथि अमेरिकाले लगाएको प्रतिबन्धका कारण आर्थिक संकटको अवस्था सिर्जना भएको बताउने गरेका छन् ।

बीबीसीका संवादाता जोनाथन मार्कस भन्छन्, ‘ट्रम्प सरकारसँग भेनेजुएलाको सम्पत्ति कब्जा गर्नेजस्तो मदुरो सरकारलाई दबाब बनाउने सुनियोजित योजना हुनसक्छ ।

यदि त्यस्तो हो भने भेनेजुएलाका जनताका लागि अर्को संकटको अवस्था हुनेछ र भेनेजुएलामा त्यही हुन्छ, जुन भेनेजुएलाको सेनाले चाहन्छ । अर्थात जसको सेना उसको भेनेजुएला ।’

यद्यपि सेनाले हाल मदुरोलाई नै समर्थन गरेको छ । तर, अन्तर्राष्ट्रिय शक्तिको दबाबका कारण पछि त्यो समर्थन कायम रहन्छ या रहन्न भन्नेबारेमा अहिल्यै भन्न कठिन छ ।

जुआन गुएदो यसै महिना संसदमा विपक्षी नेता बनेका हुन् । यसअघि उनी त्यति चर्चामा समेत थिएनन् । उनले आफूसँग नयाँ चुनाव नहुन्जेलसम्म अन्तरिम राष्ट्रपति बन्ने संवैधानिक अधिकार रहेको बताएका छन् ।

उनले भेनेजुएलाको संविधानको धारा २३३ र ३३३ ले देशका राष्ट्रपतिको अनुपस्थितिमा नेशनल एसेम्बलीका नेतालाई अन्तरिम राष्ट्रपति बन्ने अधिकार दिएको उल्लेख गरेका छन् । उनले गत वर्षको मे महिनामा भएको राष्ट्रपतीय निर्वाचन अवैध भएको भन्दै मदुरो भेनेजुएलाको राष्ट्रपति नभएको दाबी गरेका छन् ।

भेनेजुएलामा सन् २०१५ को निर्वाचनमा विपक्षीले संसदमा जित हासिल गरेको थियो । तर, सन् २०१७ मा निकोलास मदुरोले एक अलग निकायका रुपमा संविधान सभाको गठन गरेका थिए ।

विपक्षीले अस्वीकार गरेको सो चुनावमा मदुरोको पार्टी शक्तिशाली बनेको थियो । विद्यार्थी कालमा गुएदोले ह्युगो चाभेजविरुद्ध प्रदर्शन गरेका थिए । ह्युगो चाभेजले मदुरोलाई उत्तराधिकारी घोषणा गर्न समेत उनले विरोध गरेका थिए ।

– राजधानी दैनिकबाट




सम्बन्धित
Loading...