नदिजन्य पदार्थ उत्खनन अवस्था बुझ्न लेखा समिति अनुगमनमा जाने
बुटवल, १७ फागुन । प्रदेश पाँचको सार्वजनिक लेखा समितिको टोली नदिजन्य पदार्थको अनुगमनका लागि जिल्ला जिल्लामा जाने भएको छ । समितिको शुक्रबार बसेको समितिको बैठकले यहि फागुनको २५ गतेदेखि एक साता भित्र अनुगमन सकेर प्रतिवेदन तयार पार्ने गरी जिल्ला जिल्लामा जानकालागि उपसमिति गठन गरेको हो ।
प्रदेश पाँचका तराईका जिल्लामा नदिजन्य पदार्थको उत्खनन्, स्टक, क्रेसर लिगल ईलिगल, मापदण्ड पुरा भएनभएको अनुगमनकालागि उपसमितिले प्राबिधिकको टोली समेत लिएर जिल्ला जिल्लामा जाने निर्णय गरिएको बैठक पछि समितिका सभापति डिल्लाबहादुर चौधरीले जानकारी दिनुभयो ।
नदिजन्य पदार्थमा व्यापक अनियमितता भएको, जथाभावि उत्खनन् भएको र स्टकको मालमा पनि राजश्व नउठेको गुनासो बढी आएकाले विशेष गरी समितिले पहिलो चरणमा प्रदेशका तराईका ६ जिल्लामा उपसमिति परिचालन गरिएको उहाँले बताउनु भयो । गठित उपसमितिले तराईका ६ जिल्लामा रहेका खोला, घाटगद्धि, क्रेसर कुनैपनि नछुटाईकन अनुगमन गर्ने छ । सभापति चौधरीका अनुसार उक्त समितिले विशेष गरी उत्खनन कानुनी प्रकृया पुरा गरी भएनभएको र राजश्व असुलीको अवस्था के कस्तो छ अध्ययन गर्ने छ ।
प्रदेश पाँचका विशेष गरी तराईका जिल्लामा नदिजन्य पदार्थ उत्खननमा व्यापक अनियमितता भएको समाचार आउनुका साथै प्रदेश सभाको बैठकमा समेत विषयले प्रवेश पाएपछि सार्वजनिक लेखा समितिले सक्रियता बढाएको हो ।
त्यसका लागि सार्वजनिक लेखा समितिले तीन वटा उपसमिति गठन गठरेको छ । जसअनुसार गठन गरिएको उपसमितिमा बाँके र बर्दिया जिल्लाको अनुगमनका लागि विष्णु पन्थी र कुलप्रसाद पोखरेल, दाङ् र कपिलबस्तुकालागि रेवतीरमण शर्मा, गीता थापा, बसिउद्धिन खाँ, कल्पना पाण्डे तथा रुपन्देही नवलपरासीकालागि वैजनाथ कलवार, तिलकराम शर्मा, युवराज खनाल, पार्वती पुन र बिमला पन्थीलाई जिम्मेवारी प्रदान गरिएको छ । लेखा समितिका सभापति चौधरी सम्भव भएसम्म सबैजिल्लाको अनुगमनमा सहभागि हुने बताउनु भयो ।
उपसमितिले अनुगमन गरि अध्ययन प्रतिवेदन तयार गर्ने र सबै समितिका प्रतिवेदन अध्ययन गरेर प्रदेशको पूर्ण प्रतिवेदन तयार गरिने सभापति चौधरीले बताउनु भयो ।