बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितलाई प्रदेश ५ सरकारले एक करोड आर्थिक सहयोग

93







प्रदेश २ को बारा र पर्सामा हालै आएको हावाहुरीबाट प्रभावितलाई प्रदेश ५ सरकारले एक करोड आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । प्रदेश ५ मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेश २ सरकारको खातामा जम्मा हुने गरी प्रदेश ५ को आर्थिक मामिला तथा योजना मन्त्रालयले रकम जम्मा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

मन्त्रिपरिषद बैठकले प्रदेश सभाका विपक्षी दलका नेता ८२ वर्षीय बलदेव शर्मा पोखरेल क्यान्सर रोग लागेर काठमाडौं नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत रहेकाले ५ लाख रुपैयां सहयोग दिने निर्णय गरेको छ ।बैठकले प्रदेशसभा सदस्यहरुको १० लाख रुपैयां बराबरको स्वास्थ्य बीमा गर्ने भनिएको प्रदेश सरकारको नीतिलाई तत्कालै कार्यान्वयनमा ल्याउने निर्णयसमेत गरेको प्रवक्ता चौधरीले बताए ।


स्वास्थ्यबीमापछि भविष्यमा प्रदेशसभा सदस्य र मन्त्रीहरु बिरामी हुंदा १० लाख रुपैयांसम्म उपचारमा सरकारले सहयोग गर्नुपर्नेछैन । यस्तै मन्त्रिपरिषद बैठकले प्रदेश ५ को आवधिक योजनाको आधारपत्र स्वीकृत गरेको छ । यस्तै बांकेको खजुरा गाउंपालिकाको केन्द्र बागेश्वरी ३ बागमती नगरमा सार्ने निर्णय भई आएकाले कार्यान्वयनका लागि संघीय सरकारमा सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।
सरकारले प्रदेश सभामा दर्ता गरेको लोकसेवा आयोगसम्बन्धी विधेयक फिर्ता लिएर संघीय सरकारको लोकसेवासम्बन्धी कानुनअनुसारकै विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृत प्रदान गरेको छ । बैठकले प्रदेशको आवधिक योजनाको आधारपत्र पारित गरेको छ । यस्तै सरकारले गाउँ सभा, नगरसभा कार्यसञ्चालन व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृति प्रदान गरेको छ।


You might also like
Loading...