प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन – चिनिया प्रधानमन्त्री

111












चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताएका छन् ।
उनले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने पनि प्रतिबद्धता व्यक्त गरे।

वासिङ्टन र युरोपसँग प्रविधि, बजारको पहुँच तथा अरु विवादित विषयमा जारी तनाव कम गर्न चीनले उच्च नेतृत्वबाटै प्रयास गरिरहेको छ ।
बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री खछ्याङले भने “चीनले कसैप्रति भेदभाव राख्दैन । हामी त्यस्तो काम गर्दैनौं र भविष्यमा पनि गर्ने छैनौं ।” पश्चिमा मुलुकको सुरक्षा चासोलाई सम्बोधन गर्न उच्चस्तरीय प्रयासकै कडीका रुपमा प्रधानमन्त्री खछ्याङको यस्तो भनाई आएको हो ।
संयुक्तराज्य अमेरिका, अस्ट्रेलिया र अरु केही मुलुकले हुवावे समेतका चिनीया फर्मका प्रविधि आफ्नो देशमा प्रयोगमा निषेध गरेका छन् । यी कदमले हुवावेको बजार विस्तारमा ठूलो दबाब सिर्जना भएको छ । हुवावेले पछिल्लो समय पाँचौं पुस्ताको दूरसंचार प्रविधि सार्वजनिक गर्न अर्बौं डलर लगानी पनि गरिसकेको छ ।
हुवावेले पनि चीन सरकारका निम्ति जासुसी गरेको भन्ने पश्चिमा मुलुकको आरोपको पटकपटक खण्डन गरिसकेको छ । हुवावेका संस्थापकले पनि विदेशी ग्राहकका गोपनीय कुराहरु चीन सरकारलाई उपलब्ध नगराइने प्रतिबद्धता व्यक्त गरेका छन् । चीनले पनि व्यापार वार्ता निकै सकारात्मक रहेको र चाँडै निष्कर्षमा पुग्ने चिनिया समाचार संस्था सिन्ह्वाले चिनिया अधिकारीहरुको भनाई उद्धृत गर्दै उल्लेख गरेको छ ।




You might also like
Loading...