कावासोती १ को वडा कार्यालयमा तालाबन्दी पछि सेवाग्राही मारमा


प्रेमध्वज गाहा,
नवलपरासी, २४ फागुन ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा कार्यालय सार्ने कि नसार्ने भन्ने विवादका कारण वडा कार्यालयमा लगाइएको ताला ४ दिनसम्म नखुल्दा सेवाग्राही मारमा परेका छन् ।





कार्यालयमा ताला लागेपछि वडा कार्यालयबाट हुने सेवा ठप्प छ । वडा कार्यालय चाँडै सुचारु गर्न अर्का थरीले दबाब दिन थालेका छन् ।
हाल कार्यालय रहेको झरना चोकबाट कार्यालय सार्नका लागि बनाइएको भवनमा तत्काल वडा कार्यालय सार्न माग गर्दै कोइलापानीका बासिन्दाहरुले गत मंगलबार कागजपत्रहरु बोकेर लगेपछि त्यसको विरोध गर्दै हाल कार्यालय रहेको क्षेत्रका बासिन्दाहरुले कार्यालयमा तालाबन्दी गरिदिएका हुन् ।
यसरी कार्यालय बन्द भएपछि दैनिक सेवा पाउन नसक्दा आफुहरु अत्यन्त मर्कामा परेको स्थानीय पार्बती तिवारीले बताए ।
अहिले वडा कार्यालय झरना चोकमा भाडाको घरमा रहेको छ भने नगरपालिका र वडा कार्यालयले कार्यालय सार्नकै लागि भनेर कोइलापानीमा झण्डै १६ लाखको लागतमा चार कोठे ट्रष्ट भवन बनाएको छ । उक्त भवनमा पानी, विजुली जडान लगायतका कार्यहरु भने बाँकी रहेको वडा अध्यक्ष नारायण पन्तले बताए ।
वडा कार्यालय सबैको पायक पर्ने ठाउंमा रहनुपर्ने माग सबै जसो स्थानीयहरुको छ । तर सहमती र छलफलको क्रम चल्दै गर्दा एक्कासी सामान उठाएर लगेका कारण हाल वडा कार्यालय नजिक रहेका बासिन्दा आक्रोसित भएको स्थानीय भिमलाल डुम्रेले बताए ।
उता कोइलापानीमा कार्यालय सार्नुपर्छ भन्ने मत राख्ने मध्ये एकजना स्थानीय दर्शन भट्टराई भने सहमतिको पालना नभएकाले आक्रोशित बासिन्दाले कार्यालयको सामान उठाएको बताए । सबै दृश्टिकोणले कोइलापानीमै वडा कार्यालय राख्नु उचित हुने उनको तर्क छ ।
अहिले वडाका कर्मचारीहरुका सामग्री र कार्यालयका केही कागजपत्र कोइलापानीमा रहेको छ भने वडाध्यक्षको टेलब कुर्ची लगायतका वडाअध्यक्षको कार्याकक्षमा रहेको कागजात भने हाल कार्यालय रहेको स्थानमा रहेको छ । जसले गर्दा वडा कार्यालय एकाएक दुई स्थानमा विभाजन भएको छ ।
यो विवादलाई विवादकै रुपमा राख्नु भन्दा छलफलको माध्यमबाट टुग्याएर छिटो सेवा सुचारु गर्नु पर्ने कावासोती १ का बासिन्दा आनन्द भुसालले बताए ।
नगरपालिकाले वडा कार्यालयमा लागेको ताला खुलाउन र स्थानीयबीचको विवाद सहमतिमा ल्याउनका लागि पहल थालेको वडा अध्यक्ष पन्तले बताए । पन्तका अनुसार एक चरण नगरप्रमुख उपप्रमुख सहित स्थानीयसँग छलफल गरिएको छ ।
पन्तले कार्यालयका लागि बनाइएको भवनमा कार्यालय जाने विषय विवाद नरहे पनि सामग्री लैजाने शैली भने गलत भएको बताए । उनले भने – नगरपालिकाले निर्णय गरेर आदेश गरेपछि मात्रै वडा कार्यालय सर्छ ।
पन्तका अनुसार वडाबासीको आपसी छलफल र सहमतिका आधारमा पछि वडा कार्यालयहरुमा विषयगत कार्यालयहरु आउँदा हाल बनेको भवन पनि अपुग हुने भएकोले सोही अनुसारको कार्यालय वडा भित्र अनेत्र स्थानमा पनि रहने गरी स्थानीयसँग छलफल भईरहेको पनि उनले बताए ।
संघीयतामा गएपछिको नयाँ प्रावधान अनुसार वडाहरुमा वाड कार्यालय मातहत रहने गरी कम्तिमा पनि १०, १२ वटा कार्यालय रहने सक्ने व्यवस्था हुने छ । वडा अध्यक्ष पन्तले भने अहिले भवन निर्माण भएको ठाउँमा पनि कार्यालय रहने छ र विषयगत समितिको कार्यालयहरु आए पछि त्यसका लागि पनि वडाबासीहरुलाई पायक पर्ने उपयुक्त स्थान खोजेर अनेत्र पनि केही कार्यालयहरु राखिने छन् ।




सम्बन्धित
Loading...