संसार हाँक्ने एउटा अदृश्य शक्ति छ

743












वास्तविक नाम सदानन्द जैसी साहित्यिक नाम सदानन्द अभागीले चिनिने साहित्यकार अभागीको जन्म बाबु स्व. कलाधर रिजाल र आमा स्व. नन्दकली रिजालका जेष्ठ सुपुत्रको रुपमा २००३ साल श्रावण १ गते पर्वत शंकरपोखरी–४ मा भएको हो ।
हाल पूर्वी नवलपरासीको कावासोती नगरपालिका ७ साँढमा स्थायी बसोबास गर्दै आएका वरिष्ठ साहित्यकार सदानन्द अभागीका नेपाली साहित्यका विविध विधामा करिव तीन दर्जन र माटो विज्ञानसँग सम्बन्धि किताव, बुकलेट, अध्ययन प्रतिवेदन आदि गरेर करिव तीन दर्जन कृति प्रकाशन भएका छन् । अभागीले नेपाली साहित्यको श्रीवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै हालसम्म गोर्खा दक्षिणबाहु चौथो, त्रिमूर्ति एवार्ड जस्ता महत्वपूर्ण सम्मानका साथै विभिन्न स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ३ दर्जन संघसंस्थाबाट सम्मानित भएका छन् ।

साहित्यकार एवम् माटो विशेषज्ञ सदानन्द जैसी उर्फ सदानन्द अभागीसँग पाल्पाका पत्रकार राम ज्ञवालीले गरेको भलाकुसारीको सारसंक्षेप

 

लेखमा भाग्यमानी कर्ममा कसरी अभागी हुनु भयो ? तपाइँ अभागी उपनामबाट चिनिनु पर्ने कारण के हो ?


लेखमा मात्र नभएर म आफूलाई आफ्नो कर्ममा पनि भाग्यमानी नै ठान्छु । उपनाममा मात्र अभागी हुँ भन्नु प¥यो । नामको पछाडि अभागी राख्नुको खास कारण मलाई सानोमा इञ्जिनियर बन्ने इच्छा थियो । आर्थिक अभावको कारणले पढ्ने मौका पाइन र अभागी भएको महसुस भएर अभागी उपनाम लेख्न थाले । 

यत्तिका कृति लेख्ने तपाइँ जति चर्चामा आउनु पर्ने हो त्यति आए जस्तो पाइएन–देखिएन ? किन यस्तो ? कि मेरो भ्रम मात्रै हो ?

एक त मेरो उपनाम र प्रचलित नामले पनि केही असर गरे होला ! मेरो प्रचलित नाम सदानन्द जैसी हो । मैले कृषितर्फ खास गरेर माटोमा पनि लेख लेख्छु । कृषिमा सदानन्द जैसी नाम जति चर्चामा छ । मलाई माटो वैज्ञानिक या कृषि हाकिम् भन्न सर्बधारणले जति महत्वका साथ नाम उच्चारण गर्छन् साहित्यकार भनेर नाम उच्चारण हुँदैन । कृषि कार्यक्रममा नेपाल टेलिभिजनबाट पनि धेरै कार्यक्रम पनि चलाएको थिएँ, समय समयमा कृषि सञ्चारको रेडियोबाट पनि अन्तरवार्ताहरू माटो सम्बन्धि लेखहरू, कृतिहरू, ठूलो संख्यामा छापेर देशव्यापी रूपमा वितरण भएकाले पनि सदानन्द जैसी नाम जति प्रचलित छ सायद सदानन्द अभागी त्यति चर्चामा नहुन सक्ला, मलाई थाहा हुने कुरा भएन । अर्को कुरा कृति लेखेर मात्र हुँदैन कृतिको वितरण पनि हुनु प¥यो र कृतिकारले भव्य रूपमा विमोचन गराउने र कृतिमा बृहत् साहित्यिक छलफल गराउने काम गर्दा धेरै चर्चामा आइन्थ्यो होला ? म यी दुबै काममा अल्लि पछि छु तापनि करिब ३ दर्जन संस्थाले अभिनन्दन÷सम्मान गरिसकेका छन् । त्यसो हुँदा चर्चामा छु वा छैन भन्ने कुरा मेरो भन्दा पनि मेरा पाठकहरुले विश्लेषण गर्ने कुरा हो जस्तो लाग्छ मलाई ।

