आफैं एसईईका परीक्षार्थी थिए प्रश्नपत्र चोर्ने प्रहरी

38








राजविराज : माध्यमिक शिक्षा परीक्षा (एसईई) का ७० हजार ५६८ विद्यार्थीलाई प्रभावित पार्ने गरी प्रश्नपत्र बाहिर ल्याउने कार्य प्रदेश २ को सिरहास्थित इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहाबाट बाहिरिएको अनुसन्धानबाट खुलेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गर्दै एसईई परीक्षाको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिर ल्याउने कार्य इलाका प्रहरी कार्यालय, कल्याणपुर, सिरहामा कार्यरत दुई जना प्रहरी नै पहिलो दोषी रहेको जनाएको छ।


इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा राखिएको प्रश्नपत्र सोही कार्यालयमा कार्यरत प्रहरीहरू राजविराज १० का २२ वर्षीय ब्रह्मदेव सुनरैत यादव र कञ्चनरुप ६ का २५ वर्षीय दीपेन्द्रकुमार मण्डलले परीक्षाअगावै लिक गरेको सीआईबीको अनुसन्धानमा खुलेको हो। घटनामा संलग्न यी दुई प्रहरीसहित ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीले दोषी प्रहरी भएकाले उनलाई अन्य व्यक्तिलाई हुने सजाय बाहेक प्रहरी ऐन बमोजिम समेत कारबाही हुने बताए।

प्रश्नपत्रको समूह र प्रश्न नम्बरसहित हुबहु उत्तर भएको चिटसहित पक्राउ परेका सप्तरी र सिरहाका परीक्षार्थीहरूलाई सोधपुछ गर्दै जाँदा प्रश्नपत्र लिक गर्ने र आदानप्रदान गर्ने अन्तिम व्यक्तिसम्म पुगेको सीआईबीले जनाएको छ।

घटना अनुसार इलाका प्रहरी कार्यालय कल्याणपुर सिरहामा कार्यरत प्रहरी दीपेन्द्र स्वयं पनि एसईईका परीक्षार्थी हुन्। उनको परीक्षा केन्द्र बरहथवा मावि विष्णुपुरमा परेको थियो। यो केन्द्रको प्रश्नपत्र सुरक्षार्थ एक दिन अगाडि नै इप्रका कल्याणपुरमा ल्याइएको थियो।

दीपेन्द्रले आफ्नो प्रवेशपत्रमा सँगै कार्यरत प्रहरी ब्रह्मदेवको फोटो टाँस गरी परीक्षा दिन लगाए। नक्कली परीक्षार्थी बनेर परीक्षा दिने ब्रह्मदेव र दीपेन्द्र मिलेर नै कल्याणपुर प्रहरी कार्यालयमा राखिएको प्रश्नपत्रको पोका ब्लेडले चिरेर फोटो खिचेका थिए।

ब्रह्मदेवले प्रश्नपत्र निकाल्ने मात्र नभई सिरहाको वरहथवा मावि विष्णुपुरमा परीक्षा केन्द्र रहेका दीपेन्द्रको ठाउँमा बसेर परीक्षा पनि दिए। सो घटनाको समेत पुष्टि भई सो अभियोगमा समेत उनीहरुमाथि कारवाही भइरहेको छ।



You might also like
Loading...