टी-२० अन्तर्राष्ट्रिय क्रिकेट: सन्दीप जोरा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटको अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी
बीबीसी
आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेलिरहेका सन्दीप जोराले प्रभावशाली ब्याटिङ गरेर नयाँ कीर्तिमान राखेका भए पनि नेपाल पहिलो टी-२० खेलमा यूएईसँग २१ रनले पराजित भएको छ।
आईसीसीका अनुसार सत्र वर्ष १०३ दिनको उमेरमा आफ्नो डेब्यूमा अविजित ५३ रन बनाएपछि टी-२० अन्तर्राष्ट्रिय खेलमा अर्धशतक बनाउने उनी सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
तर उनको उत्कृष्ट प्रदर्शनले नेपाललाई जिताउन सकेन। नेपाललाई हराएर यूएईले तीन खेलको शृङ्खलामा १-० ले अग्रता लिएको छ।
जोराले बीबीसी नेपाली सेवासँग भने,”खेल सकिएपछि कीर्तिमानको बारेमा थाहा पाएँ तर नेपालले खेल हारेकोले खुसी हुन सकिरहेको छैन।”
Nepal's Sundeep Jora has become the youngest man to score a T20I fifty at the age of 17 years, 103 days with 53* on debut, but it wasn't enough to stop UAE claiming a 21-run victory in the 1st T20I in Dubai.#UAEvNEP scorecard ➡️ https://t.co/kds3bCLVqu pic.twitter.com/nekXry6lCF
— ICC (@ICC) January 31, 2019
टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो। प्रत्युत्तरमा नेपालले २० ओभरमा सात विकेट गुमाउँदै १३२ रन मात्रै बनाउन सक्यो।
यसअघि नेपालका रोहित पौडेलले यूएईसँगको एकदिवसीय शृङ्खलाको एउटा खेलमा भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शाहीद अफ्रिदीको कीर्तिमान भङ्ग गरेका थिए। सोह्र वर्ष १४६ दिनको उमेरमा उनले अर्धशतक बनाएर नयाँ कीर्तिमान राखेका थिए।
नराम्रो ब्याटिङ सुरुवात
नेपालले पहिलो बलमा नै प्रदीप ऐरीलाई गुमाएपछि ब्याटिङमा सम्हालिन सकेन। तेस्रो क्रममा आएका उपकप्तान ज्ञानेन्द्र मल्लले सात रन मात्रै बनाए भने दीपेन्द्र सिंह ऐरी चार रनमा आउट भए।
कप्तान पारस खड्का २५ बलमा २५ रन बनाएर आउट हुँदा नेपालको ४८ रनमा चार विकेट गइसकेको थियो।
जोराले एकातर्फ सम्हालिएर खेले पनि उनलाई साथ दिन आएका रोहित पौडेल र करण केसी चल्न सकेनन्।
सोमपाल कामीले १८ बलमा २७ रन बनाएर नेपाललाई लक्ष्यको केहीनजिक पुर्याए पनि अन्तिम ओभरहरूमा आवश्यक रन गति राख्न सकेन्। सन्दीप लामिछाने दुई रनमा र जोरा ५३ रनमा अविजित रहे।
कप्तान खड्काले खेलपछि भने,”सुरुमै विकेट गएकोले सम्हालिन सकेनौँ। अब भोलिको खेलमा नयाँ सुरुवात गर्नेछौँ र एकदिवसीय खेलमा झैँ शृङ्खलामा फर्कन प्रयास गर्नेछौँ।”
- तेन्दुलकर र अफ्रिदीको कीर्तिमान तोड्ने नेपालका रोहित पौडेल
- नेपाली क्रिकेट तत्काल सफलता तर भविष्य कता
- नेपाल-यूएई टी-२० शृङ्खला: तीन नेपाली खेलाडीको डेब्यू
‘सन्दीप जोरा, नेपालका छोरा’
जोरा ४१ बलमा तीन चौका र एक छक्का अर्धशतक पूरा गर्दै टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट अर्धशतक बनाउने तेस्रो खेलाडी बने।
