रोहित पौडेलकाे विश्वकृतिमान तेन्दुलकर र अफ्रिदीको कीर्तिमान तोडे
बीबीसी

एकदिन अगाडिको खेलमा निराशाजनक ब्याटिङ् गरेको नेपाली क्रिकेट टोलीले शनिवार संयुक्त अरब इमिरेट्ससँग निकै सुधारिएको प्रदर्शन गर्यो।
जसमा महत्त्वपूर्ण योगदान पुर्याएका थिए रोहित पौडेलले। पौडेलले सो खेलमा ५८ बलमा ५५ रन बनाए। झट्ट सुन्दा यसमा त्यस्तो केही खास देखिँदैन।तर लगत्तै आइसीसीले ट्वीट गर्दै जे जानकारी गरायो त्यसले त उनले दुर्लभ कीर्तिमान राखेको पुष्टि भयो।
के गरे उनले?
नेपालका उदाउँदा किशोर खेलाडी रोहितले विश्व क्रिकेटका दुई अब्बल खेलाडी भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान तोड्दै विश्व क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन्।
परिपक्व खेल प्रस्तुत गरेर राष्ट्रिय टोलीको मध्यक्रममा आफ्नो स्थान बनाइसकेका रोहित पौडेलले ५८ बलमा ५५ रन बनाउँदा उनको उमेर केवल १६ वर्ष १ सय ४६ दिन पुगेको थियो।
यसअघि भारतका सचिन तेन्दुलकरले १६ वर्ष २१३ दिनमा ५९ रन बनाइ सानो उमेरमा अर्धशतकको कीर्तिमान रचेका थिए।
At the age of just 16 years and 146 days, Nepal's Rohit Paudel today became the youngest man to hit an international half-century, beating the likes of @sachin_rt and @SAfridiOfficial! 🇳🇵 🙌
➡️ https://t.co/lRo5UTfuFd pic.twitter.com/qsqZQDYX5y
— ICC (@ICC) January 26, 2019
उनले पाकिस्तानविरुद्धको टेष्टमा उक्त रन जोडेका थिए।
एकदिवसीय क्रिकेटमा भने यो कीर्तिमान पाकिस्तानी खेलाडी अफ्रिदीको नाममा थियो।
श्रीलङ्काविरुद्धको खेल खेल्दा १६ वर्ष २१७ दिन पुगेका अफ्रिदीले १०२ रन बनाएका थिए।
कम उमेरमा अर्धशतक तथा शतक बनाउने महिला खेलाडीको कीर्तिमान भने दक्षिण अफ्रिकी जोहमारी लग्टनबर्गको नाममा छ। उनले १४ वर्षमै उक्त कीर्तिमान राखेकी हुन्।
पौडेलको धैर्यपूर्ण खेल
सातौँ नम्बरमा ब्याटिङ गर्न क्रिजमा आएका पौडैलले शनिवार धैर्यपूर्ण ब्याटिङ गर्दै टोलीलाई लामो स्कोरतर्फ डोर्याएका थिए।
आफ्नो इनिङमा सात चौका प्रहार गरेका पौडेलले गरेको प्रदर्शन नेपाली टोली मजबुत अवस्थामा पुग्नमा महत्वपूर्ण बन्न पुगेको थियो।
उनी ४७ औँ ओभरको खेल चलिरहेका बेला आमीर हायातको बलमा मोहम्मद शब्बीरबाट क्याच आउट हुन पुगेको थिए।
रोहित पौडेल सानो उमेरमा नै एकदिवसीय क्रिकेटमा डेब्यु गर्ने खेलाडीहरूको सूचीमा चौथो नम्बरमा पनि परेका छन्।
गत वर्ष नेदरल्याण्ड्सँग पहिलो पटक एकदिवसीय खेल खेल्न जाँदा रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्र थियो।
आइसीसीले लेखेको छ रोहितलाई लामै समययतादेखि नेपालका भावी स्टार खेलाडीका रूपमा पनि हेरिएको थियो जब उनले निकै राम्रा मानिने भारतीय तीव्र गतिका बलर कमलेश नगरकोटीलाई पाँच बलमा २४ रन हानेका थिए। सन् २०१६ मा भएको १९ वर्ष मुनि समूहको एकदिवसीय खेलमा उनले उक्त प्रदर्शन गरेका थिए।
यसबीच संयुक्त अरब इमिरेट्समा जारी तीन एकदिवसीय शृङ्खला अन्तर्गतको निर्णायक खेल सोमवार हुनेछ।
हाल दुवै देशले एक-एक खेल जितेका छन्।
त्यसपछि दुई देशबीच टि २० को शृङ्खला शुरू हुनेछ।