नवलपुरको पहाडि क्षेत्र सुन्तला उत्पादनका लागि उर्भरभूमिः दशगुणा उत्पादन बढाउन सकिने

204












रामकुमार श्रेष्ठ
नवलपुर, २८ माघ । नवलपरासीको पहाडि क्षेत्रका उत्तरतर्फ फकिएका डाँडा सुन्तला जातको खेतीका लागि उर्भर मानिएको छ । पूर्वी नवलपरासीमा सुन्तलाजातको खेतीबाट मात्रै ५० देखि ६० करोडसम्मको उत्पादन गर्न सकिने एक अध्ययनले देखाएको छ जबकी यहाँ अहिले बर्षेनी ६÷७ करोडको मात्र सुन्तला र सुन्तलाजातका फलफूल उत्पादन हुने गरेको छ ।
पूर्वी नवलपरासीमा यस बर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जात फलफूल जोन कार्यक्रम शुरु भएर आधुनिक तरिकाले सुन्तलाजातको खेती समेत शुरुवात गरिएको छ ।

४५ किलोमिटर चौडा भुभागमा सुन्तला जोन कार्यक्रम लागू


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जात फलफूल जोन नवलपरासी पूर्वका बरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले नवलपरासीका उत्तरतर्फ फर्किएका डाँडाहरुमा ४० देखि ४५ किलोमिटर चौडा भूभाग सुन्तला जातको खेतीका लागि उर्भर भएको बताए । अहिले नवलपरासीका पहाडि क्षेत्रका ३ सय हेक्टर क्षेत्रफलमा सुन्तला जातको खेती हुँदै आएका छ भने यहाँ ३ हजार हेक्टर क्षेत्रफलमा सुन्तला जातको खेती गर्न सकिने शर्माले बताए ।
सुन्तला जात अन्तरगतको खेती अन्तरगत सुन्तलाका साथै कागती, निबुवा, भोगटे, मौसम जस्ता फलफूलहरुलाई मान्ने गरिन्छ ।
बरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माका अनुसार यहाँ यस बर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जात फलफूल जोन कार्यक्रम लागु भएको हो। उनले यस क्षेत्र सुन्तला जातको खेतीका लागि निक्कै उर्भर रहेको बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जात फलफूल जोन नवलपरासी पूर्वको कार्यालय दलदलेमा स्थापना गरी यस कार्यक्रमको शुरुवात गरिएको हो । यहाँ ८ सय मिटर माथि उचाईमा सुन्तला, ५ सय मिटरदेखि १२, १५ सय मिटर उचाईसम्म कागती, ६ सय मिटरदेखि ११,१२ सय मिटरसम्म निमुबा, मौसम र जुनार लगायतका खेती गर्न सकिने छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जात फलफूल जोन कार्यक्रम अन्तरगत यस बर्ष गैडाकोट १८, रतनपुर, बुलिङटार गाउँपालिकाका सबै वडाहरु, बुंदीकाली गाउँपालिकाका वडा नं. ४, ५ र ६, हुप्सेकोट गाउँपालिकाको वडा नं.५ (साविक धौवादी र देवचुली नगरपालिका ६ कृतिपुरमा सुन्तलाजोन कार्यक्रम अन्तरगतका कार्यक्रम शुरु भएको छ ।

४३ वटा समूह तथा सहकारी आवद्ध

यहाँ किसानहरुलाई कार्यक्रममा आवद्धताका लागि ३५ दिने सूचना निकालेर कृषि समूह, सहकारी र कृषि उद्यमी गरी हाललाई ४३ वटा समूह र सहकारी जोडेर काम शुरु गरिएको उनले बताए । किसानको प्रत्यक्ष सहभागिता देखाउन यहाँ जोन सञ्चालक समितिनै निर्माण गरिएको छ । यस बर्ष समूहमा जोडिएर कार्यक्रममा आवद्ध भएका किसानहरुलाई प्राविधिक सेवा तालिम, किरा व्यवस्थापन, माटो शिविर, बोट तथा विरुवाको काँटछाँट लगायत काम सकिएको र यो सय प्रतिशत अनुदानमा गरिएको शर्माले बताए ।

यस बर्ष १ करोड ८१ लाखको कार्यक्रम

यस बर्ष १ करोड ८१ लाखको कार्यक्रम रहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला जात फलफूल जोन कार्यक्रम अन्तरगत किसानहरुले सिचाईमा ८५ प्रतिशत अनुदानसम्म अनुदान पाउने प्रावधान छ ।
त्यसैगरी विरुवा माग अनुसार ५० प्रतिशत अनुदान, मेसिनरी औजार ५० प्रतिशत अनुदान दिन सकिने प्रावधान रहेको शर्माले बताए ।
सुन्तला जोन कार्यक्रम स्वयम्ले सुन्तला जातको फलफूल ढुवानी, संकलन केन्द्र निर्माण गर्ने, बजार प्रबद्र्धन गर्ने तथा यसमा ८५ प्रतिशत किसानलाई सघाउने कार्यक्रम रहेको छ। सुन्तला जोन कार्यक्रम शुरु भएपछि यहाँ कालान्तरमा सुन्तला जातको फलफूल उत्पादनमा ह्वात्तै वृद्धि हुने सम्भावना रहेको शर्माले बताए ।
उनले भने – ‘सबै तिर प्रविधि राम्रोसंग नपुग्दा अहिले जति उत्पादन हुनु पर्ने हो भएको छैन । ३ सय हेक्टर क्षेत्रफलमा ६,७ करोडको सुन्तला लगायतका फलफूल उत्पादन भएका छन् । यो उत्पादन हुन पर्ने क्षमताको आधा कम हो । त्यसमाथि यहाँ ३ हजार हेक्टर क्षेत्रफल सुन्तला र सुन्तला जातका फलफूल उत्पादनका लागि उर्भरभूमि रहेको पाइयो ।’

कम्तिमा १० गुणा उत्पादन बढाउन सकिने

उनले यस क्षेत्रमा अहिले भईरहेको उत्पादनमा कम्तिमा १० गुणा उत्पादन बढाउन सकिने सम्भावना छ । सुन्तला र सुन्तलाजातको विरुवा रोपे पछि कम्तिमा ३ देखि ७ बर्षबाट उत्पादन लिन सकिने भएकोले यो उत्पादन बढाउनका लागि भने ५÷७ बर्ष कुर्न पर्ने उनले बताए ।
उनले भने – यहाँ सुन्तला जातको खेतीका लागि निक्कै उर्भर भूमि रैछ, यहाँका बासिन्दालाई राम्ररी सहभागिता गराएर खेती गर्न सकिए, सुन्तला उत्पादनमा मात्रै वृद्धि नभएर यहाँको जीवनस्तर उकास्न समेत ठूलो मद्दत पुग्दछ ।

नवलपुरको सुन्तला अब्बल

नेपालमा सुन्तला खेतीका लागि स्याङ्जा जिल्ला अहिलेसम्मकै राम्रो मानिन्छ भने गोर्खा, दैलेख, पाल्पा, अर्घाखाँची, गुल्गी, धनकुटा लगायतका जिल्लामा पनि सुन्तलाको राम्रो उत्पादन हुने गर्दछ ।
नवलपुरका पहाडी क्षेत्रमा उत्पादित सुन्तला स्वाद र पौष्टिक आहारको हिसावले उत्कृष्ठ मानिन्छ ।



You might also like
Loading...