अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धबारे गाँठो नफुक्दा किम-ट्रम्प वार्ता ‘विफल’

89







अमेरिकाले आफूविरुद्ध लगाएका आर्थिक प्रतिबन्धहरू हटाउने उत्तर कोरियाको मागबारे सहमति हुन नसक्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जङ-अन बीचको शिखरवार्ता विनासहमति टुङ्गिएको छ।

ट्रम्प र किम भियतनामको हनोईमा परमाणु निरस्त्रीकरणबारे छलफल गर्न भेला भएका थिए। यो उनीहरूको दोस्रो शिखर वार्ता थियो।


पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले प्रतिबन्धकै विषयमा कुरा नमिलेको बताए।

उनले भने, “उनीहरू प्रतिबन्धहरू पूरै हटाइयोस् भन्ने चाहन्थे तर हामीले त्यसो गर्न सकेनौँ।”

तेस्रो शिखरवार्ताको कुनै योजना नबनाइएको उनले बताए।

ह्वाइट हाउसले तयार पारेको बुधवारको कार्यतालिकामा “संयुक्त सहमति हस्ताक्षर समारोह” र दुई नेताबीच दिवाभोजनको कार्यक्रम राखेको थियो। तर नेताहरूबीच सहमति हुन नसक्दा दुवै कार्यक्रम स्थगित भए।

वार्ता विफल भएपछि ह्वाइट हाउसकी प्रवक्ता स्यारा स्यान्डर्सले एउटा विज्ञप्तिमा भनिन्, “यसपटक कुनै सहमति हुन सकेन। तर दुवै पक्षका टोली भविष्यमा थप बैठकका लागि आशावादी छन्।”

यो वार्तामा दुई नेताहरूबीच कुनै किसिमको सहमति हुने केही आशा गरिएको थियो।

वार्तामा आफ्नो उपस्थितिले उत्तर कोरिया परमाणु निरस्त्रीकरणका लागि तयार रहेको सङ्केत गर्ने किम स्वयंले उल्लेख गरेका थिए। -bbc


You might also like
Loading...