भरतपुरमा मेयर र उपमेयरको शीतयुद्ध !


चितवन, फागुन २३-




कुनै बेला दिदीबहिनी जस्तै गरी चुनावी मैदानमा उत्रिएका भरतपुरकी मेयर रेनु दाहाल र उपमेयर पार्वती शाह अहिले व्यक्तिगत आरोप–प्रत्यारोपको शीतयुद्धमा उत्रिएपछि चितवनका आमनागरिक आश्चर्यमा परेका छन् ।

राजनीतिमा कोही पनि स्थायी शत्रु र मित्र हुँदैन भने झै कुनै बेलाका असल मित्र बनेका उनीहरु अहिले सबैजस्तो खतरनायक शत्रु जस्तो गरी एकले अर्काेलाई टिप्पणी गर्न थालेका छन् । उपमेयर शाहले काठमाडौँमा पत्रकार सम्मेलन गरेर मेयरले महानगरमा लापरवाही गरेको, बिदामा बस्दा कार्यवाहक नदिएको, महानगरमा लेखा समिति गठन नगरेको,  फेसबुक म्यासेन्जरमा नेकपाका कार्यकर्ताहरुले धम्की दिएको भन्ने जस्ता आरोप लगाएकी थिइन् । त्यस्तै मेयर दाहालले महानगरमा नै पत्रकार सम्मेलन गरेर उपमेयर शाहको आरोपको स्पष्टिकरण दिइन् । उनले आफ्नो भतिजीलाई जागिर खुवाउन खोज्दा मैले अस्वीकार गर्दा ममाथि उनी खनिएको भन्ने आरोप लगाएकी छन् । दुवैले झिनामसिना विषयलाई लिएर पत्रकार सम्मेलन गर्नुले महानगरको दीर्घकालिन विकास निर्माणमा असर पु¥याउने विज्ञहरुको टिप्पणी छ ।


नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले यसरी सतहमा नै देखिने गरी विवादमा फस्नु राम्रो नभएको बताए । उनले भने, ‘ विकासको मुद्दामा कांग्रेसले पनि सहमति रहन्छ तर मेयरले पनि उपमेयरलाई मिलाएर लैजान सक्नुपर्छ ।’ आपसी टकराव भन्दा पनि एकले अर्काेको सम्मान गरेर अगाडि बढेमा राम्रो हुने उनले विचार राखे ।

त्यस्तै चितवनका अर्का राजनीतिक विश्लेषक विनोदखण्ड तिमिल्सिनाले झिनामसिना कुरामा दुवैले पत्रकार सम्मेलन नै गर्नु केटाकेटी कुरा भएको बताए । उनले महानगरको शाख र गरिमाको लागि पनि यस्ता विषय मिडियामा ल्याउनु भन्दा आपसी छलफल र अन्तरक्रियामा टुंग्याउनुपर्ने विचार राखे  । उनले कोठाभित्र बसेर जति चर्काचर्की गर्दा पनि हुन्छ तर बाहिर ल्याउनु नै गलत भएको विचार राखे । उनले भने, ‘यसप्रकारले मेयर र उपमेयर मिडियाको माझमा आरोप प्रत्यारोपमा उत्रनु आफैमा केटाकेटी र तल्लो स्तरको काम हो ।’

त्यसैगरी महानगरको शैक्षिक योजना बनाउँदै आएका शिक्षाविद्ध रमाकान्त सापकोटाले मेयर र उपमेयर अहिले जुनकुनै राजनीतिक दलमा आवद्ध भए पनि उनीहरु दुवै जना भरतपुरमा सत्ता पक्षको प्रतिनिधित्व गर्ने भएकोले दुवैको महानगरका नागरिकप्रति बराबर जिम्मेवारी रहेको बताए । उनले यसरी दुवैजना जनप्रतिनिधि बीचमा देखिएको विश्वासको संकट र टकरावले महानगरका नागरिकलाई नै बढी घाटा हुने विचार राखे । शिक्षाविद्ध सापकोटाले भने, ‘ फरक फरक पत्रकार सम्मेलन गरेर एकले अर्काेप्रति गालीगलौजमा उत्रनुले जनताको माझमा सन्देश राम्रो जादैन । ’ उनीहरुको भाषाले नगरका विकास निर्माणभन्दा पनि व्यक्तिगत, चाहना र स्वार्थमा उनीहरुको बढी ध्यान गएको भन्ने नागरिकले विश्लेषण गर्ने  सापकोटाको विचार छ ।  – नारायणी अनलाईनबाट




सम्बन्धित
Loading...