आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार
तामाङ समुदायले आज नयाँ वर्षको रुपमा सोनाम ल्होछार पर्व मनाउँदैछन् । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ । पर्वको अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक विदा दिएको छ ।
चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि तामाङ समुदायले कुकुर वर्षलाई विदाई गरी सुँगुर वर्षलाई स्वागत गरेका छन् । यो २८५५ औं सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार गणना गरिने प्राचिन पद्धति हो ।
हिजोबाट नै ल्होछार सुरु भए पनि आज मुख्य दिन हो । आज घरघरमा पूजापाठ, खानपीन, ठूलाबडाबाट टीका तथा आशिर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामुहिक रुपमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउने प्रचलन छ ।
ल्होछारको अवसरमा आज काठमाडौंको टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको सहभागीता रहने छ ।
नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेशिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरक–फरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ ।
विश्वशान्ति र भ्रातृत्व प्रबर्द्धनमा समेत टेवा पुग्ने विश्वास: राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले सोनाम ल्होछार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रबर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् ।
तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा राष्ट्रपति भण्डारीबाट जारी शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपालसहित सिंगापुर, मलेशिया, भारत, थाइल्याण्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मा, जापानलगायत देशमा समेत फरक–फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवद्र्धनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु ।’