गण्डकी मेडिकल कलेज ठगी धन्दामा सरकार मौन

109












काठमाडौं । पोखरास्थित गण्डकी मेडिकल कलेजका सञ्चालकसहित १० जनाविरुद्ध ठगी, फौजदारी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता भएको छ । कलेजले करोडौं रुपैयाँ ठगेको विषय सार्वजनिक हुँदा पनि स्थानीय प्रशासन, सम्बन्धित निकाय र सरकारले यसप्रति चासो नदेखाएपछि कलेजमा अध्ययनरत ठगिएका विद्यार्थी चिन्तित भएका छन् ।

गण्डकी मेडिकल कलेजले विद्यार्थीबाट झन्डै १ अर्ब रुपैयाँभन्दा बढी रकम असुल गरेको आरोप लागे पनि सरकारले यसको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्नेसम्बन्धी कुनै पनि प्रक्रिया अगाडि बढाउन नसकेकाले सरकारको चर्को आलोचना विद्यार्थीले गरेका छन् ।
मन्त्रिपरिषद्ले एमबीबीएसका लागि उपत्यकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र उपत्यका बाहिरका कलेजलाई ४२ लाख ५० हजार रुपैयाँ निर्धारण गरेको थियो । तर, सो कलेजले निर्धारण गरेको शुल्कभन्दा प्रतिविद्यार्थी ५ लाखदेखि ३० लाख रुपैयाँसम्म बढी रकम असुल गरेको स्रोतको दाबी छ ।


शुल्ककै विषयलाई लिएर एमबीबीएस तेस्रो वर्षका ८६ विद्यार्थीहरूले परीक्षामा समेत दिन पाएनन् । एमबीबीएस तेस्रो वर्षका लागि गत १२ फागुनदेखि २४ सम्म परीक्षाको समयसीमा तोकिएको थियो । निर्धारण गरिएको मापदण्डभन्दा बढी शुल्क असुल गरेको भन्दै कलेजमा अध्ययनरत विद्यार्थीले कलेज सञ्चालकसहित १० जनाविरुद्ध ठगी तथा फौजदारी मुद्दा हालेका छन् । विद्यार्थी अनित सिन्हाका अनुसार कलेजका सञ्चालक खुमा अर्याल, कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल, परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मा, प्राध्यापक रवीन्द्रप्रसाद श्रेष्ठ, प्रशासकीय अधिकृत कृष्ण घिमिरेविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

यस्तै, कलेजका फाइनान्स कन्ट्रोलर युवराज शर्मा, स्टोरकिपर कृष्ण पौडेल, लेखा शाखाका हरिमाया ढुंगाना, तिलक पौडेल, दिनेश पौडेलविरुद्ध उजुरी दर्ता भएको बताइएको छ ।

ठगी मुद्दा हेर्ने अधिकार स्थानीय प्रशासनको भएकाले कलेजका प्रमुख कार्यकारी अधिकृत सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनीयाँले बताए । उनले भने, ‘मन्त्रिपरिषद्ले शुल्क निर्धारण गरेकाले शुल्कका सन्दर्भमा हामीले अर्को छुट्टै निर्णय गरेका छैनौं । हाम्रो तर्फबाट पनि अनुसन्धानलाई अघि बढाएका छौं । ’

डाक्टर बन्ने सपना बोकेर एमबीबीएसमा भर्ना भए पनि कलेजले ठग्दा निकै समस्यामा परेको पीडित विद्यार्थी परिवर्तन भाटले बताए । उनले भने, ‘हाम्रो भविष्यमाथि कलेजले खेलबाड गरेको छ । ठगी गर्नेलाई बर्खास्त र पठनपाठन नियमित हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङका अनुसार उजुरी परेकालाई पक्राउ गर्ने पुर्जी जारी गरिएको छ । – राजधानी दैनिक



You might also like
Loading...