राष्ट्रपति र प्रधानमन्त्रीको फोटो दुरुपयोग गर्ने रुपन्देही र पाल्पाका दुई जना पक्राउ
राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने गरी सामाजिक सञ्जालमा फोटो पोस्ट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारी सामाजिक सञ्जालमा पोस्ट गर्ने दुईजनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा पाल्पा परान्दी गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाबिस-८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन्। गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमीबाट र पन्थीलाई चैत १३ गते चितवनबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
पक्राउ परेकाहरूले ‘राष्ट्रपति र प्रधानमन्त्रीको मानमर्दन हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्विर सामाजिक संजालमा पोस्ट गरेको’ प्रहरीले जनाएको छ।
दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।