नारायणी नदी र गण्डक ब्यारेजमा पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन


नवलपरासी । नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ ।




नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो ।

अध्ययन अवलोकनपश्चात यस क्षेत्रमा पानीजहाज सञ्चालनको सम्भावना उच्च रहेको नेपाली टोलीका संयोजक एवं जल तथा ऊर्जा आयोग सचिवालयका सहसचिव माधव बेलवासे बताउँछन्।




यहाँबाट भारतको गङ्गा नदी पुग्न करीब ३०० किलोमिटर र त्यसपछि गङ्गा नदीबाट समुद्र सतहसम्म पुग्न करीब ८४० किलोमिटर गरी यस क्षेत्रबाट कूल एक हजार १४० किलोमिटरको दूरीमा समुद्र सतह रहेको छ ।

टोली फर्किएपछि यस क्षेत्रमा समेत पानीजहाज सञ्चालन गर्ने सम्भावनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने टोलीमा सहभागी वाणिज्य आपूर्ति मन्त्रालयका उपसचिव तर्कराज भट्टले जानकारी दिए । नेपालमा पानीजहाज सञ्चालन गर्ने उद्देश्यले जलयातायातअन्तर्गत पहिलो चरणको प्रक्रियामा शुरु भएको टोलीमा सहभागी जल तथा ऊर्जा आयोगको सचिवालयका सिनियर डिभिजन इञ्जिनीयर महेश्वर श्रेष्ठ बताउँछन्।

पानीजहाजलाई नेपाली भूमिमा कत्रो, कसरी र कुन रूपमा ल्याउन सकिन्छ भनेर अध्ययन गर्ने जिम्मेवारी पाएसँगै नेपाल र भारतको संयुक्त टोलीले ‘फिल्ड’मा अवलोकन गरी फर्किएको हो । – रासस 




सम्बन्धित
Loading...