नवलपुरमा कृषि ज्ञान केन्द्र नहुँदा किसान समस्यामा


नवलपरासी, ६ चैत्र । कान्छो जिल्लाको रुपमा बनेको नवलपुर जिल्लामा कृषि ज्ञान केन्द्र नहुँदा किसानहरु समस्यामा परेका छन् ।
देश संघीयतामा गएपछि नयाँ संरचना अनुसार जिल्ला कृषि विकास कार्यालय विगठन भएको र स्थानीय तहमा कृृषि शाखाको व्यवस्था गरिएको छ । तथापि कृषि शाखामा नगरपालिका तथा गाउँपालिकाले व्यवस्थापन गर्नु पर्ने प्रावधान भए पनि त्यसो नगर्दा किसानहरु समस्यामा परेका हुन् ।
नयाँ प्रावधान अनुसार स्थानीय सरकारको मातहत रहने गरी कृषि शाखा र प्रदेश सरकार मातहत रहने गरी कृषि ज्ञान केन्द्र रहने प्रावधान छ ।
गण्डकी प्रदेश सरकार अन्तरगत ११ वटा जिल्ला रहे पनि गोर्खा जिल्ला बाहेक अन्य जिल्लामा एउटा कार्यालयले दुई वटा जिल्ला हेर्ने गरी कृषि ज्ञान केन्द्र राखिएको छ ।
नवलपुर र तनहू हेर्ने गरी तनहुँमा ज्ञान केन्द्र राखिएको छ । तनहुँको दमौलीमा राखिएको ज्ञान केन्द्र नवलपुर जिल्लाका लागि टाढा भएकोले नवलपुरमै ज्ञान केन्द्र स्थापनाका लागि संघीय सरकार र प्रदेश सरकारसँग माग गर्न जाने तयारी गरेको कावासोती तरकारी तथा फलफूल उत्पादक सहकारी संस्थाका अध्यक्ष लेखनाथ बस्यालले बताए ।
कृषि ज्ञान केन्द्र दमौलीका कार्यालय प्रमुख तेजप्रसाद दवाडीले गण्डकी प्रदेश अन्तरगत ११ जिल्लाका लागि ६ वटा ज्ञान केन्द्र रहेको र नवलपुर जिल्ला र तनहुँ हेर्ने गरी दमौलीमा एउटा ज्ञान केन्द्र खोलिएको बताए ।
उनले ज्ञान केन्द्रले सोझै किसानहरुसँग पहिलोको जिल्ला कृषि विकास कार्यालयले झै काम नगरी प्रदेश सरकार मातहत रही कृषि अनुसन्धानका क्षेत्रमा ज्ञान केन्द्रमा काम गर्ने गरेको बताए ।
उनले प्रदेश सरकारले नयाँ निर्णय गरे जिल्ला जिल्लामा ज्ञान केन्द्र रहने सक्ने पनि बताए ।







सम्बन्धित
Loading...