ओली भन्दा प्रचण्ड बाबुराम झन राष्ट्रघातीः थापा

79












नवलपरासी, २० फागुन ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका महासचिव परि थापाले एमाले, राप्रपा, काँग्रेस भन्दा पनि प्रचण्ड र बाबुराम राष्ट्रघाती भएको आरोप लगाएका छन् ।
मेची महाकाली अभियान अन्तरगत उनले सोमबार कावासोतीको भएको सभालाई सम्बोद्धन गर्दै यस्तो बताएका हुन् । उनले दश बर्ष जनयुद्ध लडेर, जनगणतन्त्र, जनजीविकाको सवालका मुद्दाहरु पुरा नगरी बीचमै छाडेर गएर राष्ट्रघात, जनघात गरेको आरोप लगाए ।
नेता परि थापाले सीमा क्षेत्रमा भारतीय पक्षले गरेको अतिक्रमणको विरोध नगर्नु यो सरकारको सबैभन्दा बढी राष्ट्रघाती कदम भएको बताए ।



उनले मोर्चाले अब मेचीमहाकाली अभियान सके लगतै राष्ट्रिय सम्मेलन गरी देशव्यापी रुमा हड्ताल गरेर आन्दोलनमा उत्रने चेतावनी समेत दिए ।
उनले यो सरकारप्रति जनताले धेरै अपेक्षा राखे पनि सरकार जनताप्रति उत्तरदायी भएर काम गर्न नसकेको टिप्पणी पनि गरे ।
यो सरकार झन पछि झन असफल हुँदै गएको टिप्पणी गर्दै नेता परि थापाले सरकारले जनताको पक्षमा भन्दा पनि दलाल, नोकरशाहा, बलात्कारी, भ्रष्ट्राचारी, पूजीपतिको पक्षमा काम गरेको आरोप लगाए ।


कार्यक्रममा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ का संयोजक केशबहादुर परियारले सरकारले गरेको जनविरोधी कदमको, जनतामाथि भएको शोषणको विरुद्ध जनतालाई जागरुक बनाउन अभियान थालेको बताए ।
कार्यक्रम देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल नवलपुरका अध्यक्ष पिताम्बर तिवारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन उत्तम थापाले गरेका थिए । कावासोतीमा भएको कार्यक्रममा बाबुराम पोख्रेलले स्वागत मन्तव्य राखेका थिए ।

त्यसैगरी टोलीले सोमबार कावासोती सहित नवलपुरका पाँच स्थानमा कोण सभा गरेको छ ।
सोमबार विहान दुम्किबास, अरुणखोला, चोरमारा र डण्डामा कोणसभा गरेको हो ।
दुम्किबासमा केन्द्रिय सदस्य निलबहादुर पुन र ईश्वर पोख्रेल, अरुणखोलामा केन्द्रिय सदस्य हिरामणि दुखी, चोरमारामा केन्द्रिय सदस्य अशोक लम्साल अनुकुल र डण्डामा पिताम्बर आचार्यले सम्बोद्धन गरेका थिए ।
सम्बोद्धनका क्रममा नेताहरुले देश भ्रष्टचारको दलदलमा फसेको तर यो सरकार उल्टै भ्रष्टाचारी, दलाली, घुसखोरी, बलात्कारीलाई संरक्षण गर्न लागि परेको आरोप लगाएका थिए ।
मोर्चाले गरेको अभियानको क्रममा स्थानीयहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
यसैबीच देशभक्त जनणतान्त्रिक मोर्चा नेपाल पश्चिम नवलपरासीले अभियानको बारेमा जानकारी गराउने बर्दघाटमा सोमबार पत्रकार सम्मेलन गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै परि थापाले अभियानले आफ्नो पार्टीको पक्षमा जनलहर सिर्जना गरेको दावी गरे । अभियानको २१ गते मंगलबार चितवनमा समापन गरिदै छ ।

 

 



You might also like
Loading...