बलात्कार आरोप तनहूका वडाध्यक्ष थुनामा
नवलपरासी । पूर्वी नवलपरासी नवलपुरको एक जना महिलालाई बलात्कार गरेको आरोप लागेका तनहुको घिरिङ गाउपालिका ४ का वडा अध्यक्ष झकबहादुर कुमाललाई पुर्पक्षका लागि थुनामा राखिएको छ ।
जिल्ला अदालत नवलपुरले सोमवार कुमाललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । गत बैशाख २५ गते वडा अध्यक्ष कुमालले नवलपुरको बौदीकाली २ मा पर्ने जंगलमा आफूलाई जबरजस्ती करणी गरेको भन्दै बैशाख ३० गते पीडित महिलाले जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वमा उजुरी दिएकी थिइन् ।
घटनापछि फरार रहेका अध्यक्ष कुमाललाई प्रहरीले खोजी गरिराखेको थियो । अदालतले प्रकाउ पुर्जी जारी गरेपछि उनले नवलपुर प्रहरी सामु सोमबार आफै उपस्थित भएकाको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए ।
उनलाई जिल्ला कारागार चितवन चलान गरिएको छ ।
घटना नवलपुरमा भएकाले वडाअध्यक्ष कुमाल तनहुका भए पनि नवलपुरमा उजुरी परेपछि नवलपुरबाटै मुद्दा अगाडि बढेको थियो ।