तालिवानसँगको वार्तामा महत्वपूर्ण प्रगति : खलिलजाद

67







वासिंगटन । अमेरिकी प्रतिनिधि जाल्मे खलिलजादले अमेरिका र तालिबानबीच अफगानिस्तानमा १७ वर्षदेखि जारी युद्ध अन्त्य गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको बताएका छन् ।

खलिलजादले धेरै केही जानकारी नदिएपनि कतारमा ६ दिनदेखि जारी वार्तामा अहिलेसम्मको महत्वपूर्ण उपलब्धी हासिल भएको दाबी गरेका छन् ।


‘विगतभन्दा यो वार्ता निकै सकारात्मक भएको छ । केही महत्वपूर्ण सवालमा हामीले सहमति गरेका छौं,’ खलिलजादले ट्वीट गर्दै भनेका छन्, ‘हामी यो वार्तालाई अझ तीब्रता दिन चाहन्छौं, र चाँडै अर्को वार्ता हुनेछ । केही विवादका विषयमा छलफल गरी तत्कालै टुङग्याउनु पर्नेछ ।’

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पनि ट्वीट गर्दै खलिलजादबाट आफूले उत्साहजनक समाचार प्राप्त गरेको बताएका छन् । उनले भनेका छन्, ‘अमेरिका अफगानिस्तानमा दिगो शान्तिको पक्षमा दृढ छ, र अन्तरराष्ट्रिय आतंकवादीको आश्रयस्थल अफगानिस्तान नहोस् भन्ने अमेरिकी चाहना हो र त्यसमा तालिबान सहमतिमा आउने हाम्रो विश्वास छ ।’

अमेरिकाले अफगानिस्तानको सार्वभौमसत्ता, स्वतन्त्रता र समृद्धिलाई सदैब समर्थन गर्ने विदेशमन्त्री पोम्पेओले बताए । उनले आफू तालिबानसँगको वार्तापछि अफगान सरकारका अधिकारीसँग वार्ताका लागि काबुल जाँदै गरेको ट्विटमार्फत जानकारी गराएका छन् । यसअघि तालिबानले पनि दुवै पक्षले सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएको बताएको थियो ।

सुक्रका अनुसार यो सम्झौतामा विदेशी सैनिकलाई अफगानिस्तानबाट फिर्ता गर्ने र अल कायदा या इस्लामिक स्टेट (आईएस) समूहलाई अफगानिस्तानमा अड्डा बनाउन नदिनेलगायतका विषय समेटिएका छन् । खलिलजादले अहिलेसम्म केही निश्चित नभएको र तालिबानसँग वार्ता जारी रहने जानकारी दिएका छन् ।

तालिबानले हालसम्म पनि अफगानिस्तानका अधिकारीसँग सिधा वार्ता गर्न अस्वीकार गरेका छन् । तालिबानले अफगान अधिकारीलाई ‘कठपुतली’ भन्दै वार्ता गर्न अस्वीकार गर्दै आएको छ ।

तालिबानले अमेरिकी सैनिक अफगानिस्तानबाट जाने विषयमा निश्चित मिति तय भएपछि मात्रै सरकारसँग सम्झौताबारे कुराकानी गर्ने उल्लेख गरेको छ ।

रोयटर्सले तालिबान सुत्रका हवाला दिँदै विदेशी सैनिक सम्झौतामा हस्ताक्षर भएको १८ महिनामा पूर्ण रुपमा फिर्ता हुने विषय प्रमुख भएको उल्लेख गरेको छ ।


You might also like
Loading...