नेकपा प्रदेश ५ को एकता : ७५ स्थानीय तहको टुङ्गियो


लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ मा एकता प्रक्रिया अघि बढेको छ । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि यस प्रदेशका स्थानीय तहमा एकता प्रक्रियालाई तीव्रता दिइएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिए ।




उनका अनुसार प्रदेश नं ५ का १०९ वटा स्थानीय तहमध्ये ७५ स्थानीय तहको पार्टी एकता टुङ्ग्याएर शपथ पनि गराइसकिएको छ । प्रदेशका छ वटा जिल्लाका सबै स्थानीय तहको एकता टुङ्ग्याएर शपथ गराइएको छ भने बाँकी पाँच जिल्लाको एकतालाई तीव्रता दिइएको उनको भनाइ थियो ।

गुल्मीको दुई नगरपालिका र १० गाउँपालिका, पाल्पाको दुई नगरपालिका र आठ गाउँपालिका, नवलपरासीका तीन नगरपालिका र चार गाउँपालिका, कपिलवस्तुका छ नगरपालिका र चार गाउँपालिका, बर्दियाका छ नगरपालिका र दुई गाउँपालिका तथा रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका १० गाउँपालिकाको स्थानीय तहको एकता पूरा भइसकेको छ ।




प्यूठानका नौमध्ये आठ वटा तहको एकता भइसकेको छ । प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये बाँकी ३४ स्थानीय तहको पनि माघ महीना भित्रै टुङ्गिने जनाइएको छ । तीबाहेक प्यूठानका बाँकी स्थानीय तहसहित दाङ ,रोल्पा, बाँके, अर्घाखाँची र रुकुमपूर्वका स्थानीय तहको छिट्टै टुङ्गिने प्रदेश सचिव शर्माले बताए ।

‘हामीले प्रदेश ५ का ७५ स्थानीय तहको एकता पूरा गरिसकेका छौँ’, उनले भने, ‘बाँकी स्थानीय तहको माघभित्रै पूरा गर्छौं ।’ प्रदेश नं ५ मा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन् । रासस




सम्बन्धित
Loading...