साहित्य इतरका ३ दर्जन भन्दा बढी एवम् साहित्यिक विधामा पनि ३ दर्जनभन्दा केही बढी कृति लेख्ने तपाइँले डेढसय वर्ष पहिले बरालको आँशु कृति प्रकाशन गर्ने बहादुर सिंंह बरालले जस्तै न्याँय नपाउन नै हो त ? तपाइँको यस्तो महत्वपूर्ण कर्म वा व्यक्तित्वप्रति खेलवाड गर्ने को को हुन् किटेर भन्न मिल्छ ? तपाइँलाई ती व्यक्ति किन यस्तो गर्न उद्यत भए भन्ने लाग्छ ?

नेपालमा हरेक क्षेत्रमा खुट्टा तान्ने प्रवृत्ति छ र साहित्यमा पनि छ कि भन्ने जानकारी लिन यो प्रश्न गरे जस्तो लाग्यो । हो साहित्य लेखनमा पनि होच्याउने प्रवृत्ति देखिन्छ तर म यसमा विश्वास गर्दिन । कुनै पनि प्रतिभावान व्यक्तिलाई कसैले होच्याउँछु भन्ने दुस्साहस गर्छ भने सूर्यलाई हत्केलाले छेक्नु सरह हो । एउटा कुरा के भने कुनै पनि कृतिको मूल्याङ्कनकर्ता पाठक हुन् । पाठक समक्ष कृति पुग्नु पर्छ । अर्को न्याय सम्बन्धमा मलाई लाग्छ लेखकको काम लेख्ने हो र न्याय पाइन भनेर, न्याय खोज्न हिड्ने होइन । डेढसय वर्ष पहिले बरालको आँशु कृति प्रकाशन गर्ने बहादुर सिंंह बराल आज चर्चामा छन् र उनका कृति आज खोजी खोजी पढ्न थालिएको छ ।

यतिका लेखेर, यतिका विधामा कलम चलाएर समाज–राष्ट्रलाई के दिएँ ÷ दिइरहेको छु भन्ने लाग्छ ?

नेपाली साहित्य र माटो विज्ञानको विषयमा मेरो कलम चलेको छ । नेपाली साहित्यमा सबैले योगदान दिए सरह नै मैले पनि नेपाली साहित्यको समृद्धिको लागि प्रयासरत छु । माटो विज्ञान सम्बन्धि लेखबाट किसानको लगानीमा उत्पादन बढाउनेतर्फ योगदान पुगेको छ जस्तो लाग्छ ।

जुन जुन विद्यामा कलम चलाउनु भएको छ ती विधाप्रति बुझाइ वा मान्यता के रहेको छ ?

साहित्यका जुन विधामा कलम चलाए पनि सबैको उद्देश्य भनेको समाजलाई गतिशील बनाएर एउटा सिर्जनशील समाजको निर्माण गर्नु हो । समाजमा भएका विकृति विसङ्गतिलाई न्यूनीकरण गर्दै देश निर्माणका लागि सक्षम, स्वावलम्वी, इमान्दारी, नैतिकवान, राष्ट्रप्रेमले ओतप्रोत नागरिकको सिर्जना गर्ने हो । यिनै मान्यतालाई आधार बनाएर साहित्य सिर्जना गरिन्छ भन्ने लाग्छ मलाई र मैले यिनै मान्यतालाई आधार बनाएर कमल चलाउने गरेको छु ।

यथार्थमा भन्दा साहित्य के रहेछ ? जीवन र साहित्यको सम्बन्ध कस्तो हुँदो रहेछ ? साहित्य विनाको संसारको कल्पना हुन सक्छ त ?

