विधान संशोधन ऐतिहासिकः महासङ्घ


पोखरा । नेपाल पत्रकार महासङ्घले यही फागुन ९ र १० गते पोखरामा सम्पन्न भएको साधारणसभा तथा विधान अधिवेशन ऐतिहासिक रहेको बताएको छ ।




महासङ्घको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अवलम्बन गर्ने गरी विधानमा व्यवस्था गरिनु ऐतिहासिक भएको र यसबाट महासङ्घको जीवनमा दूरगामी महत्व रहने महासङ्घले जनाएको छ ।

विधान अधिवेशनबाट पारित विशेष प्रस्ताव तथा निर्णय सार्वजनिक गर्न शनिबार पोखरामा आयोजित पत्रकार भेटघाटमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले सभामा प्रस्तुत विधान संशोधनको मस्यौदा केन्द्रीय समितिमा एकजना महिला उपाध्यक्ष र एक महिला सदस्य थप्ने गरी संशोधनसहित सर्वसम्मतरूपमा पारित भएको बताए ।
नौ वर्षअघि नेपालगञ्ज, त्यसपछि पोखरा र चितवनमा गरी तीनवटा साधारणसभामा विधान संशोधनको प्रस्ताव सफल नभए पनि यसपटक पोखरामा संशोधन हुनु महासङ्घको इतिहासमा बिरलै मध्येको घटना भएकोे अध्यक्ष आचार्यको भनाई थियो ।
उनले पोखराको यस अधिवेशन ऐतिहासिक र नमूनायोग्य भएको र साधारणसभाको मूल भावनाअनुसार विधानमा व्यवस्था हुने बताउँदै अब महासङ्घ आफ्ना मुद्दामा केन्द्रित रहने दावी गरे ।
महासङ्घका उपाध्यक्ष विपुल पोखरेलले प्रत्यक्ष निर्वाचनको व्यवस्थाले महासङ्घलाई लोकतान्त्रिक पद्दतिमा लगेको बताए ।
महासङ्घका महासचिव रमेश विष्टले विगतमा केन्द्रीय प्रतिनिधिको राजनीतिले महासङ्घलाई कमजोर बनाएको उल्लेख गर्दै सदस्यता शुद्धीकरणमार्फत महासङ्घलाई व्यावसायिक पत्रकारको छाता संस्थाको रूपमा विकास गरिने बताए ।
महासङ्घको पोखरा साधारणसभा तथा विधान अधिवेशन विभिन्न १७ बुँदे प्रस्ताव पारित गर्दै शुक्रबार साँझ सकिएको थियो ।
महासंघको विधान संसोधनबाट पनि महासंघ पूर्ण समानुपातिक हुन नसकेको र राष्ट्रिय परिषदमा मिडिया सञ्चालक र मालिकलाई ल्याउने गरी आएको विधानले श्रमजीवि पत्रकारहरुको हकहितको पक्षमा काम नगर्ने भन्दै साना पत्रकार संगठनहरुले त्यसको विरोध गरेका थिए ।







सम्बन्धित
Loading...