सेनालाई ज्यामी बनाउने कर्णेलमाथि छानबिन
नारायण शर्मा
नवलपरासी — निजी घरको पर्खाल लगाउन नेपाली सेनाका जवान प्रयोग गरेका बहालवाला कर्णेलमाथि कारबाही थालिएको छ । निजी काममा सेनालाई ज्यामी बनाएर अख्तियार दुरुपयोग गरेको भन्दै उनीमाथि सैनिक मुख्यालयले छानबिन थालेको हो । गैंडाकोट नगरपालिका २ स्थित प्रगती टोलमा रहेको कर्णल रविन्द्र लुइँटेलले आफ्नो १२ आना जग्गामा पर्खाल लगाउन ५८ सैनिक जवानलाई काममा लगाएका थिए ।
सैनिक प्रवक्ता यम ढकालले कर्णेल लुइँटेलले घरायसी काममा सेना खटाएको बारेमा वन तथा पर्यावरण निर्देशनालय र सेनाको शिकायत जाँच कार्यालयबाट अनुसन्धान भइरहेको जानकारी दिए । दोषी प्रमाणित भएमा सेनाको नियमावलीअनुसार कारबाही गर्ने उनले बताए । सेनालाई निजी काममा लगाउनु सैनिक ऐनविपरीत हो ।