साहित्य समाजको दर्पण हो । जीवन र साहित्यको सम्बन्ध नङ र मासुको जस्तो अभिन्न अङ्गको जस्तो सम्बन्ध हुन्छ । साहित्य विनाको संसारको कल्पना गर्न सकिदैन ।

फरक प्रसङ्ग कोट्याउन चाँहे ईश्वरीय आस्थालाई कसरी लिने गर्नु भएको छ ? धर्म, ईश्वर र पुनर्जन्मप्रति तपाईको धारणा के हो ?

यो संसार हाँक्ने एउटा अदृश्य शक्ति छ भन्ने कुरा श्रद्धापूर्वक स्वीकार्छु । धर्म भन्ने असल आचरण हो । असल आचरणकै बलमा मानिसहरू (धर्मावम्वीहरू) शक्तिशाली बन्दछन् । हाम्रो दर्शनले स्वर्ग नर्क, पुनर्जन्मलाई मान्यता दिएको छ । यही दर्शनलाई अङ्गिकार गरेपछि यी सबै स्वतः स्वीकार्य भएको मानिन्छ । पुनर्जन्मको कुनै वैज्ञानिक आधार छैन तर हाम्रो मस्तिष्कमा यो अति गहिरो रूपमा बसेको छ कि कहिलेकाँही मुखबाट निस्किहाल्छ ‘पूर्वजन्मको फल’ । स्वर्ग र नर्कको सम्बन्धमा मेरो अलिक फरक मत छ । मानिसले यस संसारमै स्वर्ग र नर्कको अनुभूति गरिसकेका हुन्छन् र अर्को स्वर्ग प्राप्ति गर्छु भनेर डर र ढोंगको भरमा दौडिराख्न आवश्यक देख्दिन ।

तपाईँको विशिष्टकृत विधा के, भनेर सोधे जवाफ के रहन्छ ?

मैले सबै विधामा कमल चलाईरहेको छु । पछिल्लो समयमा समालोचनातर्फ अघि बढी केन्द्रित हुने गरेको छु ।

तपाइँको लेखन मौलिक, बस्तुपरक, यथार्थपरक छन् । अझै भनौं लेख्नै पर्ने विषयमा यहाँको कलम चल्छ । सस्तो प्रेम छैन । कोरा भावुकता छैन । नाराबाजी छैन । समाज र राष्ट्र चिन्तामा केन्द्रित छन् । माटो मुटुका सवाल छन् । प्रौढ परिपक्क लेखन छ । देश दुखेको चिन्ता छ । यी भनाइमा तपाइँको स्वीकार्यता छ ? यी विषय बाहेक अरु पनि विषय के के आएका छन् आफ्नो लेखनमा ?

नाराबाजी छैनन् भन्नुको सट्टा समाजका आवाज घन्केका छन् भन्नु राम्रो हुन्थ्यो कि ? किनकी कुनै पनि लेखकले आफ्नो लेखनमा भन्न चाहेका कुरा बुलन्द आवाजमा प्रस्तुत गरेका हुन्छन् । सुन्दर समीक्षा प्रस्तुत गर्नु भएकोमा धन्यवाद छ । मेरो ‘माटो र बिरुवाले भोक लाग्यो भन्छन्’ नामक (कृषिकाव्य) माटो व्यवस्थापनका विषयमा प्राविधिक ज्ञान प्रदान गरेको छ । कृषि मन्त्रालय, कृषि संचार महाशाखाले ६ हजार प्रति छापेर देशव्यापी रूपमा वितरण गरेको छ । यो निकै उपयोगी ठानिएको छ ।

समालोचना लेखनमा किन तपार्इँ खरो र दह्रो भएर उपस्थित नहुनु भएको हो ? किन प्रभाववादिता वा गुणग्राहितालाई बढी जोड दिदै आउनु भएको छ ?

