विप्लवको गाउँमा प्रहरीको सर्च अपरेसन,  स्थानीय र विद्यार्थीद्वारा प्रहरीको प्रतिकार

76












कपिलवस्तु, २३ फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको घर रहेको गाउँ कपिलवस्तु शिवगढीमा प्रहरीले सर्च अपरेसन चलाएको छ । सोही क्रममा प्रहरीले नेकपा विप्लव समूहका नेता दुर्गाबहादुर रोकाको घरमा छापा मारेको थियो ।

अवैध हातहतियार राखेको सूचनाका आधारमा प्रहरीले शिवराज नगरपालिका –९ स्थित रोकाको घरमा छापा हानेको हो । बिहीबार विहानै प्रहरी टोलीले घर घेरा हालेपछि विप्लव समूहका नेता रोका भाग्न खोज्दा गोली चलाइएको प्रहरीले जनाएको छ ।


विप्लव नेकपाका स्थानीय नेताहरुले भने कुनै गोली नचलेको जनाएको छ । प्रहरीको गोली लागेर उनी घाइते भएका छन् । खुट्टामा गोली लागेका उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

रोकाको घरबाट एसएमजी राइफल एक थान र त्यसमा लाग्ने म्यागेजिन ३ वटा, चाइनिज पेस्तोल एक थान र म्यागेजिन २ वटा, ४० मिटर तार र एक थान रिमोट बरामद भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले बताए ।

अवैध हातहतियार भएको सूचनाका आधारमा शिवराज नगरपालिका ९ शिवगढीमा बिहीबार विहानै प्रहरी टोली पुगेको थियो ।

त्यस्तै प्रहरीले विप्लवका भतिज यादव चन्दको घरमा छापा मार्न खोज्दा स्थानीयबासीले प्रतिकार गरेका छन् ।

स्थानीयबासीले ढुंगामुढा गर्दा प्रहरी जवान अमर वली र पुतली चौधरी सामान्य घाइते भएका छन् ।  प्रतिकारमा उत्रिएका स्थानीयले स्कूले विद्यार्थी समेत ल्याएकाले आफूहरुले संयमता अपनाएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले पनि शंकापद घरहरुमा निगरानी गरिरहेको छ ।



You might also like
Loading...