राष्ट्रपति र प्रधानमन्त्रीद्वारा होलीको शुभकामना

69












काठमाडौं।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले फागु पूर्णिमा (होली) पर्वको शुभकामना दिँदै सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउ पुगोस् भन्ने कामना गरेका छन् ।

राष्ट्रपति भण्डारीले फागु पूर्णिमा (होली)का अवसरमा शुभकामना दिँदै सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गर्दै यस पर्वले सबैमा नयाँ उमंग र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेकी छन् ।


राष्ट्रपतिको सन्देशमा नेपालको मौलिक पहिचान स्थापित गराउँदै सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक समृद्धि हासिल गर्न टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । होलीजस्ता पर्वले संस्कृति संरक्षण र प्रवद्र्धनमा सकारात्मक भूमिका निर्वाह गर्नेमा राष्ट्रपतिले विश्वास गरेकी छन् ।

यसैबीच प्रधानमन्त्री ओलीले आपसी वैमनस्यता र असमझदारी बिर्सेर समृद्धि र विकासको मार्गमा सरकारसँगै अघि बढ्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन् ।

फागु पूर्णिमाका अवसरमा मंगलबार शुभकामना व्यक्त गर्दै उनले नेपाल आर्थिक सामाजिक रूपान्तरणमा द्रुत रूपमा अघि बढेको बताए । ‘देश द्रूतगतिमा आर्थिक सामाजिक रूपान्तरणको दिशामा अग्रसर भइरहेका बेला हामी सम्पूर्ण नेपाली अझ बढी एकताबद्ध हुन जरुरी छ,’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख गरिएको छ ।

 



You might also like
Loading...