कंग्रेसद्वारा पारित प्रस्तावविरुद्ध ट्रम्पको भिटो


वासिंगटन । साउदी अरबको नेतृत्वमा यमनमा भइरहेको सैनिक कारबाहीबाट जनधनको व्यापक क्षति भएको भन्दै साउदीलाई अमेरिकाले दिँदै आएको सैनिक सहयोग रोक्न अमेरिकी संसद् कंग्रेसले पारित गरेको प्रस्तावविरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेषाधिकार (भिटो) प्रयोग गरेका छन् ।




अमेरिकी राष्ट्रपतिले आफ्नो कार्यकालमा विशेषाधिकार प्रयोग गरेको यो दोस्रोपटक हो । अमेरिकी कंग्रेसले राष्ट्रपतिको अधिकार कटौती गर्न खोजेको आरोप लगाउँदै राष्ट्रपति ट्रम्पले कंग्रेसको प्रस्ताव अनावश्यक रहेको बताए ।

उनले भने, ‘मेरो संवैधानिक अधिकारलाई कमजोर तुल्याउन खोजियो । यसबाट अमेरिकी नागरिक र सैनिकको जीवनलाई आज मात्र होइन आगामी दिनमा पनि जोखिममा पार्न खोजिएको छ ।’




अमेरिकी सांसदले साउदी अरबको अग्रसरतामा सञ्चालित रक्तपातपूर्ण यमन युद्धमा अमेरिकी सैन्य सहयोगको दुरुपयोग भएको भन्दै त्यस्तो सहयोग अन्त्य गर्नेसम्बन्धी प्रस्ताव पारित गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविपरीत संसद्मा रिपब्लिकन र डेमोक्राट पार्टीका सांसदले बहुमतबाट यमन युद्धमा अमेरिकी संलग्नता अन्त्य गर्नेसम्बन्धी प्रस्तावमा मतदान गरेका थिए । सो प्रस्तावलाई राष्ट्रपतिले हस्ताक्षर गरेपछि मात्र कानुनको रूप लिन्थ्यो ।

राष्ट्रपति ट्रम्पले सिनेटको सो प्रस्ताव अस्वीकृत गर्ने र आवश्यक परे विशेषाधिकार (भिटो) प्रयोग गर्न सक्ने चेतावनी यसअघि नै दिएका थिए । अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा सो प्रस्ताव २४७ मतले पारित भएको थियो भने विपक्षमा १७५ मत मात्रै परेको थियो । सिनेटले गत महिना नै यो प्रस्ताव पारित गरेको थियो ।

ह्वाइट हाउसले संसद्को सो प्रस्ताव दोषपूर्ण रहेको जनाउँदै यसले साउदी अरब समेतका खाडी क्षेत्रसँगको द्विपक्षीय सम्बन्धमा समस्या आउने बताएको थियो ।

संसद्मा डेमोक्र्याट सदस्यहरूले साउदी अरबको अग्रसरतामा बनेको गठबन्धनमा कंग्रेसको अख्तियारीबेगर नै अमेरिकाको सहभागिता गैरसंवैधानिक हुने तर्क अघि सारेका थिए । खासगरी हातहतियारको आपूर्ति र लडाकु विमानमा तेल भर्ने कार्य संवेदनशील कार्य हो ।

उदारवादी सिनेटर बर्नी स्यान्डर्सजस्ता धेरै सांसदहरूले युद्ध र शान्तिका विषयमा अमेरिकी सांसदहरूले निर्णय गर्न पाउनुपर्ने भन्दै वर्षौंदेखि बहस गरिरहेका छन् ।

‘कंग्रेसले आफ्नो जिम्मेवारी पुनः महसुस गर्दै छ र यो यमनका सन्दर्भमा मात्र लागू हुँदैन यो भविष्यका लागि पनि हो,’ यमन प्रस्तावका मूल लेखक स्यान्डर्सले संसद्मा मतदानपछि भनेका थिए । स्यान्डर्स सन् २०२० का लागि राष्ट्रपतिका उम्मेदवारसमेत हुन् । उनले यमनको रक्तपातपूर्ण युद्धबाट तत्काल अमेरिका बाहिरिनुपर्ने पक्षमा वकालत गर्दै आएका छन् ।

संसद्को विदेश मामिला समितिका अध्यक्ष इलियट एन्जेलले भने, ‘विदेश नीतिका मामिलामा संसद्ले आफ्नो संवैधानिक दायित्वलाई अब बेवास्ता गर्नेछैन र यस यथार्थलाई राष्ट्रपतिले पनि सामना गर्नुको विकल्प छैन ।’

ट्रम्पका कट्टर समर्थक भनेर चिनिएका जिम जोर्डन र मार्क मिडोज समेतका रिपब्लिकन सांसदले यमन युद्धमा अमेरिकी सहयोग अनुपयुक्त नरहेको बताएका थिए ।

‘यमनी सर्वसाधारणका घरआँगनमा खसेका सबैजसो बममा एउटै कुरा लेखिएको पाइन्छ,’ अमेरिकामा निर्मित’ डेमोक्र्याट सांसद जिम म्याकगोभर्नले भने । यमनमा युद्धका कारण चरम मानवीय संकट उत्पन्न भएको छ । यमनमा १ करोड ४० लाख मानिस भोकमरीको जोखिममा रहेका अध्ययनहरूले देखाएका छन् ।

विश्व स्वास्थ्य संगठनको भनाइमा करिब १० हजार सर्वसाधारणको मृत्यु जथाभावी बमबारीबाट भएको जनाएको छ । साउदी अरेबियाको समर्थनमा रहेको यमनी सरकार र इरान समर्थित हुथी विद्रोहीबीच लामो समयदेखि युद्ध जारी छ । मानवअधिकार समूहले गृहयुद्धका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको जनाएका छन् ।

स्यान्डर्सले भनेका छन्, ‘यमनको अर्थतन्त्र पुनर्निर्माणमा हामीले सहयोग गर्न सकिँदैन भने उनीहरूलाई मानवीय सहायता उपलब्ध गराऔं, उनीहरूलाई बम होइन खाद्यान्न दिऔं, नत्र त्यहाँको अवस्था अरू खराब हुनेछ ।’




सम्बन्धित
Loading...