आफ्नै आमालाई हत्या गर्ने छोरा १९ बर्षपछि पक्राउ, २० बर्ष कैद भुक्तान बाँकी


दाङ, माघ १५ । आफ्नै आमालाई खुकुरी प्रहार गरी हत्या गर्ने एकजना व्यक्तिलाई झन्डै १९ बर्षपछि पक्राउ परेका छन् । सल्यान जिल्लाको साविक कुपिण्डे गाविस वडा नं. ८ र हालको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा निवासी ३६ बर्षीय एकेन्द्रबहादुर खड्कालाई प्रहरीले सोमवार पक्राउ गरेको हो ।




खड्काले विक्रम संवत २०५६ सालमा आफ्नै आमा साईतीकुमारी खड्काको घाँटीमा खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाहीले जानकारी दिए । तत्कालिन सयमा खड्कालाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो । सल्यान जिल्ला अदालतले खड्कालाई जन्मकैदको फैसला सुनाएको थियो ।

आमाका हत्यामा दोषी प्रमाणित भएपछि खड्का अदालतको फैसला पछि जेल गएका थिए । तर खड्का २०५७ साल फागुन २३ गते जेल बाट फरार भए । कैद परेको १ बर्ष ७ महिना २५ दिनमै आमाको हत्यामा दोषी प्रमाणित खड्का जिल्ला कारागर सल्यान वाट पलामको ड्रम प्रयोग गरी पर्खाल नाघेर भाग्न सफल भएका थिए ।


त्यतिबेला देखि नै खड्का फरार थिए । प्रहरीका अनुसार उनी छिमेकी देश भारतको सिम्लमा विहेगरेर लुकीछिपी कहिले काँही नेपाल आउने जाने गरेका थिए । त्यही गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको विशेष प्रहरीले टोलीले माघ १४ गते कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारामा कुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको डिएसपी शाहीले जानकारी दिएका छन् ।

पक्राउ लगतै जिल्ला अदालत सल्यानमा पेश गरेको अदालतले खड्काले भुक्तान गर्न बाँकी रहेको १८ बर्ष ४ महिना ५ दिन र कैदी भागेको मुद्दामा २ बर्ष थप कैद हुने ठहर गरि २० वर्ष ४ महिना ५ दिन कैद भुक्तानका लागि कारागारमा चलान गरेको सल्यान प्रहरी प्रमुख शाहीले जानकारी दिए ।

यसैबीच सल्यान प्रहरीले गत साउन १ गतेदेखि हालसम्म कैद जरिवाना तोकी फरार रहेका प्रतिवादी मध्य १५ जनालाई पक्राउ गर्न सफल भएको छ । डिएसपी शाहीले त्यसमध्य ५ जना महिला र १० जना पुरुषलाई पक्राउ गरिएको जानकारी दिए । उनीहरुले ३८ बर्ष २ महिना १७ दिन कैद भुक्तान गर्न बाँकी रहेको प्रहरीले बताएको छ । उनीहरु बाट जरिवाना स्वरुप ३ लाख ३५ हजार ९ सय १५ रुपैंया असुली गरेको पनि डिएसपी शाहीले जानकारी दिए ।




सम्बन्धित
Loading...