ट्रम्प र किमबीच शिखरवार्ता शुरुः शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने विश्वास


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा दोस्रो शिखर वार्ता सुरु भएको छ ।




बुधबार हनोईमा दुवै नेताबीचको डिनरपछि शिखर वार्ता सुरु भएको हो । बिहीबार चरण चरणमा दुई नेताबीच शिखर बैठक हुनेछ ।

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर सम्मेलनले सकारात्मक नतिजा निकाल्ने आफ्नो विश्वास रहेको बताएका छन् ।




दुई नेताबीच भियतनामको राजधानी हनोईमा बुधबार भएको भेटमा किमले ट्रम्पलाई भने, ‘म विश्वस्त छु कि सम्मेलनबाट विशिष्ट परिणाम प्राप्त हुनेछ, जसलाई सबैले स्वागत गर्नेछन् ।’ उनले भने, ‘म वार्ता सफल पार्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्नेछु ।’

अमेरिकी राष्ट्रपति ट्रम्प र नेता किम हनोईस्थित सोफिटेल मेट्रोपोल होटेलमा एकआपसमा करिब २० मिनेट कुराकानी भएको थियो ।

त्यसपछि उनीहरू आफ्ना निकट सहयोगीका साथ सोही होटेलमा हल्का भोजमा सहभागी भएका थिए । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेताबीच गत वर्षको जुनमा पहिलो पटक भेट भएको थियो ।

सो भेटमा नेता किमले कोरियाली प्रायद्वीपलाई आणविक हतियारबाट स्वतन्त्र बनाउने विषयमा हस्ताक्षर गरेका थिए । तर वार्तापछि लामो समयसम्म उत्तर कोरिया र अमेरिकाबीच औपचारिक छलफल हुन सकेको थिएन ।

‘हामी पुनः वार्ताका लागि हनोई आएका छौँ,’ किमले भने, ‘मलाई लाग्छ थप विचारका साथ अघि बढ्ने समय आएको छ । हामीले यस घडीमा धैर्य बन्दै उत्कृष्ट सोचविचारसहित अघि बढ्ने प्रयास गर्नुपर्छ ।’

दुई नेताबीच कुराकानी हुनु पहिले उनीहरूले हार्दिकतासाथ हात मिलाएका थिए । उनीहरू बिहीबार पुनः भेट्ने र विस्तृत छलफल हुनेछ ।




सम्बन्धित
Loading...