नवलपरासीमा भुकम्प पीडित १२ सय बढीको घर बनाउन रकम नपाएको गुनासो गरेपछि अनुमगन शुरु

117












रामकुमार श्रेष्ठ
नवलपरासी, १५ चेत्र । नवलपरासीमा १२ सय भन्दा बढी घरधुरीले आफ्नो घर महाभुकम्पले भत्काएको तर सरकारी तथ्यांकमा नआएको गुनासो गरेपछि शुक्रबारबाट अनुगमन शुरु गरिएको छ ।
नवलपरासीमा यस अघि ७८० घर भुकम्पबाट पूर्ण क्षति भएको प्रमाणित भई घर निर्माणका लागि ३ किस्तामा रकम उपलब्ध गराइए पनि त्यो भन्दा झण्डै डेढ गुणा बढीले भुकम्प प्रभावितमा आफूहरुको नाम नपरेको भन्दै गुनासो गरेका हुन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कावासोतीका प्रमुख राजेन्द्र कार्कीले अहिलेसम्म १२ सय भन्दा बढीको गुनासो आएको र करिब १५ सय गुनासो पर्ने अनुमान गरिएको छ । शुक्रबार कावासोती नगरपालिका १ मा रहेको नरेन्द्र राना मगरको घरबाट सर्वेक्षण शुरु गरिएको हो ।
नवलपरासीमा रहेको १५ स्थानीय तह मध्ये नवलपुरमा रहेका ८ वटै स्थानीय तहबाट गुनासो परेको छ भने पश्चिम नवलपरासीका दुई वटा स्थानीय तह गरी १० वटा स्थानीय तहबाट भुकम्प प्रभावित भए पनि आफूहरु सूचीमा नपरेको भन्दै गुनासो गरिएको हो ।
अनुगमन टोलीमा कार्यालय प्रमुख सहित, इन्जिनियर, प्राविधिक, सम्बन्धित वडाका वडाध्यक्ष, एकाघर छिमिकी सहितको रहने छ । टोलीले अनुगमन पछि भुकम्प प्रभावित भएको प्रमाणित गरे असार मसान्तबाट घर बनाउनका लागि पहिलो किस्ता पाउने छन् भने घर बनाइसकेको भए एकमुष्ठ ३ लाख पाउने प्रमखु कार्कीले बताए । कतिपयले भुकम्प प्रभावितहरुले लाभग्राहीमा नाम छुटेपछि आफैले घर बनाएर बसीसकेका छन् ।



कावासोती १ का नरेन्द्र राना मगरको घर अनुगमन गरेपछि टोलीले अतिजोखिमको सूचीमा उनको घरलाई राखेको छ । नरेन्द्र दम्पतिले आफूहरुले कहाँबाट रकम लिने कहाँ नाम टिपाउने केही जानकारी नभएका कारण आफू छुटेको बताए । उनले भुकम्पले भत्काएको घर अगाडि नै आफन्तसँग सरसापट गरेर सानो घर बनाएको बताए ।
जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कावासोतीका प्रमुख राजेन्द्र कार्कीका अनुसार अघिल्लो चरणमा नवलपरासीमा भुकम्प प्रभावित भनेर प्रमाणित भएर सम्झौता गर्न आएका ८ सय ७० घरपरिवार मध्ये ८ सय ७० घरले नै पहिलो किस्ता लगिसकेको छन् भने ७ सय ६० घरले दोस्रो किस्ता रकम लगेका छन् ।


त्यसैगरी पूर्वी र पश्चिम नवलपरासी गरी नवलपरासीका ४ सय ६८ घर भुकम्प पीडितले नयाँ घर पुननिर्माणका लागि तेस्रो किस्ता रकम लिएका छन् ।
सरकारले भुकम्प प्रभावितहरुलाई निजी आवास अर्थात घर पुननिर्माणका लागि प्रतिपरिवार ३ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ ।
२०७२ बैशाख १२ गतेको महाभुकम्पबाट घरबास उठिबास भएका तर सरकारले आफूहरुलाई भुकम्प प्रभावित भनेर सूचीमा राख्न छुटाएको गुनासो व्यापक आएपछि सरकारले चैत्र १५ गते अर्थात शुक्रबारबाट देशभर गुनासो गर्नेहरु माथि सर्वेक्षण शुरु गरेको हो । छुटेका भुकम्पप्रभावितहरुले अझै पनि सम्बन्धित स्थानीय तहको सिफारिसमा आफू छुटेको भनेर केही दिन गुनासो गर्न पाउने छन् ।



You might also like
Loading...