मलाई लाग्छ मेरो समालोचनाहरूको लेखाई खरो र दह्रोमात्र नभएर समुच्च कृतिको र कृतिकारको लेखन क्षमतालाई प्रस्तुत हुने गरी लेखिएका छन् । कृति र कृतिकारप्रति भूमिकाकारको धारणा, प्रकाशकको धारणा र शुभकामना आएका अभिव्यक्ति लगायत स्वयम् कृतिकारको कृति लेखनप्रतिको उद्देश्य समेतलाई समेटेर लेखिएका समालोचनालाई प्रभाववादिता वा गुणग्राहितामा लगेर जोड्दा अन्याय भए जस्तो लाग्यो । केवल कमी कमजोरीलाई मात्र केलाएर समालोचना गर्दा कृतिकारप्रति अन्याय हुन जान्छ । मैले गरेका समालोचनाले समुच्च कृति र कृतिकारका सिर्जना शक्तिलाई दह्रो र खरो रूपमा मूल्याङ्कन गरेको हुन्छ ।

कस्ता कविता, कस्ता कथा, उपन्यास कस्ता कस्ता खाले काव्य र फुटकर कविताहरू पाठकले औधी रुचाएको पाउनु भयो, सिर्जनाको कालजयिता के केले निर्धारण गर्दो रहेछ ?

तपाइँले अघि मलाई सुन्दर समीक्षकको रूपमा मेरो सिर्जनाको मूल्याङ्कन गर्नु भएको छ र नपुग कुरा मेरो उत्तरमा पनि आएको जस्तो मलाई लाग्छ । यिनै रचनाहरू पाठकले मन पराएको भन्न चाहान्छु । अर्को कुरा समसामयिक घटनाक्रम भन्दा दीर्घ प्रभाव पार्ने खालका सिर्जना नै कालजयी हुन्छन् । समाज, राष्ट्र, राष्ट्रियतालाई सम्बोधन, सम्बद्र्धन गर्ने खालका र लेख रचनाले समाजलाई कुप्रथा, कुरीति, अन्धविश्वासबाट मुक्त गराउने खालका परिवर्तनशील सन्देश सिर्जनाले दिन सक्नुपर्छ ।

अबका दिनमा विधागत साहित्यको भविष्य के कस्तो आँकल गर्नुभएको छ साहित्यको समृद्धि के के कुराले होला ?

हालको विधागत परिवेशलाई हेर्दा गजलले व्यापकता छाएको छ । अरू विधाहरू पनि क्रमस अघि बढिरहेका छन् । साहित्यकारहरूले विविध विधागत विषयमा जस्तै तान्का हाइकुमा पनि कलम चलाएका छन् । हाम्रा कृतिहरूको विभिन्न विदेशी भाषामा अनुवाद जे जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । नेपाली साहित्यको समृद्धिको लागि नै भनौं विभिन्न अन्तर्राष्ट्रिय क्षेत्रमा पुगेका नेपालीले पनि साहित्यिक संस्था खोलेर सेवा दिदै आएका छन् । छिमेकी देश भारतका दार्जिलिङ, सिक्किम, असम, देहरादुन आदि स्थानको साथै, बर्मा, भुटानमा पनि नेपाली साहित्यको मात्र नभै नेपाली संस्कृतिको लागि नेपाली भाषी जुटेका छन् तर दुखको साथमा भन्नुपर्छ कि नेपालका सत्तामा आशिनहरूले नेपाली साहित्यप्रति र साहित्यकारप्रति ध्यान दिन सकेका छैनन् । सरकारी साहित्यिक संस्थामा पनि ख्याती प्राप्त साहित्यकारहरूले भन्दा सत्ताका नजिकले नै स्थान ओगटेका छन् । साहित्यको समृद्धिको लागि सरकार, साहित्यकार, जनता सबैको एकजुट या एकीकृत प्रयासको खाँचो छ ।

साहित्यकारले साहित्य लेखेर सार्वजनिक गरिरहँदा पाठकको खडेरी पर्दै गएको पनि सुनिन्छ । यो आरोप हो या सत्य हो ? यदि यस्तो हो भने कसका लागि लेख्ने ? कुनै कृति त असाध्यै पढिएको बजार तताएको पनि छ । कृतिकारले मन जित्ने विषयको लेखन गर्न नसकेर पो हो कि पाठक नभएको ?