यसअघि सन् २०१५ मा पारस खड्काले नेदर्ल्यान्ड्सविरुद्ध ५४ रन र सन् २०१४ मा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध ५६ रन बनाएका थिए। जोरा आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट सबैभन्दा बढी रन बनाउने खेलाडी समेत बनेका छन्।
यसअघि यो कीर्तिमान ज्ञानेन्द्र मल्लले सन् २०१४ मा हङकङविरुद्ध ४८ रन बनाएर राखेका थिए। जोरा अर्धशतकतर्फ लम्कँदै गर्दा मैदानमा उपस्थित नेपाली समर्थकहरूले ‘सन्दीप जोरा, नेपालका छोरा’ नारा लगाएका थिए। तर उनले खेल जिताउन सकेनन् ।
अनवरको अर्धशतक, स्पिनरका चार विकेट
यूएईको सुरुवात राम्रो थिएन। सोमपाल कामीपछि बलिङ गर्न आएका सन्दीप लामिछानेले पहिलो बलमै विकेट लिएपछि घरेलु टोली दबावमा परेको थियो।
पाँच ओभरको समाप्तिमा २४ रनमा २ विकेट गुमाएको यूएईलाई मध्यक्रमले बचाएको थियो। साइमन अनवरले ५९ रन बनाए भने मोहम्मद उस्मानले ३०, अर्का ओपनर सीपी रिजवानले २२ र मोहम्मद बूटाले अविजित २० रन बनाएका थिए।
नेपालका लागि सन्दीपले दुई र वसन्त रेग्मीले दुई विकेट लिएपनि अन्य बलरले दबाव कायम राख्न सकेनन्। करण केसीले दुई ओभरमा १६-१६ रन र चार ओभरमा ४३ रन दिएर सबैभन्दा महँगा बलर भए। पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलिरहेका अविनाश बोहोराले चार ओभरमा ३६ रन दिएर एक विकेट लिए। अन्तिम तीन ओभरमा भने जम्मा १८ रन लिन सकेको यूएईको रन गति अन्त्यमा केही कम भएको थियो।
तीन नेपाली खेलाडीको डेब्यू
बिहीवार नेपालका तर्फबाट रोहित पौडेल, सन्दीप जोरा र अविनाश बोहोराले आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय खेल खेले।
नेपालगन्जका तेज गतिका बलर बोहोराले एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सका तर्फबाट खेल्दै आठ खेलमा सात विकेट लिएका थिए। अविनाश १९ वर्षको मुनिको टोलीबाट नखेलि सिधै राष्ट्रिय टोलीका मौका पाउने थोरै खेलाडीमध्ये एक हुन। हालैका दिनहरूमा त्यसरी मौका पाउनेहरूमा सोमपाल कामी र विनोद भण्डारी रहेका छन्।
कञ्चनपुरका जोरा भने यू १९ टोलीमा राम्रो प्रदर्शन गरेर आएका खेलाडी हुन्। अलराउन्डर जोराले यूएईविरुद्धको अन्तिम एकदिवसीय खेलमा डेब्यू गर्दै १९ रन बनाएका थिए। धनगढी प्रिमियर लिगको आगामी संस्करणका लागि सीवाईसी अत्तरियाले जोरालाई दुई लाख ३० हजारमा किनेपछि उनी महँगा खेलाडीमध्ये एक भएका थिए।
दुई वर्षअगाडि यू १९ एशिया कपमा भारतलाई हराउँदा शानदार प्रदर्शन गरेका पौडेलले भने यूएईविरुद्धको खेलमा अर्धशतक बनाउदै सचिन तेन्दुलकर र शाहिद आफ्रिदीको सानो उमेरमा अर्धशतक बनाउने कीर्तिमान तोडेका थिए।
नवलपरासीका पौडेल मध्यक्रममा टिमको आवश्यकता अनुसार ब्याटिङ गर्न सक्ने खेलाडीका रूपमा चिनिन्छन्।
शृङ्खलाका बाँकी खेल
नेपाली दोस्रो टी-२० शुक्रवार र अन्तिम खेल आइतवार खेल्ने कार्यक्रम छ। बिहीवारको खेल सन् २०१४ को टी-२० विश्वकप खेलेको नेपालले सन् २०१५ मा आयर्ल्यान्ड र स्कट्ल्यान्डमा भएको विश्वकप छनोट खेलयता खेलेको पहिलो खेल हो।
नेपालले हालसम्म १३ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेकोमा तीनमा जित हासिल गरेको छ। सन् २०१८ मा लर्ड्स मैदानमा नेदर्ल्यान्ड्ससँगको खेल वर्षाका कारण अवरुद्ध भएको थियो।