अतिक्रमित भूमि सुस्तामा ड्रोन क्यामराबाट भारतको निगरानी; थपिएका घर भत्काउन भारतीय सुरक्षाकर्मीको सुस्ताबासीलाई धम्की

300












श्याम थापा,

नवलपरासी, २३ फागुन । भारतीय सीमा सुरक्षाबल एसएसबीले भारतद्वारा अतिक्रमित भूमि नवलपरासीको सुस्तामा ड्रोन क्यामरा प्रयोग गरेर निगरानी बढाएको छ ।


भारतीय पक्षले अतिक्रमण गरेपछि स्थानीय प्रशासन र स्थानीय बासिन्दाबीच दुवै पक्षले केही पनि नगर्ने भनेर विवादित भनेर छाडिएको भूमिमा आएर उनीहरुले ड्रोन क्यामरा सहित गस्ती गरेर निगरानी बढाएको सुस्ताका स्थानीय बासिन्दाले बताएका छन् । ड्रोन क्यामराको सहायताले निगरानी बढाएपछि सुस्ताका बासिन्दामा त्रास बढेको छ ।

नवलपरासीको मदरबाबामा मेला लागेको बेला सीमामा रहेको नेपाली सशस्त्र प्रहरीहरु समेत मेलाका सुरक्षाका लागि मेला स्थलमा खटिएको मौका छोपेर उनीहरुले गत फागुन १२ गते ड्रोन क्यामराले सुस्ताको नेपाली गाउँमा निगरानी गरेको थियो ।

उक्त दिनदेखि सुस्ताका केही नेपालीलाई भारतीय सीमा सुरक्षाबलका सुरक्षाकर्मीहरुले कहिले फोन मार्फत त कहिले कोही मानिसमार्फत खबर पठाएर धम्काउन थालेका छन् ।

उनीहरु फागुन १२ गते झण्डै दुई घण्टा ड्रोन क्यामरा सहित गस्ती गरेका थिए । सुस्तामा नेपाली सुरक्षाकर्मी नभएको मौका छोपेर उनीहरुले उक्त गस्ती तथा निगरानी गरेको स्थानीय बासिन्दा कमाल चमारले बताए ।

उनले आफ्नो खेतमा जंगली वन्यजन्तुबाट हुने नोक्सानी रोक्न राति कुर्नका लागि बनाएको टहरा समेत भत्काउन लगाएको चमारले बताए ।

जोखिम युक्त क्षेत्रमा किन घर बनाइस भन्दै भत्काउन लगाउँदै कहिले फोनबाट त कहिले मान्छे पठाएर धम्काउने गरेको उनले बताए । बुधबार पनि आफूलाई किन अहिलेसम्म घर नभत्काएको भन्दै धम्की आएको चमारले बताए ।

भारतीय पक्षको अतिक्रमण र ज्यादतिका कारण सुस्ताका बासिन्दा पुरै विस्थापित हुने खतरामा छन् ।

भारतीय सुरक्षाकर्मीहरु पोशकमै आएर ड्रोन क्यामरा उडाएर निगरानी गरेको आफूलाई जानकारी आएका तर आफूहरु पछि त्यहाँ जाँदा उनीहरुलाई नभेटेको सशस्त्र प्रहरी बोडर आउट पोष्ट सुस्ताका सशस्त्र प्रहरी निरीक्षक विष्णु सोमरेले बताए ।

सोमरेका अनुसार अधिकांश सुरक्षाकर्मी उक्त समय मदरबाबा मेलाको सुरक्षाका लागि खटिएका थिए । ३÷४ वटा जीप र कारमा आएका उनीहरुले २ घण्टा लगाएर ड्रोन क्यामरा उडाई सुस्ताको नेपाली वस्तीको निगरानी गरी विभिन्न सूचनाहरु तयार पारेको हुन सक्ने स्थानीयले अनुमान लगाएका छन् ।

चमारले भने – अहिले मलाई आफ्नै बारीमा त्यो पनि विवादित नभनिएको भूमिमा राति जंगली जनवार धपाउनका लागि बस्न बनाएको टहरा भत्काउन लगाएको छ भोलि कुन कुन बाहानामा धम्कि दिने हो थाहा छैन ।

भारतीय पक्षले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

 

 

 



You might also like
Loading...