औद्योगिक क्षेत्र निर्माणको फाइल वन मन्त्रालयमा नै अलपत्र

63












चितवन । चितवनको शक्तिखोरमा बनाउने भनिएको बहुप्रतिष्ठित औद्योगिक क्षेत्र निर्माणको फाइल तीन महिनादेखि वन मन्त्रालयमा नै अलपत्र परेको छ ।
तत्कालीन माओवादी लडाकूको तेस्रो डिभिजन रहेको क्षेत्रलाई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो ।

सो ठाउँको अधिकांश क्षेत्र वन मन्त्रालयअन्तर्गत पर्ने भएकोले पनि औद्योगिक क्षेत्र निर्माणको लागि आनाकानी गर्दै वन मन्त्रालयले फाइल अड्काउने काम गरेको छ । प्रस्तावित औद्योगिक क्षेत्रमा कालिका नगरपालिकाको थाङ्खोलाको करिब ५३ प्रतिशत, उदयपुरको करिब ६२ प्रतिशत र इच्छाकामना तीनकन्याको करिब ८ प्रतिशत वन क्षेत्र ओगट्छ ।


गतवर्षको माघ पहिलो साताबाट विस्तृत परियोजना (डीपीआर) को काम सकेर वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम सुरु गर्ने लक्ष्य राखिएको भए पनि अहिले सम्म कम्पनी छनोट भइसक्दा पनि ईआईएको काम सुरु सम्म हुन सकेको छैन ।

चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले सो क्षेत्रमा धेरै वनको प्रयोग हुने भएकोले वन मन्त्रालयले आनाकानी गरेको बताउनुभयो । औद्योगिक क्षेत्र लिमिटेडले सो क्षेत्रको लालपुर्जा माग गरिरहेको छ तर वन मन्त्रालयले विभिन्न बहानामा आनाकानी गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘वन मन्त्रालयको प्रक्रियाको कारणले गर्दा तीन महिना शिलान्यासमा ढिलाइ भयो ।’ यदि तोकिएकै समयमा काम सकिएको भए अहिलेसम्म औद्योगिक क्षेत्रको शिलान्यास भइसक्ने उहाँले दाबी गर्नुभयो ।

त्यसैगरी कालिका नगरपालिकाका प्रमुख खुमनारायण श्रेष्ठले वन मन्त्रालयले फाइल अड्काएको अनुभव भएको बताउनुभयो । विकासको काम गर्दा कर्मचारीतन्त्रले विभिन्न बाधा र व्यवधानहरु झिक्ने गरेको उनले गुनासो गर्नुभयोे । उहाँले औद्योगिक क्षेत्रको फाइल वन मन्त्रालयमा नै अध्ययनको क्रममा रहेको जानकारी दिनुभयो ।

प्रस्तावित औद्योगिक क्षेत्रको डीपीआरमा कुल क्षेत्रफलको ७२३ बिघामा उद्योग खुल्नेछन् । ३२४ बिघामा व्यावसायिक भवन र ४४६ विघामा हरियाली क्षेत्र रहने उल्लेख छ । ६५ विघामा एक हजार १०४ परिवार बस्न मिल्ने आवासीय भवन निर्माण हुनेछ । ४० र ३० मिटरका सडकहरू निर्माण हुनेछन् ।



You might also like
Loading...