तपाइँले औंल्याएका सबै प्रश्नको उत्तर थोरै मात्रामा तपाइँले भने जस्तो पनि हो भन्न सकिन्छ तर एकातिर संसार आज साँगुरिँदै गएको छ । संसारका जुनसुकै कुनाकाप्चाका साहित्यिकदेखि विविध जानकारी निमेष भरमै अध्ययन गर्न पाइन्छ अर्कोतिर मानिसहरू आज विविध कामले गर्दा व्यस्त छन् । मनिसलाई कसको कृतिमा के छ भनि खोज तलास गर्नुभन्दा आपूmलाई आवश्यक परेको जानकारी फेसबुक जस्ता सामाजिक सञ्जाल, गुगल, युटुव, अनलाइनबाट जानकारी लिन वा अध्ययन गर्न सक्छन् । त्यसो हुँदा न पाठक घटेका छन् न लेखक नै घटेका छन् बरू लेखकले पाठकलाई दिन खोजेको सन्देश सार भाव बुँदागत रूपमा दिएर लेखको पूर्ण पाठ इन्टरनेट या फेसबुकमार्फत दिन सक्यो भने अवश्य सो सम्बन्धि जानकारी लिन चाहनेले त्यो लेख रचना सहजै पढ्छ र प्रतिक्रिया दिन्छ ।    

तपाईलाई कर्म अनुसारको सम्मान मिलेको छ त समाज/राष्ट्रबाट ? सन्तुष्ट हुनु हुन्छ पुरस्कार /सम्मानबाट ?

मैले गोर्खादक्षिणबाहु चौथोदेखि, त्रिमूर्ति एवार्ड सहित करिब ३ दर्जन संस्थाबाट सम्मान पाएको छु, । जहाँसम्म सन्तुष्टिको कुरा गर्दा म असन्तोष हुन पर्ने कुनै कारण देख्दिन । सन्तोष भन्नु क्षणिक अनुभूति हो । यो दीर्घकालिन हुँदैन । मानिस महत्वाकाङ्क्षी हुन्छ । अझै महत्वाकाङ्क्षा राख्नु स्वभाविक हो ।

साहित्यमा कहिलेसम्म के के गर्ने योजना छ यहाँसित ? समय व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? तपाईँले लेखेका कृतिबाट के कस्ता पक्षलाई फाइदा पुग्यो ?

मस्तिष्क, सास र हातले साथ दिएसम्म लेखन क्रिया रहने छ । साहित्य लेखन प्राय बेलुका ९÷१० बजे र विहानीपख ३÷४ बजेबाट ६ बजेसम्म गर्ने गरेको छु र यस वाहेकका समय घरको साथै सामाजिक सेवामा समय दिने गरेको छु । कृतिबाट फाइदा त एउटा लेखकले समाजलाई सन्देश दिन लेखेको हुन्छ । समाजले फाइदा लियो लिएन भन्ने कुरा अध्ययनकर्तामा नै निर्भर रहन्छ । कृषिका कृतिहरूले किसान, कृषिका प्राविधिक, कृषिका विद्यार्र्थीलाई फाइदा पुग्छ भन्न सकिन्छ ।

अन्त्यमा, केही भन्नु छ ?

आजको समय, परिस्थिति बदलिँदो छ । युवा वर्गले यी परिवर्तनलाई सहजै आत्मसाथ गर्न सक्ने भएकोले परिवर्तित समाज र समयलाई पहिचान गरेर, लेखन कलालाई आधुनिक सुविधालाई उपयोगमा ल्याई नेपाली साहित्यलाई विश्वव्यापी करण गर्दै जानु आवश्यक देखिन्छ । हामी पुरानो परम्परामा बढेका र लेखेकाहरू पनि आधुनिक सुविधालाई सकी नसकी अनुसरण गर्दै परिपक्क हाँकलाई विश्वव्यापीकरणतिर अग्रसर हौं भन्न चाहान्छु र हजुरले यो अन्तरवार्ताको लागि अवसर दिनुभएकोमा धन्यवाद ।



You might also like
Loading...