नवलपुर महोत्सवको पुर्वसन्ध्यामा कावासोतीमा बृहत सरसफाई


बिजय चालिसे ।
माघ, १४, कावासोती ।





नवलपुरको कावासोतीमा विभिन्न संघ संस्थाहरुले आज बजार क्षेत्रमा सरसफाई गरेका छन् । नगरको सरसफाई व्यवस्थापन नगरपालिकाले गर्न नसकेको जनगुनासो बढिरहेका बेला विभिन्न संघसंस्थाहरुको सक्रियतामा कावासोती बजार क्षेत्रमा सरसफाई गरिएको हो ।
नवलपुर उद्योग वाणिज्य संघ, कुमारवर्ती बहुमुखी क्याम्पस, सामुदायिक सेवा केन्द्र नवलपुरलगायतका संघसंस्थाको सहकार्यमा बजारको सरसफाई गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले जानकारी दिनुभयो ।




कावासोतीमा १७ गतेदेखि पाँचौ नवलपुर महोत्सव पनि हुदैछ, त्यसका अलावा फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित भएकाले सरसफाई गरिएको हो अध्यक्ष पोखरेलले भन्नुभयो । सरसफाईमा नगरवासीको उत्साहजनक सहभागीता पाए पछि अर्को पटक पनि अभियान सञ्चालन गर्न हौसला मिलेको अध्यक्ष पोखरेलको भनाई छ ।
त्यस्तै कुमारवर्ती बहुमुखी क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष महेन्द्र पोखरेलले क्याम्पसको ३१ औं वार्षिकोत्सवको पुर्वसन्ध्यामा सरसफाई कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
पुर्वपश्चिम राजमार्ग अन्तरगतको कावासोती हुदै यात्रा गर्नेहरुमा सकारात्मक सन्देश जाओस तथा नगर पनि सफा र सुन्दर बनाउन सहयोग होस भन्ने उद्देश्यका साथ बृहत सरसफाई कार्यक्रम गरिएको सामुदायिक सेवा केन्द्र नवलपुरकी अध्यक्ष नारायणी भट्टराईले जानकारी दिनुभयो ।


फलफुल चोकबाट शुरु भएको सरसफाई अभियानमा नगरवासीहरु कुचो लिएर नगरका सडक सफा गरे भने सरसफाई सम्बन्धि बिभिन्न सचेतनामूलक माईकिङ गर्दै नगरवासीलाई सचेतसमेत गराएका थिए । सरसफाई कावासोतीको फलफुल चोकदेखि थकाली चोकसम्म राजमार्गको दाँया बाया दुवैतर्फ गरिएको छ । सरसफाई अभियानमा उद्योगी, व्यापारी, शिक्षक, बिद्यार्थी, सुरक्षाकर्मि, पत्रकार, सर्वसाधारण नागरिक, सरसफाई अभियन्तालगायतको बाक्लो उपस्थिती रहेको थियो ।




सम्बन्धित
Loading...