धार्मिक पर्यटकको रोजाइमा ‘गजेन्द्रमोक्ष धाम’

195












नवलपरासी, २३ फागुन । नवलपरासीस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गजेन्द्रमोक्ष धाम पछिल्लो समय धार्मिक पर्यटकको रोजाइमा पर्न थालेको छ । त्रिवेणीधामको रुपमा समेत परिचित यस तीर्थस्थलमा पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्दो छ ।

पौरााणिक महत्व बोकेको यस धाममा अहिले दैनिक तीन हजार बढी आन्तरिक तथा बाह्य पर्यटक अवलोकन, पूजापाठ तथा स्नान गर्न आउने गरेको गजेन्द्रमोक्ष दिव्यधाम ट्रष्टले जनाएको छ । नेपालको हरिद्वार भनेर चिनिने यो स्थल पवित्र तीर्थस्थल हो । नारायणी, स्वर्णभद्र, पूर्णभद्र नदी मिलेर बनेको त्रिवेणीको हिन्दूधर्ममा ठूलो महत्व छ ।


केही वर्ष अघिसम्म यस स्थानमा दैनिक एक÷दुई सयको सङ्ख्यामा मात्र पयर्टक आउने गरेकोमा पछिल्लो वर्ष यहाँ धार्मिक पर्यटकको आगमन बाक्लिन थालेको धामका पीठाधीश्वर एवं मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयन आचार्यका उत्तराधिकारी स्वामी कृष्ण प्रपन्नाचार्यले बताउनुभयो ।

गजेन्द्रमोक्ष धाममा आउने अधिकांश पर्यटक भने भारतका हुन्छन् । उहाँका अनुसार यहाँ आउने ७० प्रतिशत पर्यटक भारतबाट आउने गरेका छन् । त्रिवेणीधाममा धार्मिक पर्यटक वृद्धि भएसँगै यहाँका होटल व्यवसाय फष्टाउन थालेका छन् भने स्थानीयवासी पनि उत्साही भएका छन् ।

छ बिघा क्षेत्रफलमा फैलिएको गजेन्द्र मोक्षधाम क्षेत्रमा अहिले गजेन्द्रमोक्ष नारायण मन्दिर, सिसमहलसहित हवन कुण्ड, धर्मशाला, गौशाला तथा गुरुकूल पाठशाला पनि रहेको छ । धार्मिक पर्यटनको केन्द्रबिन्दुको रुपमा स्थापित गर्न पछिल्लो समय यहाँ करीब एक अर्ब बढीको भौतिक संरचना निर्माण गरिएको ट्रष्टले जनाएको छ ।

यस क्षेत्रमा दैनिक दश हजार बढी पर्यटक भित्र्याउने गरी धामको प्रवद्र्धन, विकास र पूर्वाधार निर्माणमा लागिरहेको ट्रष्टका अध्यक्ष कृष्णप्रसाद शर्मा बताउनुहुन्छ । स्वामी कमलनयन आचार्यको सत्सङ्कल्पमा हालै गजेन्द्रमोक्ष नारायण मन्दिर निर्माण गरिएको छ ।

छ वर्षअघि १५५ जना संस्थापक सदस्यबाट शिलान्यास भई निर्माण गरिएको उक्त मन्दिरको आइतबार स्वामी कमलनयन आचार्यसहित ५५५ जना संस्थापक सदस्यले सामूहिक रुपमा उद्घाटन गर्नुभयो ।

रु २६ करोडको लागतमा निर्माण भएको उक्त मन्दिरको भित्री भाग दक्षिण भारतको कलाकारिताबाट कलात्मक शैलीमा निर्माण गरिएको छ भने बाहिरी भाग परम्परागत पेगोडा शैलीमा निर्माण गरिएको छ ।



You might also like
Loading...