आजबाट एसइई परीक्षा शुरु हुँदै, चार लाख ७५ परीक्षार्थी सहभागी हुँदै


यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आज आइतबारबाट शुरु हुँदैछ । आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।




परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार भोलिबाट शुरु भई आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षार्थीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा रहेका छन् । परीक्षा नियन्त्रक अधिकारीले परीक्षामा सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६०२ परीक्षार्थी सहभागी हँुदैछन् । त्यसैगरी सबैभन्दा कम कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थी सहभागी हुँदैछन् ।




त्यस्तै प्रदेश नं १ बाट ८३ हजार ८१८, प्रदेश नं २ बाट ७० हजार ५१८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९७२ परीक्षार्थी सामेल हुनेछन् । परीक्षामा देशभर एक हजार ९६९ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने एक हजार ९६९ केन्द्राध्यक्ष, तीन हजार १६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५३५ सुरक्षाकर्मी परिचालित हुनेछन् भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

मुलुक सङ्घीयतामा गएपछि पहिलोपटक एसइई परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन, उत्तरपुस्तिका खरीदलगायतका सम्पूर्ण काम प्रदेश सरकारले गर्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले बताउनुभयो ।

उहाँले यो वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको जानकारी दिँदै परीक्षा बोर्डले प्रश्नपत्र छपाई, उत्तरपुस्तिका परीक्षण र परीक्षाफल प्रकाशन गर्ने बताउनुभयो । परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यस वर्ष प्रदेश सरकारले गर्नेछ भने प्रदेश सरकारले तत्काल परीक्षाफल प्रकाशित गर्न नसक्ने भएकाले यसको जिम्मेवारी भने बोर्डले लिएको उहाँले जानकारी दिनुभयो ।

परीक्षा व्यवस्थापन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । गतवर्ष चार प्रकारका प्रश्न सोधिएको थियो । यस वर्ष प्रदेशअनुसार प्रश्नपत्र छपाई गरिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो । परीक्षामा साधारणतर्फको अनिवार्य छ विषयका फरक–फरक प्रश्नपत्र बनाइएको र प्राविधिक तथा संस्कृततर्फ सबै प्रदेशमा एकै प्रकारका प्रश्नपत्र बनाइएको छ ।

नवलपरासीबाट १२ हजार बढी परीक्षार्थी सहभागी हुँदै

यस बर्षको एसईई परीक्षामा नवलपुरबाट एक सय ३३ वटा विद्यालयका ६ हजार ६ सय ७० जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
नियमित तर्फ ६ हजार ६ सय २७ जना र एक्जाम्टेडतर्फका ४३ जना गरी ६ हजार ६ सय ७० जना परीक्षार्थी नवलपरासी बर्दघाट सुस्ता पूर्व (नवलपुर) बाट एसईई परीक्षामा सहभागी हुने छन् ।
परीक्षामा नवलपुरबाट ८४ वटा सामुदायिक विद्यालय र निजी तथा संस्थागत ४९ गरी १ सय ३३ जटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुँदै छन् ।
त्यसैगरी ५ वटा टेक्निकल विद्यालय र एउटा खुल्ला विद्यालयका विद्यार्थीहरु पनि नवलपुरबाट यस बर्षको एसईई परीक्षामा सहभागी हुँदै छन् ।
परीक्षाका लागि नवलपुरमा अघिल्लो बर्ष झै साविककै विद्यार्थीहरुलाई परीक्षा केन्द्र निर्धारण गरी २४ वटा विद्यालयहरुमा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यसैगरी पश्चिम नवलपरासीमा यस बर्षको एसईई परीक्षामा ५ हजार सात सय १४ जना परीक्षार्थी परीक्षामा सहभागी हुने भएको शिक्षा तथा समन्वय ईकाई कार्यालय पश्चिम नवलपरासीका उपसचिव चेतनशील लम्सालले बताए ।


पश्चिम नवलपरासीमा एसईई परीक्षाका लागि १८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। पश्चिम नवलपरासीबाट ५८ वटा सामुदायिक र ५८ वटा संस्थागत तथा निजी गरी १ सय १६ वटा विद्यालयका विद्यार्थीहरु परीक्षामा सहभागी हुँदैछन् ।
यस बर्षको एसईई परीक्षा चैत्र १० गतेबाट शुरु भई सामान्यतर्फका चैत्र १८ गते सकिने छ भने प्राविधिकतर्फको चैत्र २१ गते सकिने छ।




सम्बन्धित
Loading...