हेर्दा हेर्दै खरानी भयो पेरिसको ऐतिहासिक नोट्रे–ड्याम


पेरिस । फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुँइमा झरेको छ । फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रुपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ ।




हजारौं पेरिस निवासी र पर्यटकहरुले क्याथिड्रल (गिर्जाघर) नजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागीको बितण्डा हेरेका थिए । आगोको लप्काले गिर्जाघरलाई छोपेको थियो भने धुवाँको मुस्लो आकाशतर्फ उठेको देखिन्थ्यो । अग्निनियन्त्रकहरुले यस भयानक आगलागीबाट बहुमूल्य सामग्री जोगाउने भरमग्दुर प्रयत्न गरेका थिए ।

आगोले ८५० वर्षअघि निर्मित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गिर्जाघरको छाना पूर्णतः नष्ट बनाएको थियो । विशिष्ट शैलीको यो छाना र शिखरलाई सुनौलो रङको आगोको लप्काले छोपेको थियो । यस आगोले दुबै सम्पदालाई हेर्दाहेर्दै आकाशमा बिलिन बनायो ।




फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याँक्रोले मुलुकको आत्माका रुपमा रहेको गिर्जाघर पुनर्निर्माण गर्ने प्रण गरेका छन् । उनले अग्निनियन्त्रकहरुको प्रयासका कारण गिर्जाघर पूर्ण रुपमा क्षति हुनबाट बचेको बताए ।

पेरिसका अग्निनियन्त्रण विभागका प्रमुख जाँ–क्लाउड ग्यालेटले नोट्रे–ड्याम गिर्जाघरको मुख्य संरचनाका साथै दुईवटा घण्टा रहेका टावरलाई बचाउन सफलता मिलेको जानकारी दिए ।

करिब ४०० जना अग्निनियन्त्रकहरु रातभर आगो नियन्त्रणमा जुटेका थिए । मङ्गलबार बिहानपख मात्र आगो आंशिक नियन्त्रणमा आएको घोषणा गरिएको थियो । आगलागी शुरु भएको करिब ९ घण्टापछि मात्र आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

प्रमुख ग्यालेटले गिर्जाघरको छाना र शिखर पूर्ण रुपमा नष्ट भएको जानकारी दिए । फ्रान्सेली गृहमन्त्रालयका सचिव लरेन्ट नुनेजले आगो नियन्त्रणमा आइसकेकाले भवनको संरचनाको क्षतिको अवस्था मूल्याँकन गर्न लागेको बताए । नुनेजले भवनको अवस्थालाई विचार गरेर मात्र थप अनुसन्धानको कार्य गरिने जानकारी दिए ।
‘नोट्रे–ड्याम सबै कालखण्डका भयानक युद्ध र बमबारीबाट जोगिएको थियो । हामीले कहिल्यै यसरी आगोमा जलेर नष्ट होला भन्ने सोचेका थिएनौं । म आज अति दुःखित छु र आफूलाई रित्तो अनुभव गरिरहेको छु,’ आगलागीको दृश्य नजिकबाट नियालीरहेका स्टेफानी साइगनुरीले बताए ।

आगोको लप्काले गिर्जाघरको छाना र शिखर ढाल्दा सडकमा उपस्थित मानिसहरुले ‘हे भगवान भन्दै चिच्याएका थिए ।

आगलागीको कारणबारे तत्कालै थाहा हुन सकेको छैन, तर गिर्जाघरमा पुनर्निर्माणको कार्य तिब्र गतिमा भइरहेको थियो । अग्नीनियन्त्रण विभागका अनुसार आगलागी हुनुमा पुनर्निर्माण पनि जोडिएको हुन सक्छ ।

फ्रान्सेली अभियोजनकर्ताहरुले यस घटनालाई अद्यापी एक दुर्घटनाका रुपमा लिइएको बताएका छन् ।

इतिहासकारहरुले पनि भवनमा पुगेको क्षतिले भयभित तुल्याएको बताएका छन् । ‘पेरिस आइफेल टावर हो भने फ्रान्स नोट्रे–ड्याम हो । यसले फ्रान्सको समग्र संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दछ,’ लेखक एवं धार्मिक इतिहासकार बर्नार्ड लेकोप्टेले भने ।

यो क्याथेड्रल फ्रान्सको राजधानी पेरिसको लगभग मध्यभागमा अवस्थित छ र करिब २०० वर्ष लगाएर यो भवन बनाइएको हो । यो १२ औं शताब्दीमा बनाइएको थियो ।

अठारौं शताब्दीको फ्रान्सेली क्रान्तिका अवधिमा भड्किएको हिंसामा यो क्याथिड्रलमा तोडफोड गरिएको थियो । धर्म्विरोधी हिंसात्मक भिडले गिर्जाघरको शिखर तोडफोड गरेको थियो, यहाँका बहुमूल्य वस्तुहरु लुटिएको थियो र बाहिर ढोकामा रहेका भव्य प्रतिमाहरु तोडफोड गरिएको थियो ।

यो गिर्जाघर बीसौं शताब्दीका ठूल्ठूला युद्धबाट पनि बचेको थियो । सन् १९४४ अगष्ट २४ मा दोस्रो विश्वयुद्धको समाप्त हुनै लाग्दा जर्मनीको कब्जाबाट पेरिस मुक्त हुँदा यही क्याथिड्रलका घण्ट बजाइएका थिए ।

फ्रान्सको यो गिर्जाघर भ्रमण गर्न पनि बर्से्नि लाखौं पर्यटक फ्रान्स आउने गर्दथे । ‘पेरिस अब बिरुप भएको छ । अब यो शहर विगतको जस्तो कहिल्यै हुने छैन,’ एक युवाले दुःखेसो पोखे । – एएफपी




सम्बन्धित
Loading...